सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कोशी प्रदेश : विश्‍वासको मतका लागि मत विभाजन हुनुअघि नै 'भागे' मुख्यमन्त्री

कोशी प्रदेश : विश्‍वासको मतका लागि मत विभाजन हुनुअघि नै 'भागे' मुख्यमन्त्री

 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

काठमाडौं- कोशी प्रदेशमा विश्‍वास मतका लागि प्रस्ताव पेश गरेका हिक्मत कार्की मत विभाजनको प्रक्रिया सुरु गर्नुअघि नै भागेका छन्। ‘केही तथ्यांक लिएर आउँछु’ भन्दै बाहिरिएका मुख्यमन्त्री कार्की प्रदेश सभा सचिवालयबाट निस्किएपछि बैठक नै अनिश्चित बनेको छ। 

National life

मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव राखेपछि त्यसमाथिको छलफलमा दलका नेताहरूले बोल्ने क्रम सकिएपछि सभामुख बाबुराम गौतमले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए।

'जवाफ दिन केही तथ्यांक चाहिएकाले लिएर आउँछु' भनेर बाहिरिएका मुख्यमन्त्री कार्की नफर्किएपछि बैठक अनिश्‍चित बनेको हो। विश्वास मतसम्बन्धी प्रक्रिया सुरु हुने/नहुने भन्ने विषयमा अन्योल सिर्जना भएको छ। नेपाली कांग्रेसका उपनेता हिमाल कार्कीले बैठक बस्ने/नबस्ने भन्ने विषयमा आफूहरू समेत अन्योलमा रहेको सुनाए।

मुख्यमन्त्री निस्किनुको कारणबारे एमाले नेताहरु पनि बेखबर छन्। एमाले संसदीय दलका उपनेता रामबहादुर मगरले मुख्यमन्त्री निस्कनुको कारण थाहा नभएको बताए। 

प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमाले र राप्रपाले सरकारको समर्थनमा विश्वासको मत दिने बताउँदा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस विपक्षमा उभिने भएका हुन्। जनता समाजवादी पार्टी भने तटस्थ बसेको छ। 

मुख्यमन्त्रीको प्रस्तावउपर छलफलमा भाग लिँदै नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईले कार्की नेतृत्वको सरकारले सरकार चलाउन ढंग नपुर्याएको भन्दै समर्थन गर्न नसकिने बताए। त्यसैगरी नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले राजनीतिक परिस्थिति बदलिएपछि नयाँ निर्णयमा पुगिएको बताए।

यस्तै कांगेस संसदीय दलका नेता उद्धवबहादुर थापाले ६ महिनाको अवधिमा प्रदेश सरकारले प्रतिपक्षी नदेखेको बताए। आफ्नो पार्टी प्रतिपक्षमा रहेर पनि सरकारकै भूमिकाजस्तो गरेर ६ महिना विताएको र सरकारलाई सहयोग गरेको बताउँदै उनले राजनीतिक स्थिरता, सामाजिक स्थिरता, दलहरुबीचको सहकार्य होस् भन्ने अपेक्षा राखेको बताए। 

प्रकाशित: Jun 29, 2023| 19:48 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्