काठमाडौं– गण्डकी प्रदेश मुकाम पोखरामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक सुरु भएको छ। बैठकमा भर्खरै निवर्तमान बनेका कोसीका हिक्मत कार्कीबाहेक ६ प्रदेशका मुख्यमन्त्रीले सहभागिता जनाएका छन्। बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डले उद्घाटन गरे।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयनलाई व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिए। उनले भने, ‘नेपालको संविधान जारी भएपछि दोस्रो पटक आयोजना भएको बैठकले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न र प्रदेश–प्रदेशबीचको सम्बन्धलाई सबल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने मेरो विश्वास छ।’
साढे दुई सय वर्ष लामो एकात्मक राज्य प्रणालीमा अभ्यस्त नेपालका लागि संघीय शासन प्रणाली नितान्त नौलो अभ्यास भएको उल्लेख गर्दै उनले संघीय शासन प्रणाली सञ्चालन चुनौतीपूर्ण रहेको औंल्याए।
तीन वटै तहमा चुनिएर आएका जनप्रतिनिधिले सीमित स्रोत–साधन परिचालन गरेर विकास निर्माणलाई अघि बढाउँदै जनताका आकांक्षा पूरा गर्न क्रियाशील भए मात्रै संघीयता बलियो हुने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
उनले भने, ‘संविधान जारी भएको झन्डै सात वर्षमा हामीले उत्साहजनक उपलब्धि हासिल गरेका छौं। तीनै तहको दोस्रो कार्यकालको निर्वाचन सम्पन्न भएको छ। सातै प्रदेशको प्रादेशिक राजधानी र नामकरण भएको छ।’
उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरण व्यवस्थित हुँदै गएको र कर्मचारी समायोजनको काम सम्पन्न भएको स्पष्ट पारे।
संघीयता कार्यान्वयनसम्बन्धी ८० ऐन निर्माण तथा १६५ वटा कानुन संशोधन भएको तथा केही महत्त्वपूर्ण ऐन तर्जुमाको चरणको रहेको प्रधानमन्त्रीले जानकारी दिए।
बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागमतीका शालिकराम जम्कट्टेल, मधेसका सरोजकुमार यादव, लुम्बिनीका डिल्लीबहादुर चौधरी, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी छन्।