काठमाडौं– गत सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं कांग्रेस टेकोका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकाएक चार पार्टी सम्मिलित मोर्चा बनाएपछि प्रतिक्रियाविहीन सत्तारुढ कांग्रेसले बल्ल मुख खोलेको छ।
शनिबार काठमाडौं ४ मा आयोजित क्षेत्रीय सम्मेलनमा सहभागी कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले सरकार बन्ने, गठबन्धन भत्किने सामान्य प्रक्रिया भएकाले अहिलेको गठबन्धनले नराम्रो गरे सरकार फेर्न सकिने बताएका हुन्।
उनले भने, ‘चुनावपछि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो। हामी अहिले प्रचण्डको पार्टीसित एकै गठबन्धनमा छौं। गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने बदलिन्छ। नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन।’
कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको महामन्त्री थापाको भनाइ छ। समाजवादी मोर्चामा एमाले पनि थपिएर कम्युनिस्ट एकै ठाउँ भए पनि कांग्रेसलाई फरक नपर्ने उनले दाबी गरे।
‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, कांग्रेस छाड्दिनँ भन्छ भने आज सरकार गए जाओस् भन्न नसक्ने? अरुले सरकार बनाउलान् भनेर चुनावअगाडि र पछाडि गठबन्धन गर्ने खेलले कांग्रेस बिग्रिएको उनले औंल्याए।
महामन्त्री थापाले निर्वाचन प्रणालीकै कारण वडादेखि पालिका र प्रदेशदेखि केन्द्रसम्मै गठबन्धन गर्नुपर्ने अवस्था रहेको उनले बताए। यस्तो निर्वाचन प्रणाली भएपछि कसरी सरकार बन्छन् भने उनले प्रश्न गरे।
उनले कांग्रेस अलमलिँदा र लय पक्रिन नसक्दा राजनीति अनि सिंगो समाज प्रभावित भएको बताए। कांग्रेसको अलमलमा कम्युनिस्टहरुले खेलेर सत्ता चलाउन सकेको उनको धारणा छ।