काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका दलहरूको बैठक आह्वान गरेका छन्। आज अपराह्न चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक आह्वान गरिएको हो।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा भएको छलफलबारे पनि आजको बैठकमा ब्रिफिङ गर्नेछन्।
हिजो आइतबार जनमत पार्टीका अध्यक्ष सिके राउतसँग समेत प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए। उनले राउतलाई सरकारमा सामेल हुन आग्रह गरेका थिए।
साथै, कोशी प्रदेश सरकार गठनका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। नेकपा एमाले नेतृत्वको कोशी सरकार ढलेसँगै त्यहाँ नेतृत्व लिन सत्ताधारी दलहरूबीच रस्साकस्सी चलिरहेको छ। प्रदेशका नेताहरूले विवाद मिलाउन केन्द्रका नेता गुहार्न थालेपछि यहीँबाट निर्णय हुन लागेको हो।
हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि कोशीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहितको गठबन्धनले नयाँ सरकार बनाउने कसरत गरिरहेका छन्। आइतबारमात्रै प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते अपरान्ह ५ बजेसम्म समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।
कांग्रेस र माओवादीले मुख्यमन्त्रीमा अडान लिएका छन्। माओवादीले संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई र कांग्रेसले दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउनुपर्ने अडान राखेका छन्। कोशीमा नयाँ सरकार बनाउने पहल गरिरहेको गठबन्धनसँग राप्रपाबाहेक पनि ४७ मत छ। यो संख्या ९३ सदस्यीय प्रदेशसभामा बहुमत हो। तर, सभामुखसहितको यो संख्याले भविष्यमा कानुनी र संवैधानिक झमेला ल्याउने खतरा रहेको भन्दै राप्रपालाई गठबन्धनमा ल्याउने पहल भइरहेको छ।
सभामुखसहितको ४७ सिट भएको गठबन्धनमा ६ सिट भएको राप्रपा मिसिए बलियो बहुमत पुग्ने भन्दै राप्रपालाई प्रदेश प्रमुखले आह्वान गरेको मितिमै साथै लिएर जानुपर्ने अडान माओवादी र एकीकृत समाजवादीको छ। तर, कांग्रेस नेताहरूले भने राप्रपाबेगर नै पनि ४७ मत पुग्ने र सरकार बनेपछि राप्रपा पनि गठबन्धनलाई सघाउन बाध्य हुने बताउँदै आएका छन्।