सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादीकै सांसदले भने- कूटनीतिक नियोगले काम गर्न सकेनन्, समीक्षा गरौं

माओवादीकै सांसदले भने- कूटनीतिक नियोगले काम गर्न सकेनन्, समीक्षा गरौं

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं- सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका सांसद् तथा पोलिटब्युरो सदस्य माधवप्रसाद सापकोटाले विभिन्‍न मुलुकमा रहेका नेपालका कूटनीतिक नियोग र मिसनहरूको क्षमता, सक्रियता र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको बताएका छन्। 

National life

विभिन्न मुलुकमा तैनाथ गरिएका ती मिसनहरूले नेपाली जनताको पक्षमा कति काम गरे, कुन क्षमता र सक्रियताका साथ काम गरे भन्‍ने प्रश्न उठेको सांसद सापकोटाको भनाइ थियो।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद सापकोटाले परराष्ट्र मन्त्रालयले आफ्ना कूटनीतिक नियोगहरूलाई सक्रिय बनाउनका लागि कति र कसरी काम गरेको छ भन्ने कुराको लेखाजोखा हुनुपर्ने बताए। उनले ती कूटनीतिक निकायको समीक्षा परराष्ट्र मन्त्रालयले गरिरहेको छ कि छैन भन्ने प्रश्न पनि गरेका थिए।

नेपालको प्रतिनिधित्व गर्ने कूटनीतिक नियोगहरूले सम्बन्धित देशमा रहेका नेपालीको पक्षमा काम गर्नुपर्ने उनको भनाइ थियो। 'कूटनीतिक नियोग र मिसनहरूका क्षमता, सक्रियता र पारदर्शिताका बारेमा गम्भीरतापूर्वक प्रश्न उठेका छन्। आजका दिनमा नियोगहरूले कूटनीति र श्रम कूटनीतिलाई कसरी लिइराखेका छन् ?,' उनले भने, 'श्रम स्वीकृति लिएर गएका श्रमिक नेपाली दाजुभाइ, दिदीबहिनीका बारेमा कति संवेदनशील, जिम्मेवार, तत्काल रेस्पोन्स गर्ने खालका नियोगहरू, मिसनहरू छन्? त्यसका बारेमा रेकर्डहरू निकालेर हेर्दा कसरी काम गरिरहेका छन्, त्यसको समीक्षा गरेका छौं।'

परराष्ट्र मन्त्रालयले ती नियोगहरूका बारेमा गम्भीर भएर लाग्नुपर्ने सापकोटाले बताए। उनले भने, 'हाम्रा नियोगहरू श्रम स्वीकृति लिएर गएको ठूलो जनसंख्याप्रति जिम्मेवार र संवेदनशील बनाउनका लागि परराष्ट्र मन्त्रालय ज्यादा संवेदनशील हुनुपदर्छ।'

प्रकाशित: Jun 19, 2023| 18:31 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्