शनिबार, साउन २४, २०८२

फेरि नेकपातिरै फर्किनुपर्छ: प्रचण्ड

 |  आइतबार, असार १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेकपा एमालेसँग भएको पार्टी एकता र विभाजनबाट शिक्षा लिँदै फेरि नेकपातिरै फर्किनुपर्ने बताएका छन्। त्यसैका लागि समाजवादी मोर्चा बनाएको पनि उनले बताए।

आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापकमध्येका एक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकता गरेर बनेको नेकपालाई बचाउन नसक्नु दुर्भाग्य भएको बताए। देशलाई छिटो आर्थिक समृद्धितिर र समाजवादतिर लैजान सकिन्छ भनेर एमालेसँग एकता गरेको स्मरण गर्दै प्रचण्डले भने, ‘तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं। हामी एकपटक असफल भए पनि फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्छ।’

उनले त्यो एकता के कारणले टिक्न सकेन भनेर गम्भीर समीक्षा गर्ने र त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्ने बताए। उनले भने, ‘आज हामीले फेरि एकपटक चिन्तन गर्नुपर्यो कि हिजो एकीकृत भएको कम्युनिष्ट आन्दोलन के कारणले टिक्न सकेन, त्यहाँ के त्रुटी थियो, के प्रवृत्तिका कारण हाम्रो विभाजन भयो भन्ने गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्छ।’

समाजवादी मोर्चा गठन गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र आफूबीच फेरि नेकपातिरै फर्किनुपर्छ भन्ने सल्लाह भएको पनि उनले सुनाए। ‘माधव नेपाल, विप्लव र उपेन्द्र यादवले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गराउने पहल सुरु गरेका छौं। माधवजी र मैले के पनि भनेका छौं भने फेरि नेकपातिरै फर्किनुपर्छ। फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ पनि हामीले भनेका छौं,’ उनले भने।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनलाई सुखी बनाउने मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्ने दाबी गरे। त्यसका लागि अहिले सरकारको नेतृत्व गरेका प्रचण्डले गम्भीर रुपमा चिन्तन मनन् गर्नुपर्ने उनले बताए।

Metro Mart

नेपालले राजनीतिक क्रान्ति सम्पन्न गरे पनि जनतालाई सुखी बनाउने महत्वपूर्ण काम बाँकी रहेको बताए। उनले भने, ‘जनताको जीवनमा आमूल परिवर्तन गर्ने, जनताको जीवनलाई सुखी बनाउने, यी सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने छ। त्यही कम्युनिष्ट पार्टीको नेताको रुपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौं। कमरेड पुष्पकमल दाहाल प्रचण्डले यो देशको अगुवाइ गर्दै हुनुहुन्छ। उहाँले समाजवादको यात्रामा देशलाई कसरी अगाडि बढाउने हो, यस बारेमा अझै पनि गम्भीर चिन्तन मनन् गरेर के गर्दाखेरि जनताका वेदना र दुःखहरुलाई सम्बोधन गर्न सकिन्छ भन्ने सन्दर्भमा उहाँले आफ्नो तर्फबाट प्रयास गर्दै हुनुहुन्छ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले सबैले आ–आफ्नो ठाउँबाट इमान्दारीपूर्वक पहल गरे अग्रजहरुको सपना साकार पार्न सकिने बताए। उनले भने, ‘सबैका ज्ञान, सबैका अनुभव, सबैका बुद्धिलाई लिएर इमान्दारीताका साथ अगाडि बढ्ने हो भने, अनि हाम्रा ती अग्रज योद्धाहरु जसले नयाँ नेपाल निर्माणको परिकल्पना गर्नु भएको थियो, उहाँहरुको सपनालाई साकार पार्न सकिन्छ।’

प्रकाशित: Jul 02, 2023| 11:01 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्