काठमाडौं- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले दलहरुलाई सरकार गठनका लागि आह्वान गरेका छन्।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नै नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। यस अन्तर्गत कुनै पनि दलको स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको नेतृत्वमा सरकार गठन हुने प्रावधान रहेको छ।
यसअघि २०७९ पुस २४ गते गठन भएको नेकपा एमालेका संसदीय दलका नेतासमेत रहेका कामचलाउ मुख्यमन्त्री हिक्मत कुमार कार्कीज्यूले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मिति २०८० असार १५ गते कोशी प्रदेश सभामा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन्।
प्रदेश प्रमुख खापुङले संविधानको कुन धारा अन्तर्गत सरकार गठनका लागि आह्वान गर्नुपर्ने हो भन्ने विषयमा महान्यायाधीवक्तासँग पनि छलफल गरेको बताइएको छ। विज्ञप्तिमा थप भनिएको छ, 'नयाँ प्रदेश सरकार गठन गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम वा उपधारा (३) बमोजिम मध्ये कुन उपधाराको आधारमा मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्नको लागि राजनीतिक दलहरूलाई दाबी पेस गर्न आह्वान गर्नुपर्ने हो भनी माननीय प्रदेश प्रमुखज्यूबाट नेपालको महान्यायाधिवक्तासँग कानूनी राय माग गरिएको थियो।
प्रदेश प्रमुख खापुङले महान्यायाधीवक्ताको राय अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गरिएको बताइएको छ। भनिएको छ, 'यस विषयमा महान्यायाधिवक्ताज्यूबाट मिति २०८० / ३ / १७ मा प्राप्त रायसमेतको आधारमा माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई मिति २०८० / ३ / २१ गते बिहीबार अपरान्ह ५:०० बजेभित्र कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति गरी निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको छ।'
