शनिबार, साउन २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले सम्झिए स्व. गिरिजाबाबु, राष्ट्रपति नबनाएकामा निरन्तर पछुतो

प्रधानमन्त्री प्रचण्डले सम्झिए स्व. गिरिजाबाबु, राष्ट्रपति नबनाएकामा निरन्तर पछुतो

१००औं जन्मशताब्दी अवसरमा सहभागी प्रधानमन्त्री प्रचण्डले स्व. गिरिजाबाबुले आफूलाई समाएर हिँडे पनि विगतमा गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदाको गल्तीले सधैं पोलिरहेको बताएका हुन्।
 |  सोमबार, असार १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

vianetvianet

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ मंसिर २०६३ को शान्ति सम्झौतापछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बाटो नबिराउन आग्रह गरिरहे पनि त्यसलाई बेवास्ता गरेकामा अहिले पनि पछुतो लागिरहने बताएका छन्।

स्व. गिरिजाबाबुको १००औं जन्मशताब्दी अवसरमा चावहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले स्व. गिरिजाबाबुले आफूलाई समाएर हिँडे पनि विगतमा गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदाको गल्तीले सधैं पोलिरहेको बताएका हुन्।

आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा रहँदा तत्कालीन कांग्रेस सभापति कोइरालालाई राष्ट्रपतिका रूपमा प्रस्ताव नगर्नुमा ठूलो गल्ती भएको उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले भने, ‘म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै गर्दा गिरिजाप्रसाद कोइरालालाई पहिलो राष्ट्रपति प्रस्ताव गर्नैपथ्र्यो। यसमा मेरो गल्ती थियो। त्यो कुराको पश्चात्ताप ममा अहिले पनि छ।’

आफूले पटक–पटक गल्ती गर्दा पनि गिरिजाले  विश्वास गर्दै संरक्षण गर्न नछाडेको उनले स्मरण गरे। ‘बरु मैले गल्ती गरें, उहाँले बिल्कुल गर्नुभएन। कतिपय सन्दर्भमा मैले गरेका प्रतिबद्धता जस्ताको तस्तै पूरा गर्न सकिनँ। तर उहाँले मलाई कुनै न कुनै रुपमा संरक्षण गर्न छाड्नुभएन,’ प्रधानमन्त्री प्रचण्डले भने।

त्यसबेला तत्कालीन सेनापति रुकमांगत कटुवाल प्रकरणका कारण राजीनामा दिने मनस्थिति बनाएपछि गिरिजाबाबुले प्रधानमन्त्री पदबाट राजीनामा नदिन पटक–पटक सम्झाएको उनले स्मरण गरे। ‘अस्पतालमा उहाँ मृत्युसँग जुधिराख्नुभएको थियो। मलाई बोलाएर सम्हाल्नू देश भनेका कुराहरूले मलाई गिरिजाप्रसाद कोइरालाप्रति आस्था, विश्वास भइराख्यो,’ उनले भने, ‘उहाँको निधन भइसक्यो। शान्ति र संविधानको रक्षा गर्ने कुरामा मेरो जिम्मेवारी र दायित्व छ भन्ने कुराको प्रेरणाको स्रोत गिरिजा नै हो।’

Metro Mart

प्रधानमन्त्री प्रचण्डले कम्युनिस्टको एकताको कुराबाट कांग्रेस चिन्तित हुनु नपर्ने बताएका छन्। उनले भने, ‘मैले लेफ्टहरुको युनिटीको कुरा गर्दा कांग्रेससँग डिस्युनिटी हुने छैन। कांग्रेस तर्सिनुपर्दैन।’

विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिस्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। कांग्रेससँग मिलेरै गणतन्त्रको रक्षा, शान्ति प्रक्रियाको कार्यभार पूरा गरेर मुलुकमा  समृद्धिमा लैजान सकिने उनको तर्क छ। यसपटक आफू प्रधानमन्त्री नबने देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गर्नुपरेको प्रस्टीकरण उनले दिए।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले स्व.गिरिजाबाबुको नामबाट विश्वविद्यालय स्थापना गर्ने आश्वासन दिए। उनले गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्न पेस भएको प्रस्तावलाई मन्त्रिपरिषद्बाट अघि बढाइने बताए।

प्रकाशित: Jul 03, 2023| 11:19 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्