सोमबार, वैशाख २८, २०८३

गति पैदा नगरे समाजवादी मोर्चाको दुर्गतिः घनश्याम भुसाल

इमानदार तबरले जनतासम्म नपुग्दा चल्ता राजनीतिक दल कमजोर हुँदै गएका र बनिबनाउ पुस्ताबाट समाज परिवर्तन असम्भव देखिएकाले नयाँ पुस्तालाई राजनीतिक चेत विकास गर्न भुसालको सुझाव।
 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले चार पार्टी सम्मिलित हालै गठन भएको समाजवादी मोर्चाले गति पैदा नगरेन दुर्घटनामा पर्ने बताएका छन्।

National life

बिहीबार माक्र्सवादी ज्ञान केन्द्रको आयोजनामा काठमाडौंमा सुरु भएको संगठनात्मक कार्यशाला एवं अभिमुखीकरण गोष्ठी उद्घाटन गर्दै नेता भुसालले मोर्चाले हालको आवश्यकता (सत्ता) लाई मात्र ध्यान दिए त्यसको औचित्य समाप्त हुने टिप्पणी गरेका हुन्। उनले भने, ‘सुविचारित सही दिशामा गतिशील सकिएन भने मोर्चा मात्र होइन, अहिलेका राजनीतिक दलको औचित्य सकिन्छ।’ 

इमानदार तवरले जनतासम्म पुग्न नसक्दा चल्ता राजनीतिक दल कमजोर हुँदै गएको बताउँदै महासचिव भुसालले जनतासँग समाहित नभएको पार्टी लोप हुँदै जाने भएकाले त्यसतर्फ ध्यान दिन सुझाए। बनिबनाउ पुस्ताबाट समाज परिवर्तन असम्भव रहेकाले नयाँ पुस्तालाई राजनीतिक चेत विकास हुनुपर्ने उनको भनाइ छ।

वर्तमान ‘पपुलिष्ट’ संस्कृतिलाई विस्थापित गर्न ठूला शक्ति पैदा हुने तर्क गर्दै महासचिव भुसालले वर्तमान राजनीतिक दलले रोक्न सकेनन् भने अब आउने दिनमा लोप हुनुको विकल्प नरहेको बताए। माक्र्सवादीभन्दा पनि भोगवादी समाज निर्माण हुँदै गएको बताउँदै उनले नेतृत्वलाई अन्ध समर्थन गर्दा चेतना स्तर कमजोर देखिएको टिप्पणी गरे।

माक्र्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाको अध्यक्षतामा भएको गोष्ठीमा केन्द्रका सल्लाहकार गोपीरमण उपाध्यायले देशको वर्तमान परिस्थितिलाई बुझेर यहाँको कला संस्कृति, कला, इतिहासको चिन्तन र बहसका विषय बनाउनुपर्नेमा जोड दिँदै आगामी दिनमा अध्ययन संस्कृतिलाई विस्तार गर्दै लैजानुपर्ने बताए।

केन्द्रका उपाध्यक्ष जनार्दनबाबु कट्टेलले राजनीतिक दल र जनताबीचको सम्बन्ध घनिष्ट हुुनुपर्नेमा जोड दिए। दुई दिनसम्म चल्ने गोष्ठीमा देशभरबाट ६० बढी सहभागी छन्।

प्रकाशित: Jun 22, 2023| 15:33 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्