आइतबार, साउन २५, २०८२

कांग्रेसको 'मुड' परीक्षणमा एमाले, प्रचण्ड सरकारको विरोधमा 'मोर्चा'

कांग्रेस-एमाले समीकरणका लागि सघन संवादमा दोस्रो तहका नेता

कांग्रेस नेताहरुसँग संवादमा रहेका एमालेका नेताहरुले ठूलो दल कांग्रेस भएका कारण सरकारको नेतृत्व कांग्रेसबाटै गर्दा प्राकृतिक हुने बताइरहेका छन्।
 |  बिहीबार, असार ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

vianetvianet

काठमाडौं- सरकारलाई समर्थन गरिरहेको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुर रहेको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार कम्युनिष्ट दल मिलाएर 'समाजवादी मोर्चा'को घोषणा गरे। प्रचण्डले सत्ता साझेदार दलहरु नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र पूर्वमाओवादी नेता नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी मिलाएर समाजवादी मोर्चा घोषणा गरेका हुन्। 

प्रचण्डले समाजवादी मोर्चा घोषणा गरे पनि मोर्चामै आबद्ध दलहरुले सरकारले ल्याएको बजेट यथास्थितिमा पारित हुन नदिने बताइरहेका छन्। आज बिहीबारमात्रै माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एसको संसदीय दलको बैठकले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गर्‍यो। बजेट परिमार्जन गरी सन्तुलित बनाएर मात्रै पारित गर्नुपर्नेमा आफ्नो पार्टीले जोड दिएको संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले जानकारी दिएका छन्। 

यसअघि नेकपा एसका अध्यक्ष नेपालले र संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बजेट नसच्याए सरकार ढल्‍न सक्ने चेतावनी दिएका थिए। त्यसैगरी अर्को सत्ता साझेदार दल जनता समाजवादी पार्टीले पनि बजेट नसच्याएसम्म कुनै पनि हालतमा पारित हुन नदिने चेतावनी दिएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले बिहीबार पत्रकार सम्मेलन गरी बजेटमा सुधारको जरुरी रहेको बताएका छन्। उनले बजेट न्यायोचित नभएको अवस्थामा सरकार नै तलमाथि हुन सक्‍ने पनि बताएका छन्। 

समाजवादी मोर्चामा आबद्ध दलका नेताहरुले नै सरकार ढल्‍न सक्न‍े चेतावनी दिइरहेको समयमा सरकारलाई समर्थन गरिरहेको जनमत पार्टीले पनि बजेटप्रति असन्तुष्टि जनाएको छ। जनमत पार्टीका अध्यक्ष सिके राउतले बजेट संशोधन नभएको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्। मधेशमा अझै औपनिवेशिक शासन लाद्‌न खोजिएकोले बजेट संशोधन आवश्यक रहेको भन्दै उनले समर्थन फिर्ता लिन सक्ने चेतावनी दिएका हुन्। 

यसरी प्रचण्डकै सारथीको रुपमा उभिएका नेकपा एस र जसपासहित सरकारलाई समर्थन गरिरहेको जनमतले नै सरकार ढल्‍ने चेतावनी दिइरहेको समयमा संसद्‌मा प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन्। यस्तो समयमा नेपाली कांग्रेस भने 'पर्ख र हेर' को रणनीति अवलम्बन गरिरहेको छ। यसबीचमा नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुले नेकपा एमालेका नेताहरुसँगको संवादलाई सघन बनाएका छन्। 

Metro Mart

एमालेले बारम्बार सार्वजनिक रुपमा नै धेरै साना दलको समीकरण बन्दा मुलुकमा स्थिरता नहुने बताइरहेको छ। यही मेसोमा उसले अहिले कांग्रेससँगको संवादलाई सघन बनाएको देखिन्छ। प्रचण्डले गत पुस १० मा बनेको समीकरण भत्काएपछि सत्ताबाहिर रहन बाध्य भएको एमालेले कांग्रेससँग मिलेर दुई ठूला दलको सहभागितामा सरकार बनाउन पहल गरिरहेको छ। यता समाजवादी मोर्चा गठनबाट कांग्रेस पनि सशंकित भएकै छ। प्रचण्डले जुनसुकै समयमा पनि धोका दिन सक्ने कांग्रेस नेताहरुको विश्लेषण छ। 

कांग्रेस नेताहरुसँग संवादमा रहेका एमालेका नेताहरुले ठूलो दल कांग्रेस भएका कारण सरकारको नेतृत्व कांग्रेसबाटै गर्दा प्राकृतिक हुने बताइरहेका छन्। साना दलहरुले हरेक विषयमा मोलमोलाइ गर्दा राष्ट्रिय मुद्दाहरु ओझेलमा पर्ने र सरकारले प्रभावकारी काम गर्न नसक्‍ने भएकोले पनि मुलुकका पुराना र दुई ठूला दलहरुले सरकार बनाउँदा स्वाभाविक हुने नेकपा एमालेका एक नेताले बताए। एमालेसँग संवादमा रहेका कांग्रेसका नेताहरु सभापति देउवाको 'ग्रिन सिग्‍नल' कुरिरहेको बताइएको छ। 

एमालेका एक नेताले कांग्रेस सभापति देउवा स्वदेश फर्किएपछि यसबारे ठोस ढंगले छलफल गर्ने र चाँडै नतिजा दिने गरी काम भइरहेको बताएका छन्। कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटसमेत गरिसकेका छन्। एमालेले पनि कांग्रेसका संस्थापन र इतर दुवै समूहसँग निरन्तर संवाद गरिरहेको छ। 

एमालेका नेताहरुले सरकारको समीकरण परिवर्तनका विषयमा कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगन थापा र नेता ज्ञानेन्द्रबहादुर कार्कीसँग विभिन्‍न चरणमा छलफल गरिसकेका छन्। छलफलका क्रममा कांग्रेस नेताहरुले पार्टीले आन्तरिक छलफल गर्ने र यसमा सभापति देउवाको 'मुड' निर्णायक हुने बताइरहेका छन्। गत पुस १० गते बालुवाटारमा कुराएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नगएपछि आफूलाई धोका दिएको सभापति देउवाले महसुस गरेको र एमालेले कांग्रेसको मुड परीक्षण गरिरहेको हो कि भन्‍ने आशंका पनि रहेको छ। 

यस विषयमा पनि छलफल भइरहेको र देउवा फर्किएपछि शीर्ष तहमा नै संवाद गराउने वातावरण भने सिर्जना भइ नसकेको संवादमा सक्रिय एक नेताले जानकारी दिए। पुस १० गते एमालेले गल्ती गरेको विषयमा पनि अध्यक्ष ओलीले स्वीकार गरिसकेको नेताहरुले कांग्रेससँगको छलफलमा बताउने गरेका छन्। 

सरकारमा आफ्नो पक्षमा समर्थन कम हुन सक्न‍े भन्दै थोरै भए पनि संख्या देखाउनका लागि माओवादी अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा बनाए पनि कांग्रेसले पनि यसलाई प्रचण्डको 'बार्गेनिङ टुल'को रुपमा लिएको छ। यद्यपि सार्वजनिक मञ्‍चहरुमा भने प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा बनाउने कुरामा कांग्रेसका नेताहरूको पनि सहमति रहेको बताउने गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डले आन्तरिक छलफल र कार्यकर्ता भेटघाटमा सरकार नढल्‍ने भन्दै आश्वस्त पार्ने गरेको हालै प्रचण्डलाई भेटेका एक माओवादी नेताले जानकारी दिए। उनले भने, 'प्रधानमन्त्रीज्यूसँग कुरा हुँदा उहाँले सरकार अहिले नढल्‍ने र त्यस्तो स्थिति आउँदा सामना गर्ने बताउनु भएको छ। उहाँले आफूलाई घेराबन्दी पार्ने प्रयास भइरहेको समेत बताउनु भएको छ।'

सभापति देउवा निकट एक नेताले प्रचण्डलाई एक ठाउँमा बसिरहने बानी नभएका कारण काँध फेर्न थालेको हो कि भन्‍ने कुरामा पार्टी सजग भएको बताए। उनले भने, 'प्रधानमन्त्रीका व्यवहार र काम गर्ने शैली र उहाँका गतिविधिलाई हेर्ने हो भने उहाँले काँध फेर्ने इच्छा गर्नुभएको हो कि भन्‍ने देखिन्छ। यसपटक कांग्रेस सजगताका साथ अघि बढ्छ।' 

प्रकाशित: Jun 22, 2023| 20:59 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्