आइतबार, साउन २५, २०८२

यी हुन् जन्मसिद्धका सन्ततिलाई नागरिकता लिन चाहिने कागजात

सुरुमा तत्काल कार्यान्वयनमा नलैजान अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च आदेश खारेज गरेसँगै जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण गर्न थालिएको हो।
 |  सोमबार, असार ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ११, २०८०

vianetvianet

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संशोधित नागरिकता विधेयका लालमोहर लगाइदिएको विरुद्ध परेको परेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै जन्मसिद्धका सन्ततिलाई नागरिकता बाँड्न थालिएको छ। विशेषगरी तराईका जिल्ला र काठमाडौं, मोरङलगायत जिल्ला प्रशासनबाट जन्मसिद्धका सन्ततिले नागरिकता लिन थालेका छन्।

जिल्ला प्रशासन कार्यालयहरूले नागरिकता प्राप्तीका लागि प्रक्रिया पूरा गरेर मात्र सिफारिस गर्न वडा कार्यालयलाई परिपत्र गर्न थालेका छन्। नागरिकता ऐन, २०६३ को पहिलो संशोधन कार्यान्वयनमा आएसँगै प्रशासन कार्यालयले यस्तो परिपत्र गर्न थालेका हुन्।

१७ जेठमा राजपत्रमा प्रकाशित भइसकेको ऐनविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि कार्यान्वयनमा आउन केही ढिलाइ भएको थियो। सुरुमा तत्काल कार्यान्वयनमा नलैजान अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च उक्त आदेश खारेज गरेसँगै ऐन कार्यान्वयमा आएको छ।

काठमाडौं प्रशासनले संशोधित ऐन र नियमावलीबमोजिम प्रक्रिया पूरा गरेर मात्रै सिफारिस गर्न अनुरोध गरेको छ। नागरिक अनुसूची मात्रै भरेर आउने गरेको र आवश्यक कागजात नहुँदा दुःख पाउने अवस्था देखिएको भन्दै कार्यालयले सो परिपत्र गरेको हो। ‘नागरिकले आवश्यक सम्पूर्ण कागपत्र नल्याउँदा दुःख पाएका छन्, सबै कागजात पूरा गरी वडा सिफारिस भयो भने सजिलो हुन्छ,’ काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले भने।

कार्यालयले जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशजका आधारमा सिफारिस गर्दा बाबु र आमा नेपाली नागरिक भएको र निजको बसोबास निरन्तर नेपाल सरहदभित्र गरेको यकिन गर्न भनेको छ।

Metro Mart

त्यसका लागि बाबुआमाको सक्कल नागरिकता, सक्कल जन्मदर्ता, जग्गाधनी प्रमाणपूर्जा (निवेदकको बाबुआमा नाम भएको) शैक्षिक प्रमाणपत्र, घरधनी दर्ता पूमाणपूर्जा, बसाइँसराइ दर्ता प्रमाणपत्र (ठेगाना परिवर्तन गर्न चाहे) स्थायी बसोबास प्रमाणपत्र, बाबुआमाको विवाह दर्ता र पारिवारिक विवरण, बाबुआमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र २०६३ को टोलीले नाबालक दर्ता गरेको भए सोको निस्सासमेत संलग्न गराउन उल्लेख गरिएको छ।

परिपत्रमा कार्यालयबाट आवश्यताअनुसार स्थलगत प्रहरी सर्जमिन मुचुल्कासमेत गरिने हुँदा सो बेहोरालाई पुष्टि गर्ने अन्य कागजात पनि समावेश गर्न परिपत्रमा उल्लेख छ।

मोरङमा पनि जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका बाबुआमाका सन्तानलाई आजदेखि वंशजको नागरिकता जारी गर्न थालिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता वितरणको तयारी गर्दै आवश्यक कागजातबारे जानकारी गराउन स्थानीय तहमा परिपत्र जारी गरेको हो।

नागरिकता लिन चाहिने कागजात र सिफारिसबारे वडालाई परिपत्र गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए। मोरङमा जन्मका आधारमा नागरिकता लिनेको संख्या ३५ हजार हाराहारी रहेको प्रारम्भिक तथ्यांक छ। करिब ७० हजारसम्म वंशजको नागरिकताका लागि आवेदन आउन सक्ने अनुमान गरिएको छ।

नागरिकता लिनेले राष्ट्रिय परिचयपत्र र राहदानी लिनसमेत आवेदन दिने सम्भावना छ। रंगेली र उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयमा नयाँ नागरिकता लिन निवेदन पर्न सुरु गरेको छ।

वंशजको नागरिकता प्राप्त गर्न वडाबाट सिफारिस लिनुपर्छ। बसाइँ सरी आएको हकमा बसाइँसराइ दर्ता प्रमाणपत्र, स्थानीय बसोबास प्रमाणित पारिवारिक विवरण, बाबु र आमाको सक्कल नागरिकता र सोको प्रतिलिपि, सक्कल जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र र नाबालक परिचयपत्र, बाबुआमा र सन्तानबीचको फोटोसहितको सक्कल नाता प्रमाणित, २०६३ को टोलीमा नाबालक दर्ता गराएको भए सोको निस्सा, बाबु र आमाबीचको विवाह दर्ता प्रमाणितपत्र–मतदाता परिचयपत्र, बाबुआमाको मृत्यु भइसकेको भए मृत्यु दर्ता प्रमाणपत्र, कुनै उद्योग, पेसा वा व्यवसाय गरी बसेको भए सोको प्रमाण, जग्गाधनी प्रमाणपुर्जा वा स्थायी बसोबास सिफारिस वा व्यवसाय दर्ता प्रमाणपत्र, स्वघोषण र अन्य प्रचलित ऐन–कानुनबमोजिम हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

थप विवरणका लागि सम्बन्धित जिल्ला प्रशासन वा वडा कार्यालयमा सम्पर्क गर्न सम्बन्धित कार्यालयले अनुरोध गरेका छन्। नागरिकता लिन जाँदा जिल्ला प्रशासनले तोकेका कागजात अनिवार्य साथमा राख्नुपर्ने र फर्म भर्नुपर्ने विभिन्न जिल्ला प्रशासन कार्यालयले बताएका छन्।

प्रकाशित: Jun 26, 2023| 12:40 सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्