सोमबार, वैशाख २८, २०८३

'दलहरु सत्ता स्वार्थमा डुबे, प्रशासनले संसद्‌को अपमान गर्‍यो'

 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

काठमाडौं- राजनीतिक दलहरु पछिल्लो समय सत्ताको खेलमा मात्र केन्द्रित भएको पूर्वसभामुख दमननाथ ढुंगानाको टिप्पणी छ। 

National life

६५औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले भने, ' हाम्रा पार्टीलाई त सत्तामै फुर्सद भएन, हुनेलाई कसरी मेरो सत्ता बचाऊँ, नहुनेलाई सत्तामा जान हतारो, त्यो मात्रै छ। हाम्रो देशको राजनीतिमा अब त प्रदेशमा पनि सरिसक्यो।'

उनले दलहरु सत्ता केन्द्रित बन्दा प्रशासन संसद्ले बनाएको कानुनभन्दा बाहिर रहेर गतिविधिहरु गरिरहेको छ। संसद्ले बनाएको कानुनबाट प्रशासन नचलेको र संसद्ले यसबारेमा ध्यान दिन नसकेको उनले उल्लेख गरे। उनले राजनीतिक पार्टीहरू सत्ताको स्वार्थमा डुबिरहेको पनि बताए।

संसद्ले बनाएका कानुन प्रशासनले नमान्नु यसको अपमान भएको उनको भनाइ छ।

'कानुन किन बनाउनुपर्ने जनप्रतिनिधिले, सार्वभौम जनप्रतिनिधिले भने, त्योभन्दा बाहेकको कुनै कारबाही नहोस्, प्रत्यायोजित, निर्देशिका, ऐन, कानुन, नियमावली, आदेश केही पनि संसद्ले बनाएको विधेयकभन्दा टाढा नहोस्, त्योसँग नबाझिने होस् भनेर। तर, अहिले म सुन्दै छु– संसद्ले एउटा काननु बनाउँछ, तर अरूअरूकै आदेशबाट प्रशासन चलिरहेको छ,' उनले भने, 'त्यो हेर्ने को हो ? तपाईंहरू, संसद्ले हेर्ने होइन ? ल,हामीले बनाएको कानुनलाई छल्ने गरी प्रशासनले जुनजुन आदेश गरेको छ, त्यो संसद्को अपमान हो। त्यो हेर्ने को? हेरिरहनुभएको छ तपाईंहरूले ? त्यो हेर्नुपर्छ। संसद्को कामै छैन, त्यो हेरिँदैन भने। संसद्को इच्छाबेगरको कुरा कुनै ऐन, कानुनबाट हुँदैन। त्यही भएर संसद्ले नै कानुन बनाउनुपरेको हो। यहाँ प्रशासनले जे पनि गरिरहेको छ।'

पूर्वसभामुख ढुंगानाले संसद् प्रभावकारी बनाउनका लागि, भ्रष्टाचार घटाउन र सरकारलाई प्रभाकारी बनाउनका लागि काम गर्न जरुरी रहेको बताए। उनले नेपालमा संविधान फाल्ने र अर्को व्यवस्था ल्याउनेतिर धेरै सोच्न जरुरी नरहेकामा जोड दिए।

प्रकाशित: Jul 01, 2023| 19:14 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्