शुक्रबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कोसीमा सत्ता संकटः विश्वासको मत माग्दै विपक्षी दललाई मुख्यमन्त्री कार्कीको पत्र

कोसीमा सत्ता संकटः विश्वासको मत माग्दै विपक्षी दललाई मुख्यमन्त्री कार्कीको पत्र

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि कांग्रेस, माओवादी केन्द्रसहितका दललाई लिखित पत्र पठाएका हुन्।
 |  बिहीबार, असार १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

vianetvianet

काठमाडौं– माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका एमाले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षीलाई पत्र लेखेर विश्वासको मत मागेका छन्। केही बेरमै बस्ने प्रदेशको तेस्रो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ।
विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले विपक्षी दललाई पत्र पठाएका हुन्।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि कांग्रेस, माओवादी केन्द्रसहितका दललाई लिखित पत्र पठाएका हुन्। सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संकटमा परेका मुख्यमन्त्रीले विश्वासको मत नपाए कोसीमा सरकार बदलिनेछ।

कोसीमा कुनै पनि दलको बहुमत नभएकाले  एमालेका मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाए कसले सरकार गठन गर्ने भन्नेमा अझै अन्योल छ। कांग्रेस, माओवादीले आफ्नै नेतृत्वमा सरकार गठनको अडान राखेका छन्। 

कोसीमा एमाले सबैभन्दा ठूलो दल रहेको छ। एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेका छन्।  राप्रपा र एमाले मिल्दा ४६ सांसदको समर्थन रहने देखिएको छ। 

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकारको समर्थन जोगाइराख्न मुख्यमन्त्री कार्कीलाई ४७ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री कार्कीले प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेपालले विश्वासको मत दिने आशा राखेको छ। जसपासँग एउटा मत छ। जसपा नेतृत्वको मधेस प्रदेश सरकारलाई एमालेले विश्वासको मत दिएको थियो। 

Metro Mart

हाल कोसी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका (सभामुखसहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन्। 

अहिले कोसी प्रदेशमा विपक्षी गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासँगसँग सभामुखसहित ४७ सांसद छन्। मतदानको क्रममा बराबरी मत आए सभामुखको मत निर्णायक हुनेछ।

सरकारले विश्वासको मत पाउन नसके र कांग्रेस, माओवादीले सरकार गठनका लागि बहुमत जुटाउन नसके कोसी प्रदेशमा मध्यावधि निर्वाचन पनि हुन सक्ने संकेत देखिँदै छ।

प्रकाशित: Jun 29, 2023| 13:03 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्