काठमाडौं- प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर यही शुक्रबार हुने भएको छ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुले संसद्मा प्रश्न गर्न लागेका हुन्।
आज बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबार हुनेगरी निर्धारण गरेको जानकारी दिएका छन्। उनले प्रधानमन्त्रीसागको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य संख्यालाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहनेगरी जम्मा १७ समूहमा विभाजन गरिएको बताए। यो महिना भने समूह १ मा रहेका प्रतिनिधिसभा सदस्यहरुको पालो रहेको उनले जानकारी गराए।
प्रधानमन्त्रीलाई सोध्ने प्रश्न आजै साँझ ५ बजेसम्म प्रतिनिधिसभाका सचिवसमक्ष लिखित रुपमा दिन सभामुखले प्रतिनिधिसभा सदस्यहरुलाई आग्रह गरेका छन्।