आइतबार, साउन १८, २०८२

'समाजवादी मोर्चा' बारे के भन्छन् कांग्रेस-एमालेका युवा नेता? 

 |  मंगलबार, असार ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

vianetvianet

काठमाडौं - सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता साझेदारहरु नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबार 'समाजवादी मोर्चा'को घोषणा गरे। अब मुलुकलाई समाजवादको बाटोमा अघि बढाउने भन्दै सत्ताधारी तीन दल र संसदीय राजनीति मुलुकका लागि घातक हुने भन्दै भूमिगत राजनीति रोजेका विप्लवबीचको मोर्चाबन्दीलाई विभिन्‍न कोणबाट विश्लेषण भइरहेको छ। 

यसबारे नेपाली कांग्रेसका युवा नेता सांसद सांसद प्रदीप पौडेलले एमालेसँग दूरी बढाउनका निम्ति अरु कम्युनिस्ट नेताहरुले समाजवादी मोर्चा घोषणा गरेको बताएका छन्। समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस नतर्सिने पनि उनले बताएका छन्।  मंगलबार संसद्‍बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चाबाट कांग्रेस नतर्सिएको बताएका हुन्। 

सांसद पौडेलले अब एमालेसहितको कम्युनिस्ट एकताको सम्भावना नरहेकोसमेत स्पष्ट पारे।  समाजवादी मोर्चासँग आशंका गरेर कांग्रेस सरकारबाट नबाहिरिनेसमेत उनले बताए।

'अब एमालेसहितको कम्युनिस्ट एकताको सम्भावना अब रहेन, एमालेसँग दूरी बढाउनका निम्ति अरु कम्युनिस्ट नेताहरुले यो गरेका हुन्। यो मोर्चा बनाएपछि सरकार फेरिने, कांग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन,' उनले भने।

त्यसैगरी नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा वृद्धहरुको क्लब भएको टिप्पणी गरेका छन्।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चा प्रौढहरुको क्लब भएको बताएका हुन्। उनले समाजवादको धारणामा एकरुपता हुन नसकेकाहरुको मोर्चा धेरै समय नटिक्ने दाबी गरे।

उनले मोर्चामा संविधान च्यात्नेसम्म रहेको उल्लेख गर्दै संविधानप्रति समान दृष्टिकोण नरहेकाहरुको मोर्चाले उपलब्धि दिन नसक्ने जिकिर गरे। उनले समाजवादी मोर्चा बनाएका दलहरु अस्तित्वको संकटमा रहेको बताए।

‘…यो प्रौढहरुको क्लब हो। यसमा इतिहासको बखान हुन्छ। मेरो पालमा यो, मेरो पालामा यो। यो बुढाहरुको क्लब हो। भविष्यको सपना केही पनि छैन। समाजवादी मोर्चा बनाएर दलहरु अस्तित्वको संकटमा छन्। मोर्चा पछि आफै झगडा गर्दछन्, छुट्टिन्छन्,’ उनले भने।

चार कम्युनिष्ट घटकले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवादी मोर्चा घोषणा गरेका हुन्। राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा नेपालको सहमतिपत्रमा संयुक्त हस्ताक्षर गरेका हुन्। 

मोर्चाले १५ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ।काठमाडौं- सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन्। 

घोषणा सभामा सोमबार सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब समाजवादी मोर्चाले सडक र सदन दुवै ठाउँबाट नयाँ अभियान अघि बढाउने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले  शान्ति प्रक्रिया उल्ट्याउने खेल भइरहेको बताउँदै परिवर्तन र संघीयतासहितका उपलब्धि उल्ट्याउन खोज्नेविरुद्ध अब समाजवादी मोर्चाले सडक र सदनबाट डटेर नयाँ अभियानको थालनी गर्ने बताएका हुन्। 

त्यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सबै वामपन्थी शक्तिहरू एकताबद्ध भएर वैकल्पिक शक्ति बनाउनुपर्ने बताए। उनले चार दलले समाजवादी मोर्चा घोषणा गरेको भन्दै अब मोर्चाले देशमा रहेका सबै क्रान्तिकारी शक्तिहरूलाई एक ठाउँमा ल्याउन पहल गर्नुपर्ने बताएका थिए।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार, सदन र सडकबाट जनताको आवाज बुलन्द बनाउन समाजवादी मोर्चा गठन गरिएको बताए। अध्यक्ष नेपालले सडक, सदन र सरकारमा समाजवादको नारा गुञ्जायमान बनाइने बताएका थिए।
 

प्रकाशित: Jun 20, 2023| 19:25 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्