काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचारबिनाका पार्टीहरूको लहर चलेको टिप्पणी गरेका छन्।
बिहीबार मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले विचार नचाहिने पार्टीहरूको लहर चलेको बताए।
'विचारबिनाको विचार बोकेर आयौं भन्ने पार्टीहरूको लहर चलेको छ। राजनीतिक दल र नेताहरूले गरेको योगदानको चर्चा र स्मरण भइरहेको छैन,' उनले भने। उनले आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको भन्दै उनले गुनासो गरे।
ओलीले भने, ‘राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन्। अहिले एउटा लहर चलेको छ, विचार नचाहिने, बिना विचार हामी आयौं भन्ने लहर चलेको छ। योगदान सम्झिनु जरुरी छैन, योगदान बिर्सिए हुन्छ, योगदानको के मतलब छ र? कसलाई फुर्सद छ योगदानका कुरा गर्ने? कसलाई फुर्सद छ हाम्रा पूर्वजका योगदान सम्झिने? कसलाई फुर्सद छ? आफ्ना आमाबाबुको योगदानको चर्चा गर्ने? महिमा गाउने वा आमाबुबाप्रति कृतज्ञ हुने? भन्ने खालका विचाहरु पनि आज सुनिन्छन्। बिनाइतिहास, समाज यहाँ आएको छैन। धेरै उत्तारचढावबाट यो समाज यहाँसम्म आइपुगेको हो। आज पनि समाज अनेक प्रकारका रस्साकस्सीका बीचबाट अघि बढेको छ। यस रस्साकस्सीको बीचबाट समाज कसरी अघि बढाउने भन्ने सन्दर्भमा जानपर्ने छ।’