शुक्रबार, वैशाख २१, २०८१

पुराना दलले उपेक्षा गरिरहेको नयाँ पुस्ताको अपेक्षा

नयाँ पुस्ताको आकांक्षालाई पुराना र स्थापित दलले बेवास्ता गरिरहेका छन्। जनतासँग पनि आफ्नो आकांक्षालाई नजरअन्दाज गर्ने दललाई नरोज्ने विकल्प हुन्छ। तसर्थ पुराना दल र तिनका नेताले प्रधानमन्त्री दाहालले जस्तो गुनासो गरेर मात्र हुँदैन।
 |  शुक्रबार, असार १५, २०८०

भानु बोखिम

भानु बोखिम

शुक्रबार, असार १५, २०८०

प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र सुदृढ हुनको लागि भावनात्मक नभई तथ्यगत आधार चाहिने बताए। उनले यो सत्यलाई स्वीकार्दै गर्दा नयाँ पुस्तामाथि लगाएको आरोपचाहिँ राजनीतिको शास्त्रीय विरामबाट ग्रसित थियो। यो त्यही विराम हो, जसले राजनीतिज्ञलाई आफ्नो कामलाई तथ्यभन्दा बढी भावनाको लेप लगाउन प्रेरित गर्छ। 

triton college

पुष्पकमल दाहालले आफ्नो कामको उच्च मूल्यांकन गर्दै गर्दा नयाँ पुस्तालाई भ्रम छर्न खोजेको आरोप लगाए। उनले सामाजिक सञ्जालमा रम्ने पुस्तामाथि निशाना साँधेका छन्, जो प्रधानमन्त्रीको नजरमा उन्मुक्त पुस्ता हो। प्रधानमन्त्रीको बुझाइमा उन्मुक्त पुस्तासँग इतिहासको चेत छैन, केवल सामाजिक सञ्जालमार्फत युरोप-अमेरिकाको आवरण बुझेको छ। त्यहीअनुसारको प्रणाली र संस्कार खोजेको छ। प्रधानमन्त्रीको यो दुखेसो एक किसिमको आरोप पनि हो। तर जनतासँग दुखेसो पोख्दै गर्दा प्रधानमन्त्रीले आफ्नो कामको व्यवहारिक मूल्यांकन गर्नुपर्छ। तथ्यगत आधारमा हेर्दा पुष्पकमल दाहालको कामले जनता सन्तुष्ट हुँदैनन्/ छैनन्। 

प्रधानमन्त्री दाहालको अभिव्यक्ति उनी स्वयंको मात्र हैन। प्रधानमन्त्रीको आरोप केवल उनको आरोपमात्र हैन। प्रधानमन्त्री दाहाल र उनले लगाएको आरोप दुवै नेपालमा स्थापित पुराना दलहरुको  सोच, व्यवहार र मनोविज्ञानको प्रतिविम्व हो। प्रधानमन्त्री दाहालको उक्ति लामो समयदेखि देशको बागडोर सम्हाल्दै आएका नेता र दलले के सोच्छन् भन्ने प्रमाण पनि हो। समग्रमा यो देशमा बागडोर सम्हाल्नेले समयको पदचाप र जनताको आकांक्षा नबुझेका घटना धेरै छन्।

अहिले पनि त्यस्तै समस्या वा घटनाको पुनरावृत्ति हुँदै गरेको देखिन्छ। दलका कारण राजनीतिक प्रणाली र व्यवस्थाप्रति गुनासो आउनु राम्रो कुरा हैन। यद्यपि जनताले चाहेपछि परिवर्तन हुन्छ नै। आएको परिवर्तन वा जनताको निर्णयले सही मार्ग पकड्छ नै भन्ने छैन। तर पुरातन र संकिर्ण बुझाइको राजनीति सम्बन्धित दलले चाहँदैमा कायम रहँदैन। यसको लागि विश्व इतिहास पढ्नु वा बुझ्नु जरुरी छैन। केबल सात, आठ दशक अघिसम्मको नेपाल नियाले पुग्छ।

कुनै पनि राजनीतिक दल वा नेताले समयानुकूल पाइला चाल्नु जरुरी छ। अन्यथा त्यसको विकल्प जनताले खोज्छन्। कुनै समय विश्वमा उपनिवेश जमाएका देशहरु नै आज लोकतन्त्रका हिमायती छन्। उनीहरुको विगतको व्यवहार र आजको व्यवहारमा ठूलो भिन्नता छ। उनीहरुको त्यो परिवर्तनमा बाध्यात्मक पक्ष कति थियो ? त्यो ब्याख्या विश्लेषणको अर्को पाटो होला। तर आफूलाई बदलेर परिवर्तित व्यवस्था र प्रणालीको अगुवा पनि आफूलाई नै बनाएका छन्। परिवर्तन हुन आनीकानी गर्ने वा बाध्यतामा कुनै सम्झौता गरेर पालन गर्न नमान्नेहरु आफैं पाखा लगाएर जान्छन्।

corrent noodles
Metro Mart

नयाँ पुस्ताको आकांक्षालाई पुराना र स्थापित दलले बेवास्ता गरिरहेका छन्। जनतासँग पनि आफ्नो आकांक्षालाई नजरअन्दाज गर्ने दललाई नरोज्ने  विकल्प हुन्छ। तसर्थ पुराना दल र तिनका नेताले प्रधानमन्त्री दाहालले जस्तो गुनासो गरेर मात्र हुँदैन। व्यवहार परिवर्तन गर्नु पनि जरुरी छ।

यसको ज्वलन्त उदाहरण नेपालको राणा साशन र पञ्चायत व्यवस्था हो। राणाले परिवर्तन हुन चाहेनन्, आफैं सकिए। षड्यन्त्र गरेर जनमत संग्रहमा पञ्चायत टिकाए पनि धेरै समय टिकेन। त्यसपछिको प्रजातन्त्रिक व्यवस्थामा पनि धेरै उथलपुथल भए। कारण यही थियो कि यसलाई तथ्यमा नभएर भावनामा ब्याख्या बढी गरियो। अहिले कुनै पनि दलले तयार गरेको भाष्य र ब्याख्याले जनताको विचार वा बुझाइ तय गर्दैन। सञ्चारको विकासले आफ्नो देशको सरकार र नेताको काम अन्यसँग तुलना गरेर हेर्छन् नै। यस्तो अवस्थामा सरकारले मैले राम्रो गरें भन्दैमा जनताले पत्याउनेवाला छैनन्। जनताले सरकारको दाबीलाई तथ्यसँग दाँजेर हेर्छन् नै।

अहिले पुरानो र स्थापित दललाई चुनौती दिनेगरी केही दलको उदय भएको छ। सबैभन्दा बढी चर्चा रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको छ। प्रधानमन्त्रीको उन्मुक्त पुस्ताको नाममा गरेको गुनासो रास्वपाको उदयसँग जोडिएको छ। तर पछिल्लो निर्वाचनबाट रास्वपा बाहेक अन्य दलको पनि उदय भएको छ। रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र सिके राउतको जनमत पार्टीले पनि नेपाली राजनीतिमा उपस्थिति जनाएको छ। यी सबै दलको उदय हुनुमा कारण फरक-फरक छन्। तर सबैको सार यहिको पुराना दलले बाचा गरे अनुरुप काम गरेनन्। आफूलाई राम्रो देखाउन शब्दजाल बुन्नमा माहिर रहे। तर उनीहरुको कामले जनताको अपेक्षा सम्बोधन भएनन्।

रास्वपाको उदय द्रुत गतिमा विकास र सुशासन चाहनेको परिणाम हो। हचुवाको तालमा अगाडि बढाएको अपूरा योजना देखेर अवाक जनताको असन्तुष्टि हो रास्वपाको उदय। बेथिति र भ्रष्टचार प्रतिकृया हो रास्वपाको उदय। भलै रास्वपाले विचार र सिद्धान्तको आधारमा कति व्यवस्थित ढंगले अघि बढ्छ ? यसको लागि बुझ्ने उत्तम विकल्प भनेको प्रतीक्षा नै हो। भलै रास्वपाको राजनीतिक परिपक्वता भने शंकाकै घेरामा छ। नागरिक उन्मुक्ति पार्टीको उदय संघीयताको अखण्ड सुदूरपश्चिमको अवधारणा र थारुमाथिको दमनसँग जोडिएको छ भन्दा अतिशयोक्ति हुँदैन। जनमत पार्टीको उदय मधेसी जनताको पीडा र समस्यालाई राजनीतिको माध्यम मात्र बनाउनेसँगको आक्रोश हो। यी तीन दलको उदय पुरानो र स्थापित दलप्रतिको आक्रोश र असन्तुष्टिको प्रतिकृया हो।

पुरानो दलले हामी व्यवस्थाको विरुद्ध लडेको र नयाँ प्रणाली बसाएको दलिल पेश गर्दै आएका छन्। निश्चय नै आजको व्यवस्था ल्याउनमा एमाले, कांग्रेस र माओवादीको भूमिका महत्वपूर्ण छ। तर यही कारण उनीहरुलाई सधैं चुन्नुपर्छ भन्ने बाध्यता जनतालाई हुँदैन। दलले पनि इतिहासमा पुर्‍याएको योगदानका कारण जनताको मनोकांक्षालाई वेवास्ता गर्ने छुट छैन। जनताको चाहना र मनोकांक्षा अनुरुप दलले आफ्नो गति बढाउनैपर्छ। अन्यथा जनतासँग लोकतान्त्रिक व्यवस्थामा दल चुन्ने विकल्प सदैब रहन्छ। भलै, चुनेको नयाँ दलले पनि जनातको चाहना अनुरुप काम गर्न नसक्ला तर एउटा प्रकृयाको रुपमा अगाडि भने बढ्छ।

नयाँ पुस्ताको आकांक्षालाई पुराना र स्थापित दलले बेवास्ता गरिरहेका छन्। जनतासँग पनि आफ्नो आकांक्षालाई नजरअन्दाज गर्ने दललाई नरोज्ने  विकल्प हुन्छ। तसर्थ पुराना दल र तिनका नेताले प्रधानमन्त्री दाहालले जस्तो गुनासो गरेर मात्र हुँदैन। व्यवहार परिवर्तन गर्नु पनि जरुरी छ। अन्यथा इतिहास निर्माण गरेको दल स्वयं इतिहास हुन सक्छ। 

प्रकाशित: Jun 30, 2023| 15:07 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्