काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्। सांसदहरुले खेती सिजनमा रासायनिक मल, मुलुकका विभिन्न भागमा भइरहेका सवारी दुर्घटना, बजेट विनियोजनलगायतबारे प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर गरिरहेका हुन्।
प्रतिनिधिसभा बैठकमा सांसद अच्युतप्रसाद मैनालीले रुस–युक्रेनबीच जारी युद्धमा रुसको पक्षमा नेपाली युवाको लडिरहेको विषयमा प्रधानमन्त्री प्रचण्डसँग जवाफ मागे। उनले संयुक्त राष्ट्रसंघमा युक्रेनको पक्षमा मतदान गरेको सन्दर्भमा रुसी सेनामा नेपाली युवाको संलग्नताबारे सरकारले प्रस्ट्याउनुपर्ने माग गरे।
सांसद मैनालीको जवाफ फर्काउँदै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय राजनीतिमा भइरहेका घटनाप्रति सरकार गम्भीर रहेको बताए। रुस–युक्रेन युद्ध भइरहेका बेला नेपाली युवा रुसी सेनामा भर्ती भएर लडाइँमा भाग लिएको औपचारिक जानकारी सरकारलाई नभएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।
प्रधानमन्त्री प्रचण्डले सरकारले राष्ट्रिय गौरवका योजनामा बजेट सुनिश्चित गर्ने गरेको बताए। उनले राष्ट्रिय गौरवका आयोजनामा विनियोजित रकम कम हुने अवस्थामा पनि आवश्यकताअनुसार थप बजेटको व्यवस्था गरिने गरिएको जानकारी दिए।
उनले निजगढी अन्तर्राष्ट्रिय विमानस्थलको आगामी आर्थिक वर्षमा साइड क्लेयरेन्स गर्ने कार्य सम्पन्न गर्ने कुरामा सरकारको गहिरो ध्यान रहेको बताए।
रेल सञ्चालन गर्नेबारेमा सरकार सकारात्मक रहेको उनको भनाइ छ।
साथै, राष्ट्रिय गौरवका आयोजना र अन्य प्राथमिकता प्राप्त आयोजनाको जग्गा अधिग्रहण मुआब्जा र क्षतिपूर्ति वितरण गर्ने काम सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।