काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई आफ्नो पार्टीमा आए असाध्यै राम्रो हुने बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
दुवै जनासँग आफ्नो सम्बन्ध सौहार्दपूर्ण रहेको उल्लेख गर्दै लामिछानेले दुवैको कामको प्रशंसा आफूले गरिरहेको बताए। उनले भने, 'यो त राम्रो हुन्थ्यो। त्यस्तो साथीहरुलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो। त्यो त हाम्रो चाहाना छँदैछ। चाहनाअनुरुप अन्य साथीहरुले पनि त्यसैगरी सोचिदिनु भयो भने त हाम्रो तर्फबाट त सय प्रतिशत सकारात्मक छँदैछौं नि। सम्बन्धका हिसाबले पनि हाम्रो सौहार्दपूर्ण सम्बन्ध छ। उहाँहरुको कामको हिसाबले पनि मैले त निरन्तर रुपमा उहाँहरुको कामको प्रशंसा गरेकै छु। चुनाव लड्दा सघाएदेखि अहिलेसम्म निरन्तर उहाँहरुको राम्रो काममा सघाउने काममा निरन्तरता दिएकै जस्तो लाग्छ मलाई।'
गत साल असार ७ गते स्थापना भएको रास्वपा आज विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइरहेको छ।