काठमाडौं- शिक्षा मन्त्रालयको तथ्यांकलाई आधार मान्ने हो भने मधेस प्रदेशमा शिक्षाको अवस्था सबैभन्दा कमजोर देखिएको छ। यद्यपि, मधेसमा केही नमुना सामुदायिक विद्यालय पनि छन्।
यस्तैमध्येको एक हो प्रदेश राजधानी जनकपुरमा रहेको संकट मोचन माध्यमिक विद्यालय। यो सामुदायिक विद्यालयमा भर्ना हुनका लागि अभिभावक र विद्यार्थीको भीड लाग्ने गर्छ।
दश वर्ष अघिसम्म विद्यार्थी विद्यालय नआउने, टिफिन समयपछि हराउने र शिक्षकले समेत कक्षामा पर्याप्त समय नदिने प्रवृत्तिलाई पूरै निरुत्साहित गरेर संकट मोचन अहिले प्रदेशकै स्मार्ट विद्यालय बनेको छ।
विद्यार्थी नभएर थुप्रै सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। जनकपुरको संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयमा भने अभिभावक आफ्ना बालबच्चा पढाउन लालायित छन्।
संकट मोचन माविमा भर्नाका लागि क्षमताभन्दा अधिक विद्यार्थी आउन थालेपछि फर्काउनुपर्ने अवस्था आएको प्रधानाध्यापक बलिराम साह बताउँछन्। जनकपुरकै अन्य सामुदायिक र नमुना विद्यालयसमेत विद्यार्थी नपाएर संकटमा रहेको अवस्थामा संकट मोचनले नामअनुसार नै आफ्नो संकट मोचन गरेको छ।
विद्यालयका प्रधानाध्यापक साह भन्छन्, ‘कारण एउटै हो- सुरक्षित वातावरणमा प्रभावकारी सिकाइ। शिक्षण सिकाइलाई पहिलो प्राथमिकतामा राखेका छौं। हामीले प्रत्येक कक्षामा ‘फाइभ–टी’ ढाँचाको आधारमा पढाउन थालेका छौं र यसले प्रभावकारी नतिजा दिएको छ।’
के हो त ‘फाइभ टी’ ? प्रअ साह भन्छन्,
'पाँच वटा ‘टी’ अन्तर्गत पहिलो टिच अर्थात् शिक्षण गर्ने तौरतरिका जसमा कक्षाको अवस्था हेरेर शिक्षकले शिक्षण गर्नुपर्ने हुन्छ। दोस्रोमा टङ अर्थात् बोलाइ। यो भनेको र्थात राम्ररी बुझिने भाषामा पढाइ। यो टोनको कुरा हो, शिक्षकले बोलेको कुरा विद्यार्थीले राम्रोसँग बुझ्यो भने विद्यार्थीले कक्षा पनि छोड्दैनन् र गृहकार्य पनि गर्छन् भन्ने हामीले अनुभव गरेका छौं। तेस्रो ‘टी’ टेक्स्ट अर्थात् सामग्री जसमा बालबालिकाको हातमा उपयुक्त किताब पुर्याउने गरेका छौं। चौथोमा टाइम अर्थात् समय। शिक्षण समयको अधिकतम उपयोग कक्षाकोठामा गर्ने परिपाटी बसालेका छौं। पाँचौंमा छ टेस्ट अर्थात् परीक्षण। मूल्यांकनको प्रत्याभूति र सञ्चारको आधारमा पठनपाठन गर्दै आएका छौं। विद्यार्थीको सिकाइ मूल्यांकन गर्ने कुरामा हामी नतिजाको आधारमा मात्र भन्दा पनि यी विभिन्न अवस्था हेरेर गर्ने गरेका छौं।'
फलस्वरुप संकट मोचन विद्यालय मधेस प्रदेशको सबैभन्दा ‘स्मार्ट विद्यालय’को रुपमा छनोट भएको छ।
जनकपुरजस्तो स्थानमा फरक क्षमता भएका विद्यार्थीलाई उनीहरुको क्षमताअनुसार फरक ढंगले सिकाउने परिपाटी अपनाएको यो नै पहिलो विद्यालय हो। प्रधानाध्यापक साह भन्छन्, ‘अलि कमजोर र सघन सिकाइको आवश्यकता रहेको विद्यार्थी समूह पहिचान गरेर सुस्तरी सिकाइ भन्ने नाम दिएर त्यस्तो अवस्थाको बालबालिकाहरुलाई विस्तारै बुझाएर सिकाउने गरेका छौं’। उनले यसका लागि विशेष कक्षा सञ्चालन गर्ने गरिएको जानकारी दिए। 'विद्यार्थीलाई विदाको दिन कुन– कुन विषयमा समस्या छ भन्ने यकिन गरेर विषय शिक्षकलाई आग्रह गरेर ती विद्यार्थीलाई सुस्तरी सिकाउने जिम्मा दिएका छौं। उक्त विशेष कक्षापछि विद्यार्थीको सिकाइको अवस्थामा परिवर्तन आएको महसुस गरेका छौं। एसईईको तयारी कक्षा र छात्राहरुलाई पढाइमा दक्ष बनाउन समेत छुटटै कक्षा सञ्चालन गरेका छौं,' प्रअ साह भन्छन्।
२०२९ सालमा स्थापना भएको संकट मोचन विद्यालयमा उच्च माविसम्म कक्षा सञ्चालन भइरहेको छ। विद्यालयका प्रअ साहका अनुसार विद्यालयमा हाल २ हजार ४ सय २४ विद्यार्थी छन्। १ हजार २ सय ३ छात्र छन् भने छात्राको संख्या १ हजार २ सय २९ छ। तहगत सिकाइ उपलब्धिको चर्चा गर्दै साह भन्छन्, 'प्राथमिक तहमा ५६.४८ प्रतिशत रहेको छ भने निमाविमा ५२.८ र माविमा ५५.६३ र उच्च माविमा ४९.६२ रहेको छ।'
प्रअ साहका अनुसार विद्यालयमा डोम र दुसाधका साथै ब्राह्मण समुदायका बच्चालाई पनि समान अवस्था र समान महत्वका साथ पढाइएको छ। भेदभावपूर्ण वातावरण छैन, जसले गर्दा अन्य सबै समुदायका बालबालिका विद्यालय पहुँचमा पुगेका छन्। विद्यालयमा आधुनिक कम्प्युटर ल्याब रहेको छ भने विद्यालयको विभिन्न कुनामा १६ वटा सिसिटिभी क्यामरा जडान गरिएको छ, जसले गर्दा अनुशासन कायम गर्न सघाएको छ। प्रअ भन्छन्, 'संकट मोचनलाई आधुनिक शिक्षण पद्धतिसँग जोड्दै र व्यवहारिक शिक्षण पद्धतिअनुसार सिकाउँदै लगेपछि विद्यालयको अवस्थामा राम्रो सुधार आउन थालेको हो। एसईई दिएर जाने बेला विद्यार्थीहरुको सानो-सानो समूहले विद्यालयमा बिरुवा रोपेर जाने परम्परा कायम गरेका छौं।' चिनोस्वरुप गमलामा आफ्नो नाम लेखेर राख्ने गरेको बताउँदै उनले यसले विद्यालय हराभरा र बागबानीजस्तै सुन्दर भएको सुनाए।
विद्यालयमा बाल क्लब छ। यसले विद्यालय रेखदेखमा समेत ठूलो भूमिका खेलेको छ। प्रअ साहका अनुसार कक्षामा कुन शिक्षकले के गरिरहेका छन्, पढाउने समय कक्षामा उपयोग गरेका छन् कि छैनन्, भेदभाव गरेका छ्न् कि अन्य नराम्रो गतिविधि गरेका छन् भन्ने विषयम क्लबका सदस्यले उनलाई रिपोर्ट गर्ने गरेका छन्। यसका साथै बाल क्लबले विद्यार्थीहरुबीच हुने बुलिङ, लैगिंक हिंसासम्बन्धी घटना न्यूनीकरण गर्न पनि ठूलो भूमिका खेलेको छ।
उनीहरुको रिपोर्टको आधारमा विद्यालयले अनुसन्धान गरेर समस्या समाधान गर्ने गरेको प्रअ साहले बताए। प्रअ साह भन्छन्, 'एसईईमा ए प्लस र ए ग्रेड ल्याउने विद्यार्थीको संख्या हाम्रो विद्यालयमा बढ्दो छ। त्यसैले पनि अभिभावकको पहिलो रोजाइ संकट मोचन हुन गएको हो।'