काठमाडौं- सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले बजेट विनियोजनको विषयमा रोष प्रकट गरेका छन्। आज अध्यक्ष माधव कुमार नेपालसँगको छलफलमा सांसदहरूले बजेटको असन्तुलन नसच्याएसम्म मतदान नगर्ने चेतावनी दिएका हुन्। पार्टी उपाध्यक्षसमेत रहेका राजेन्द्र पाण्डेले अध्यक्षलाई बजेटका पक्षमा भोट नहाल्ने जानकारी गराएको बताए।
'अध्यक्षलाई बजेटको असन्तुलन समाधन नभएसम्म भोट हाल्दैनौँ भनेका छौँ,' उनले भने, 'भोट हाल्नुको कुनै अर्थ छैन। दुई–चार वटा निर्वाचन क्षेत्र, तीन–चार जिल्लामा बजेट हाल्ने सरकारको अर्थ पनि छैन।'
सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र अर्थमन्त्री प्रकाशशरण महतलाई पनि आफूहरूको मागलाई बेवास्ता नगर्न चेतावनी दिएका छन्। उनीहरूले आफूहरू पार्टी विभाजन गरेर आएको भन्दै सरकार भत्काउन ठूलो कुरो नभएको समेत बताएका छन्।
'हामी आफैँले बनाएको पार्टी भत्काएर आएकाहरूले सरकार भत्काउन कुन ठूलो कुरा हो र ? हामीले बोलेको मात्रै नठानियोस्,' सांसदहरूको चेतावनी छ।
सांसदहरूले असन्तुष्टि व्यक्त गरेपछि अध्यक्ष नेपालले संसदीय दलको बैठक आह्वान गरेका छन्। आज पनि छलफल भएको र बैठक भोलि दिउँसो २ बजे बस्ने पाण्डेले जानकारी दिए।