काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलले गर्दा विश्वविद्यालय थला परेको बताएका छन्। सोमबार पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शतवार्षिक समारोहमा महामन्त्री थापाले शिक्षा क्षेत्र सुधारका लागि सबै राजनीतिक दलले मिलेर कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।
विद्यालय शिक्षा सुधारका लागि काम हुन नसकेको उनको भनाइ थियो। उनले भने, 'संघीय शिक्षा ऐन बनाउने पर्ने थियो, त्यो प्रारम्भ नै गरेनौं। जसले गर्दा शिक्षाको व्यवस्थापन गर्ने आधारभूत कुराबाट चुकेका छौं। अब तत्काल संघीय शिक्षा ऐन ल्याउनुपर्छ।'
यससँगै विद्यालय कर्मचारीबारे पनि सोच्न नसकिएको उनले बताए। विद्यालय शिक्षाका लागि पर्याप्त बजेट नपुगेको उनको भनाइ नियो। उनले भने, 'विद्यालय कर्मचारीबारे यत्रो वर्ष बोल्यौं, उनीहरूको सामान्य तलबको व्यवस्थापन गरेनौं। विद्यालय शिक्षामा आएको संकटलाई बुझ्न सकिराखेका छैनौं।'
अझ विश्वविद्यालय शिक्षा त कहालीलाग्दो अवस्थामा पुगेको उनले बताए। 'विश्वविद्यालयको अवस्था झन् कहालीलाग्दो छ। थला परेको छ,' महामन्त्री थापाले भने, 'यो बिग्रिनुमा सबैभन्दा ठूलो दोष हामी आफैंले लिनुपर्छ। राजनीतिक दलका कारण विश्वविद्यालय थला परेको छ।'
फरक प्रसंगमा उनले नेपालको निर्वाचन प्रणालीका कारण मिलिजुली सरकार बन्ने गरेको र त्यसपछि भागबन्डा गर्दा सबै क्षेत्र धराशायी बन्दै गएको बताए। विश्वविद्यालयमा पनि भागबन्डा हुँदा शैक्षिक अवस्था कहालीलाग्दो भएको उनको जिकिर थियो। 'यति भागबन्डा गर्न थाल्यौं कि सहायक क्याम्पस चिफको सिट पनि भागबन्डा गर्छौं। कन्ट्रोलर विश्वविद्यालयको हुँदैन, पार्टीको हुन्छ,' उनले भने।