सोमबार, जेठ ७, २०८१

देशको परिवर्तनले नछोएका भेडा गोठाला

खाली पैतला, पसिनाले लुथ्रुक्क भिजेका मैलिएका कपडा। काँधमा किलादाम्ला बोकेका केही बूढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली, बागलुङ र पूर्वीरुकुमको सिमाना आसपासमा दैनिकजसो भेटिन्छन् भेडीगोठाला। 
 |  बिहीबार, असार १४, २०८०

डम्मर बुढामगर

डम्मर बुढामगर

बिहीबार, असार १४, २०८०

ढोरपाटन- अघिअघि भेडाका बथान पछिपछि गोठाला। खाली पैतला, पसिनाले लुथ्रुक्क भिजेका मैलिएका कपडा। काँधमा किलादाम्ला बोकेका केही बूढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली, बागलुङ र पूर्वीरुकुमको सिमाना आसपासमा दैनिकजसो भेटिन्छन्। उनीहरू भेडीगोठाला हुन्। 

triton college

जेठ महिना लाग्नासाथ बेँसीबाट लेक चढेका उनीहरू अब असोज लागेपछि मात्रै गाउँ झर्छन्। ती ठाउँमा केही काठले त केही त्रिपालले बारेका स-साना गोठ पनि प्रशस्त देखिन्छन्। यही गोठमा बस्छन् ती गोठालेहरू। सहरबजारको कोलाहलभन्दा निकै टाढा रहेका उनीहरूलाई सुगम ठाउँको सेवा सुविधाले पटक्कै छुन सकेको छैन। 

हिउँद लागे बेँसी झर्ने, बर्खा लागे लेक चड्ने यी गोठालाको परम्पराजस्तै हो। एउटै परिवारले दुई सयदेखि बाह्र सयसम्म भेडा पाल्ने हुँदा उनीहरूलाई रङरमाइलोको कुनै मतलबै छैन। उनीहरू घुमफिर गर्ने भनेकै अग्ला–अग्ला पहाड, खोँच र बेँसी हो। देशमा जति ठूलो परिवर्तन आए पनि उनीहरूलाई त्यो परिवर्तनले कत्ति पनि छोएको छैन। उनीहरू आफ्नै संसारमा बाँचिरहेका छन्। बागलुङ, रोल्पा र रुकुमको सङ्गमस्थल पातीहाल्नेमा एक महिना अगाडि भेडा लिएर आउनुभएका पूर्वी रुकुमका सतबहादुर गुरुङ असारको १५ पछि त्यसभन्दा माथिल्लो क्षेत्र बुकी जाने योजनामा छन्।

बैसठ्ठी वर्षीय गुरुङ ४७ वर्षदेखि भेडापालन गर्दै आएका छन्। बाउबाजेले गर्दै आएको पेसा आफूले अँगाल्दै आएको बताउने गुरुङले पढ्न, लेख्न पाएनन्। दुर्गम गाउँ सेवा सुविधाको पहुँचबाट टाढा हुँदा कृषि र पशुपालनको विकल्प नभएपछि भेडापालनमा लागेको उनी बताउँछन्। जमाना फेरिँदै गएसँगै मान्छेहरूले आफ्नो पेसासमेत फेर्दै आएको उनको भनाइ छ।  

पछिल्लो समय नयाँ पुस्ताले पशुपालनमा चासो नदिँदा भेडापालन व्यवसाय सङ्कटमा पर्न सक्ने गुरुङको आँकलन छ। 'गाउँमा मोटर गाडी आए, मान्छे पढ्न लेख्न थाले, जान्ने बुझ्ने भए। त्यही भएर होला, हामीहरूले जस्तो पशुचौपाया पाल्न छाडिसके, सहरबजार बस्ने, उतै कमाउने, उतै खाने गर्छन्, हाम्रो पालामा यस्तो सुविधा कहाँ थियो र?' गुरुङले भने, 'जुगजमानाअनुसार चल्नुपर्छ भन्छन् अहिलेका केटाकेटीहरू। गोठमा काम गर्न मान्दैनन्, उतिबेला पढाइ लेखाइको खासै महत्व नै थिए, पढ्ने उमेर लेकमा गाईभैँसी, भेडाबाख्रा चराउन हिँडियो, मर्ने बेलासम्म यो दुःखले छोडेन।'

corrent noodles
Metro Mart

गुरुङका अहिले करिब पाँच सय हाराहारीमा भेडा छन्। अघिल्लो महिना बेमौसमी वर्षाका कारण चिसोले ४३ भेडा मरे। अहिले बथानमा रहेकामध्ये १९ वटा ब्याउने तयारी रहेको उनको भनाइ छ। दुई महिनालाई खर्च बोकेर लेक आएको भन्दै अब अर्को महिना गोठको रेखदेख गर्न लगाएर खर्चपर्च लिन बेँसी जाने गुरुङले बताए। भेडापालन साह्रै दुःखजिलो पेसा भए पनि यसमा आफू सन्तुष्ट रहेको उनी बताउँछन्।

निसीखोला गाउँपालिका–६ का वीरबल घर्तीमगरले पनि पातीहाल्नेभन्दा केही माथिल्लोपट्टि रिगताल सेरोफेरोमै गोठ राखेका छन्। असार अन्तिम सातासम्म वीरबल यही क्षेत्रमै छन्। वीरबल गोठमा सयौँ काला, सेता र खैरा रङका भेडा पनि भेटिन्छन्। यिनै भेडाको गोठालो गर्नु उनको दैनिकी हो। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गभन्दा केही माथिपट्टि घर्तीमगरको गोठ हुँदा अहिले बेँसीबाट सामान ल्याउन गाह्रो छैन। सानै उमेरदेखि भेडा पाल्दै आउनुभएका वीरबल बुढ्यौली लाग्दै गए पनि उनमा त्यो जोस र जाँगर भने उस्तै छ। 

चौध वर्षको उमेरदेखि भेडापालन गर्दै आएका उनी अहिले ५३ वर्ष पार गरिसकेका छन्। हातखुट्टा चल्दासम्म र शरीरमा शक्ति हुँदासम्म भेडा नै पाल्ने सोचमा वीरबल छन्। सामान्य लेखपढ गरेका उनले जीवनमा धेरै बाधा अवरोध पार गर्दै यहाँसम्म आइपुगेको बताए। अहिले निसीखोलाको रिग, पातीहाल्ने, रोल्पा र रुकुमको सिमाना तिलाचन क्षेत्रमा भेडा चराउने गर्दै आएका छन्। वीरबलका बाउबाजे र त्यस अगाडिका पुस्ताले पनि पशुपालन गर्दै आएका थिए। बाउबाजेले गर्दै आएको पशुपालनलाई आफूले निरन्तरता दिए पनि अहिलेका युवापुस्ताले पशुपालनमा चासो नदेखाएको वीरबल बताउँछन्। आफूले पनि कक्षा ३ पास गरेको सुनाउँदै शिक्षाको महत्त्व नबुझ्दा विद्यालय छोडेको र सानैदेखि भेडापालनमा लागेको उनको भनाइ छ। 

उनी बिहान बेलुकाको खाना पकाएर खान र रात बिताउनका लागि रिग क्षेत्रमै उनको काठ र त्रिपालले छाएको सानो छाप्रो छ। घर्तीले गोठै छेउमा बाँधेर राख्नुभएका तीनवटा कुकुर आफ्नो र भेडाको 'सुरक्षा गार्ड' हुन्। भेडा चोरी हुन र वन्यजन्तुबाट जोगाउनका लागि यी कुकुर काफी छन्। यो ठाउँ उच्च पहाडी क्षेत्रमा पर्छ। यो क्षेत्र करिब तीन हजार दुई सय मिटरको उचाइमा छ।  

वीरबल भेडा चराउँदै गर्दा २०५२ सालको जनयुद्धमा अपहरणमा पनि परेको सुनाए। अपहरणमा परेर फर्किएपछि पनि उनले त्यही पेसालाई अँगाले। उहाँलाई कहिल्यै पेसा बदल्ने सोच आएन। 'पहिले अरुले क ख पढ्ने गर्थे, हामीहरूले भेडाबाख्रा हेर्न जङ्गल जान्थ्योँ, मैले सानैदेखि भेडा चराउन थालेको हुँ, स्कुलमा तीन पढ्दा–पढ्दै गाउँको दाइले लौ लाहुरतिर जाउँ भन्यो, अनि बटौलीतिर गएर केही काम गरियो, १३ महिनामा घर फर्किएँ, फेरि स्कुल गएँ, स्कुल गएर तीन पास गरेँ, त्यसपछि छाडेर भेडा गोठाले भएँ, भेडा गोठालो गर्दागर्दै बिहे गरेँ', उनले भने, 'जिजूबाजेदेखि नै भेडा पाल्दै आएका रैछन्, हामीले पनि त्यही गरियो, जमानाले गर्दा अहिलेका मान्छेले यस्तो गर्दैनन्, म २७ सालको हो, म पछिकाले भेडा पाल्नै छोडे।'   -रासस

प्रकाशित: Jun 29, 2023| 15:58 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्