सोमबार, वैशाख २८, २०८३

नेपालसँग कूटनीतिक सम्बन्ध गाँस्ने क्यामरुन बन्यो १८०औं देश

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र क्यामरुन गणतन्त्रका समकक्षी मिसेल टोमो मोन्थेले मुख्यालय न्युयोर्कमा कूटनीतिक सम्बन्ध गाँस्ने सम्झौतामा गरे हस्ताक्षर।
 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

काठमाडौं– नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकको संख्या १८० पुगेको छ।

National life

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र क्यामरुन गणतन्त्रका समकक्षी मिसेल टोमो मोन्थेले बिहीबार संयुक्त राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा कूटनीतिक सम्बन्ध गाँस्ने सम्झौतामा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी गराउने संयुक्त पत्रमा दुवै राजदूतले हस्ताक्षर गरेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले बताएको छ।

सो अवसरमा दुवै राजदूतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा विशेषगरी संयुक्त राष्ट्रसंघको मञ्चमा पारस्परिक हितका लागि द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचारविमर्श गरेका थिए।

पश्चिम अफ्रिकामा अवस्थित क्यामरुनमा २४० बढी जनजाति छन् भने २३० भाषा बोलिन्छन्। चाड, मध्य अफ्रिकी गणतन्त्र, कंगो गणतन्त्र, ग्याबोन, इक्वेटोरियल गिनी र नाइजेरियासँग सिमाना जोडिएको यो मुलुकको दक्षिण–पश्चिममा एट्लान्टिक महासागरको सिमाना रहेको छ। 

२ करोड ७० लाख बढी जनसंख्या भएको क्यामरुनको कुल क्षेत्रफल ४ लाख ७५ हजार ४४० वर्गकिलोमिटर छ। सन् १९६० जनवरी १ मा स्वतन्त्र भएको यो मुलुक २० सेप्टेम्बर १९६० मा संयुक्त राष्ट्रसंघमा सामेल भएको हो। नेपाल र क्यामरुन दुवै असंलग्न आन्दोलन (नाम) तथा ७७ र चीन समूहका सदस्य राष्ट्र हुन्। –रासस

प्रकाशित: Jun 23, 2023| 16:16 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्