शनिबार, माघ ५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बागलुङमा खानी नै खानी, तर छैन उत्खननको योजना

यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खनन् गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै छ। यहाँका छन्त्याल जातिले खानीबाट तामा निकालेवापतको कर राणा शासकलाई तिर्न नसकेपछि बन्द भएको स्थानीयको भनाइ छ।
 |  बिहीबार, असार १४, २०८०

डम्मर बुढामगर

डम्मर बुढामगर

बिहीबार, असार १४, २०८०

ntc landingntc landing

ढोरपाटन- बागलुङ सदरमुकामबाट दूरदराजका गाउँसम्म थुप्रै खानी छन्। कतै तामाखानी, कतै फलामखानी त कतै सिसाखानी छन्। खानीबाटै जिल्लाका धेरै ठाउँको नामाकरणसमेत भएका छन्।

himalayan bank box

प्रशस्त मात्रामा खानी हुँदा पनि अहिलेसम्म उत्खनन् हुनसकेका छैनन्। धेरै ठाउँमा तामाखानी छन् भने केही ठाउँमा फलाम र सिसाखानी रहेको स्थानीयले दाबी गर्दै आएका छन्।

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा तामाखानी रहेका छन्। धातुजन्य खानीसँगै जिल्लामा प्रशस्त मात्रामा ढुङ्गाखानी पनि छन्। ढुङ्गाखानी केही स्थानमा उत्खनन् हुने गरे पनि फलाम तथा तामाखानी अहिलेसम्म उत्खनन् हुनसकेका छैनन्।

चार वर्ष अगाडि सरकारले सम्भावना रहेको स्थानमा खानी सञ्चालन गर्ने घोषणा गरेपछि बागलुङ नगरपालिका-९ तित्याङमास्थित तामाखानी पुनःसञ्चालन गर्नका लागि नगरपालिकाले अध्ययन थालेको थियो। खानी विज्ञको समूहले सम्भावना औँल्याएपछि २०७६ सालमा नगरपालिकाले शुभम् ग्रुपसँगको साझेदारीमा धातुको अनुसन्धानको काम सुरु गरेको थियो।

शुभम् ग्रुपले चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा मेसिन नै प्रयोग गरेर खानी परीक्षणको काम गरेको थियो। तर अहिलेसम्म त्यसको रिपोर्ट के-कस्तो आयो भन्ने यकिन भएको छैन। तमानखोला गाउँपालिका-६ नर्जाखानी गाउँभरि तामाखानी छ।

यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खनन् गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै छ। यहाँका छन्त्याल जातिले खानीबाट तामा निकालेवापतको कर राणा शासकलाई तिर्न नसकेपछि बन्द भएको स्थानीय ओमबहादुर छन्त्यालले बताए।

बुवा र हजुरबुवाले गाउँमै तामा उत्खनन् गरेर बिक्री गरी जीवन निर्वाह गर्दै आएको उनले सुनाए। बारी तथा पाखाभरि पहिले तामा निकालेका खाडल नर्जाखानी क्षेत्रमा रहेको र पहिरो जाँदा तामाका टुक्रा भेटिने गरेको छन्त्याल बताउँछन्।

सरकारले तामाखानी उत्खनन् गर्न सके स्थानीयसँगै राज्यको ठूलो आम्दानीको स्रोत बन्न सक्ने उनको भनाइ छ।

‘यो ठाउँ पूरै तामैतामाले भरिएको छ, गाउँलेले निकाल्न सक्ने अवस्था छैन, हाम्रा अग्रजले तामा निकालेका ठाउँ जहाँतहीँ भेटिन्छन्, बारीमा, वनजङ्गलमा र खनजोत गर्दा पनि तामा भेटिन्छ’, छन्त्यालले भने, ‘उत्खनन् गरे स्थानीयले गाउँमै रोजगार पाउन सक्थे, रोजगारीका लागि अरुको भूमिमा भौँतारिनुपर्ने थिएन, मुलुकका लागि पनि आर्थिक विकासमा टेवा पुग्ने थियो।’

तमानखोला गाउँपालिकाले खानी उत्खनन्का लागि बजेटको व्यवस्थापन गरेको छैन। खानी विभागबाटै यहाँका अध्ययन र परीक्षण गर्न थालेपछि पालिकाले आवश्यक बजेट व्यवस्थापन गर्ने अध्यक्ष जोकलाल बुढामगर बताउँछन्।

तमानखोलामा मात्रै फलामखानी, तामाखानी र झल्कने ढुङ्खाखानी रहेको तथा खानीका बारेमा केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी सञ्चालन गर्ने नीति बनाएको उनको भनाइ छ।

बागलुङ नगरपालिका-९ तित्याङको तामाखानीमा चार वर्षअगाडि आएको चिनियाँ प्राविधिक टोलीले दुई ठाउँमा सुरुङ खनेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए। प्राविधिक टोलीले तामाखानीमा के-के काम गर्‍यो, परीक्षणपछि कस्तो रिपोर्ट आयो भन्ने अहिलेसम्म खानी विभागले नगरपालिकालाई जानकारी नगराएको उनले बताए।

खानी विभागलाई तत्काल रिपोर्ट बुझाउन माग गरिरहेको उपप्रमुख खड्का बताउँछन्।  उनी भन्छन्, ‘आगामी वर्षका लागि नगरपालिकाले खानी उत्खनन् भनेर बजेट त विनियोजन गरेको छैन, तर माथिल्लो निकायसँग सहकार्य गरेर काम गर्छौँ, केही बजेट व्यवस्थापन पनि गर्छौँ, उत्खनन्का लागि परीक्षण त सुरु भएको थियो, अहिले बन्द भएको छ, पहिले आएको प्राविधिक टोलीले के-के फेला पर्‍यो भन्ने सबै विवरण आएको छैन, खानी विभागलाई यहाँ भएको कामका बारेमा प्रतिवेदन माग गरेका छौँ, त्यो प्रतिवेदनमा कस्तो ‘रिजल्ट’ आउँछ, त्यसपछि अन्य काम गर्छौँ।’

काठेखोला गाउँपालिका-३ धम्जा ओखले र वडा नम्बर ८ लेखानीमा तामाखानी, तमानखोला गाउँपालिकाको नर्जाखानी, खुङ्खानी, ढोरपाटन नगरपालिकाको घोषाखानीमा तामाखानी रहेका छन्। गलकोटको पाण्डवखानी र दुदिलाभाटीमा तामाखानी र सुनखानी, ताराखोला गाउँपालिकामा ढुङ्गाखानी, ढोरपाटनको लुकुरवनमा फलामखानी, बागलुङ नगरपालिकाको तित्याङमा तमाखानी, जैमिनी नगरपालिकाको राङखानी, दमेकमा तामाखानी, बडिगाड गाउँपालिकाको सिसाखानीमा सिसाखानी र भीमगिठेमा फलामखानी रहेको बताइन्छ। ती सबै खानी अहिले गुमनाम छन्। खानी उत्खननतर्फ कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ।    -रासस

प्रकाशित: Jun 29, 2023| 06:36 बिहीबार, असार १४, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्