काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औं वार्षिकोत्सवमा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८० मा १० जना कविका रचना उत्कृष्ट रहेको घोषणा गरिएको छ।
प्रतिष्ठानले ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नारासहित मुलुकमा बोलिने जुनसुकै मातृभाषामा नेपाली अनुवादसहित रचना आह्वान गरेको थियो। जसअनुसार तोकिएको म्यादभित्र ६ सय ४४ कविले भाग लिएका थिए। तीमध्ये २५ कविले शनिबार आयोजित कविता महोत्सवमा नेपाली, लिम्बू, डोटेली, खाम मगर, नेपालभाषा, चाम्लिङ र थामी मातृभाषाका कविता वाचन गरेका थिए। वाचितमध्ये १० जना उत्कृष्ट घोषणा गरिएको हो।
१० उत्कृष्टमध्ये नेपाली भाषातर्फ उमेश पुन, कृपाकरुणा पोखरेल, जीवन आरोही, तीर्थराज विश्वकर्मा, नवीन अभिलाषी, प्रकाश दिप्साली राई र राधिका कल्पित छन्। यसैगरी डोटेली भाषातर्फ खिमानन्द जोशी र पूर्णानन्द ओझा तथा खाम मगर भाषातर्फ टंकबहादुर झाँक्री मगर (समीप बैरागी) उत्कृष्ट भएको सदस्यसचिव धनप्रसाद सुवेदीले विज्ञप्तिमा जनाएका छन्। उत्कृष्ट १० कविलाई जनही १५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ।