काठमाडौं– प्रतिनिधिसभामा चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज स्थापना दिवस मनाएको छ। रास्वपाले बसुन्धराबाट बालाजुस्थित चःमती मार्गमा स्थानान्तरण गरेको नयाँ पार्टी कार्यालय उद्घाटन सभापति रवि लामिछानेले घन्टी बजाएर गरे।
गत वर्ष आजकै दिन राष्ट्रिय सभागृहबाट रास्वपा घोषणा गरिएको थियो। स्थापना दिवस अवसरमा रास्वपा मुख्यालय ६ तले सुविधासम्पन्न भवनमा सरेको छ।
कार्यक्रममा सभापति लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक र ऊर्जाशील रहेको बताए। उनले भने, ‘यो एक वर्ष अत्यन्त सकारात्मक, ऊर्जाशील र सौहार्द्रपूर्ण रह्यो। रास्वपालाई नेपाली जनताले आशा र भरोसाका रुपमा हेरेको नयाँ सफल पार्टीका रुपमा लिएको ठानेका छौं।’
अबको कार्यभार पार्टीको संगठन विस्तार र जनताको विश्वासअनुसार अगाडि बढ्नु रहेको उनको भनाइ छ। उनले भने, ‘उपनिर्वाचनसम्म आइपुग्दा आमनागरिकलाई हामी नयाँ पार्टी, नयाँ मान्छे आएको जानकारी भयो। नागरिकमाझ पुगेर विश्वासलाई मतमा रुपान्तरण गर्न सक्ने गरी संगठन विस्तार गर्नुपर्ने चुनौती छ।’ उनले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई कायम राखेर परिणाममुखी बनाइनु बताए।
बालाजुमा मुख्यालय सारेको रास्वपाको संसदीय दल र केन्द्रीय समिति संयुक्त बैठक नयाँ कार्यालयमा बसेको छ। रास्वपा स्थापना दिवसमा आयोजित चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विभिन्न, कांग्रेस, एमालेलगायत राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधि उपस्थित भएका छन्।