काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोसल मिडिया (सामाजिक सञ्जाल) बाट आएका नयाँ पुस्ताले लोकतन्त्र र विकास निर्माणबारे दिग्भ्रमित बनाइरहेको बताएका छन्।
उनले प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सोसल मिडियामा उन्मुक्त पुस्तालाई हिजो देशमा दूधकै नदी बहन्थ्योझैँ भाष्य खडा गरेर लोकतन्त्रबाट दिग्भ्रमित गर्न खोजेको आरोप लगाएका हुन्।
प्रधानमन्त्री प्रचण्डले भने, ‘२० वर्षअघि र आज जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिँदै छ। सुशासनमा समस्याले यो अवस्था सिर्जना भएको हो। सुशासन प्रत्याभूति गर्दै लोकतन्त्रको शुद्धीकरणका लागि सिंगो संसद् एक ठाउँ उभिनेछ भन्ने मेरो विश्वास छ।’
मतदाताका रूपमा देशमा एउटा नयाँ पुस्ता तयार भइसके पनि उक्त पुस्तलाई युद्ध देख्नु नपरेको उनले उल्लेख गरे। ‘बिहान एक गाग्री पानीका लागि तीन घन्टा खोला धाउनुपरेन। विद्यालय पुग्न तीन–चार घन्टा पैदल हिँड्नु परेन। त्यो पुस्ताले यो देशमा कुनै दिन इन्टरनेट र टेलिफोन काटेर, एयरपोर्ट र सडकसम्म बन्द गरेर देशमा चलाइएको शाही शासन देखेन। २० वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिँदै छ। सुशासनमा समस्याले यो अवस्था सिर्जना भएको हो’, उनले भने।
जस्ताको तस्तै प्रधानमन्त्री प्रचण्डको भनाइ
आज यो अवसर प्रयोग गरेर म अपिल गर्न चाहन्छु, केही हुँदैन र अवस्था बदलिँदैन भन्ने हीन भावनाबाट माथि नउठेसम्म यो देशले आफैँमाथिको विश्वास फर्काउन सक्दैन। म दोस्रो पटक प्रधानमन्त्री हुँदा देशमा अठार घन्टासम्म लामो लोडसेडिङ थियो। केही महिनामै हामीले लोडसेडिङ मुक्त उज्यालो नेपाल बनायौं र आज केही वर्षमै भारत र बंगलादेशलाई समेत बिजुली बेच्ने ठाउँमा आइपुगेका छौँ।
पेट्रोलियम पदार्थ आयात न्यून बनाएर दसौं हजार मेगावट बिजुली निर्यात गर्ने उत्साहजनक बिन्दुमा आइपुगेका छौँ। यति उज्यालो भविष्यको यति नजिक यसअघि हामी कहिल्यै थिएनौँ।
तर सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रका प्राथमिकतालाई विषयान्तर गरिरहेको भान हुन्छ। हामीले गम्भीर भएर सोच्ने बेला आएको छ, कतै हामीबीच विषय विज्ञताभन्दा निन्दाबाजी त हाबी भइरहेको छैन? जनताका वास्तविक मुद्दा हराउँदै गएर सतही सस्ता विषयले त महत्त्व पाइरहेका छैनन्? कतै हामी राजनीतिज्ञ पनि सामाजिक सञ्जालका खहरे तालीका लागि विवेक र सीमा मिचिरहेका त छैनौँ? कतै हाम्रै व्यवहारले राजनीतिको चरित्र र चेहरा त कमजोर भइरहेको छैन?
यो सत्य हो, लोकतन्त्र अब भावनात्मक आधारले मात्रै सुदृढ हुँदैन, त्यसलाई तत्थ्यात्मक आधार चाहिन्छ।
मतदाताका रूपमा देशमा एउटा नयाँ पुस्ता तयार भइसकेको छ, जसलाई युद्ध देख्नुपरेन। बिहान एक गाग्री पानीका लागि तीन घन्टा खोला धाउनुपरेन। विद्यालय पुग्न तीन–चार घन्टा पैदल हिँड्नुपरेन। त्यो पुस्ताले यो देशमा कुनै दिन इन्टरनेट र टेलिफोन काटेर, एयरपोर्ट र सडकसम्म बन्द गरेर देशमा चलाइएको शाही शासन देखेन। सञ्चारगृहमै पसेर बर्दीधारी सैनिकले सम्पादकलाई के छाप्ने, के देखाउने र के सुनाउने भनेर निर्देशन दिन्थे भन्ने इतिहास आज सोसल मिडियामा उन्मुक्त पुस्तालाई थाहा छैन।
आज त्यो पुस्तालाई हिजो देशमा दूधकै नदी बहन्थ्योझैँ भाष्य खडा गरेर लोकतन्त्रबाट दिग्भ्रमित गर्न खोजिँदै छ। २० वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिँदै छ। सुशासनमा समस्याले यो अवस्था सिर्जना भएको हो। सुशासन प्रत्याभूति गर्दै लोकतन्त्रको शुद्धीकरणका लागि सिंगो संसद् एक ठाउँमा उभिनेछ भन्ने मेरो विश्वास छ।