काठमाडौं- सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन्।
चार कम्युनिष्ट घटकले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवादी मोर्चा घोषणा गरेका हुन्।
राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा नेपालको सहमतिपत्रमा संयुक्त हस्ताक्षर गरेका छन्। मोर्चाले १५ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ।काठमाडौं- सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन्।
चार कम्युनिष्ट घटकले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवादी मोर्चा घोषणा गरेका हुन्।
राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा नेपालको सहमतिपत्रमा संयुक्त हस्ताक्षर गरेका छन्। मोर्चाले १५ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ।
घोषणा सभालाई चारै दलका शीर्ष नेताले सम्बोधन गरेका छन्। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब समाजवादी मोर्चाले सडक र सदन दुवै ठाउँबाट नयाँ अभियान अघि बढाउने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रिया उल्ट्याउने खेल भइरहेको बताउँदै परिवर्तन र संघीयतासहितका उपलब्धि उल्ट्याउन खोज्नेविरुद्ध अब समाजवादी मोर्चाले सडक र सदनबाट डटेर नयाँ अभियानको थालनी गर्ने बताएका छन्।
उनले समाजवादी मोर्चा संघीय गणतन्त्रका पक्षधरहरूप्रति परिलक्षित नरहेको पनि बताएका छन्। उनले हतारमा पार्टी एकता गरेर व्यवहारमा सफल गर्न नसकेको विगतलाई समीक्षा गर्दै एकता र स्वतन्त्रताको द्वन्द्वात्मक बाटोबाट समाजवादी मोर्चा जन्मिएको बताए। देशलाई फेरि निरंकुशतातिर फर्काउन चाहनेविरुद्ध मोर्चाले नयाँ ढंगबाट क्रान्ति गर्ने बताए।
‘यो मोर्चा कुनै परिवर्तनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग समुदायको अधिकारका पक्षधरहरूका विरुद्ध परिलक्षित छैन,’ प्रधानमन्त्री दाहालले अघि भने, ‘बरु यो समाजवादी मोर्चा सबैलाई समेटेर नयाँ शिराबाट देशको राष्ट्रिय एकता, स्वाधीनता र जनताको हक अधिकारलाई सुनिश्चित गर्ने, समाजवादको नयाँ युगतिर लैजाने गम्भीर जिम्मेवारीबोधसहित यो मोर्चा गठन भएको हो।’
उनले विगतमा दलहरूबीच हतारमा एकता गरेर पार्टी घोषणा गर्दा समस्या भएको भन्दै अहिले त्यहीबाट सिकेर चारवटा दलहरूबीच एकता र स्वतन्त्रताको द्वन्द्वात्मक बाटोबाट मोर्चालाई अघि बढाउने निर्णयमा पुगेको बताए। उनले मोर्चा शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नदिने र बिथोल्न खोज्नेहरूका लागि चुनौतीका रुपमा रहेको समेत बताए।
‘मैले हिजो नेकपा गठनका लागि प्रस्तावकको भूमिका खेलेको थिएँ। जनता र आम कार्यकर्ताको अपार मायाका बाबजुद हामीले त्यो पार्टीलाई बचाउन सकेनौँ, झन्डै दुई तिहाईमा पुगेका जनसमर्थनलाई हामीले बचाउन सकेनौँ, म अहिले कसैलाई आरोप लगाउन चाहन्नँ,’ उनले भने, ‘त्यो बेला हामीले पार्टी एकता नै गर्ने हतारो पो गरेछौँ कि ? भन्ने लागिरहेको छ। तर‚ यसपटक त्यस्तो हतारो छैन, हामीले सुझबुझपूर्णरुपमा लामो छलफलपछि मोर्चा बनाउने निर्णयमा पुगेका छौँ।’
उनले अब चार दलले संयुक्त प्रयासबाट समाजवादी समाज निर्माणका लागि बृहत् शक्ति सञ्चय गर्ने प्रयास भइरहेको बताए। ‘समाजवादी समाजका लागि बृहत् शक्ति सञ्चय गर्ने प्रयास भएको छ। अब हामीलाई कसैले रोक्न सक्दैन। हामीले एकता र स्वतन्त्रताको द्वन्द्ववादलाई प्रयोग गर्ने प्रयास गरेका छौँ,’ उनले भने, ‘एकता र स्वतन्त्रताको द्वन्द्ववादलाई प्रयोग गर्ने कोसिस गरेका छौँ। एकातिर हरेक पार्टीको स्वतन्त्रताको रक्षा होस्, देश र जनताको अगाडि विद्यमान समस्या समाधानका लागि एकताको आवश्यकता जुन छ, त्यसकालागि पनि हाम्रो पहल होस् भन्ने हिसावले हामीले यो प्रयास गरेका छौँ।’
नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सबै वामपन्थी शक्तिहरू एकताबद्ध भएर वैकल्पिक शक्ति बनाउनुपर्ने बताए। उनले चार दलले समाजवादी मोर्चा घोषणा गरेको भन्दै अब मोर्चाले देशमा रहेका सबै क्रान्तिकारी शक्तिहरूलाई एक ठाउँमा ल्याउन पहल गर्नुपर्ने बताए।
घोषणा सभामा बोल्दै नेता खनालले विगतमा भएका क्रान्तिले लिएका उद्देश्यअनुरूप प्रतिफल प्राप्त गर्न नसक्दा कम्युनिस्ट पार्टीहरू छताछुल्ल बनेको बताए। उनले भने, 'हामीले समाजवाद ल्याउने उद्देश्यसहित यो समाजवादी मोर्चा बनाएका छौँ। तर म ध्यानाकर्षण गराउन चाहन्छु कि यो मोर्चा सत्तालाई टिकाउने मोर्चामात्रै नबनोस्। यो मोर्चा साँचो अर्थमा सम्पूर्ण वामपन्थीलाई एकताबद्ध बनाउने मोर्चा बन्न सकोस्। यो देशमा रहेका सबै क्रान्तिकारीहरू, स्वाभिमानीहरू, आमूल परिवर्तन चाहनेहरू एक ठाउँमा आउन र ल्याउन सक्ने मोर्चा बनोस्। यो त्यसैका लागि चालिएको पहिलो पाइला हो। समस्त बामपन्थीहरूलाई एकताबद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन सक्दैन। मोर्चालाई अझै व्यापक बनाउनुपर्ने आवश्यकता छ।’
उनले देशमा अहिले पनि विगतमा कम्युनिस्ट आन्दोलनले उठाएका समस्याहरू कायम रहेको बताए। उनले भने, ‘अहिले पनि समाजमा जातीय भेदभाव छ, महिलामाथि हिंसा छ, भेदभाव छ। असमानता छ। अहिले पनि मिटरब्याजीपीडित किसानहरू जिल्ला जिल्लाबाट राजधानीमा आएर पीडा पोख्न बाध्य छन्। हामीले जसरी समस्याहरूलाई किनारा लगाउनुपर्ने थियो, त्यो हुन सकेन, यस्तो किन भयो ?’
उनले देश बिस्तारै रेमिट्यान्समा निर्भर हुने अवस्था रहेको बताए। ‘कृषिलाई आधुनिकीकरण गर्नुपर्ने थियो, त्यो हुन सकेन। यो अवस्था किन आयो ? हामीले गम्भीर भएर सोच्नेबेला आएको छ। कहिलेसम्म कुन सरकार टिक्छ भनेर घोत्लिनुपर्ने स्थिति छ। आर्थिक रुपमाले देश जर्जर भएर गइरहेको छ। देश कृषिप्रधान होइन, रेमिट्यान्स प्रधान देश हुन लागिरहेको छ,’ उनले भने।
जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रगतिशील शक्तिहरू एकताबद्ध भएर परिवर्तनलाई अगाडि बढाउन समाजवादी मोर्चा गठन गरिएको बताए। यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउनका लागि समाजवादी मोर्चा गठन भएको बताएका हुन्।
विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त परिणामको रक्षा गर्नका लागि परिवर्तनकारी राजनीतिक दलहरू एक ठाउँमा आएर समाजवादी मोर्चा गठन गरिएको यादवले बताए। राजनीतिक परिवर्तन भए पनि जनताको जीवनमा त्यसको अनुभूति हुन नसकेको कुरा उल्लेख गर्दै उनले सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने बताए। 'प्रगतिशील, क्रान्तिकारी शक्ति जसले परिवर्तनलाई अगाडि बढाउन सकोस् ती शक्तिहरू मोर्चाबद्ध भएर अगाडि बढ्ने प्रयासस्वरुप यो मोर्चा निर्माण गरिएको हो। राजनितिक रूपले धेरै कार्य गर्न बाँकी छ। विगतमा गरिएका धेरै कमिकमजोरी र गल्तीहरू सच्याउँदै अगाडि बढ्नुपरेको छ,' उनले भने।
शासन प्रणाली बदलिए पनि शासकको कार्यशैलीमा परिवर्तन भई जनताको जीवनमा त्यसको प्रभाव देख्न नपाइएको अध्यक्ष यादवको भनाइ थियो। उनले भने 'विभिन्न आन्दोलनको परिणाम नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुनपुग्यो। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि नेपालका उपेक्षित, शोषित, पीडित जनताले अझैपनि त्यो परिवर्तनलाई अनुभूति गर्न पाएको अवस्था छैन।'
समाजवादी मोर्चाको उद्देश्य गणतन्त्रलाई संस्थागत गर्ने, संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता, मौलिक हकजस्ता उपलब्धि सुनिश्चित गर्ने रहेको पनि अध्यक्ष यादवको भनाइ थियो। विभिन्न शक्तिहरूले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने षडयन्त्र गरिरहेको अध्यक्ष यादवको भनाइ थियो। ती प्रयासहरूलाई विफल पार्नका लागि समाजवादी मोर्चा एकताबद्ध भएर अगाडि बढ्ने उनको भनाइ थियो। उनले संसद् र सडकबाट समान विचारमा लड्ने बताए।
'गणतन्त्र, संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता, मौलिक हकजस्ता कुरा आज विभिन्न क्षेत्रबाट प्रतिगमनकारी शक्तिहरू र तिनका मतियाहरूबाट धरापमा पार्ने, समाप्त पार्ने र पुरानैतर्फ फर्काउने प्रयास भइरहेका छन्। ती प्रयासलाई असफल पार्दै उपलब्धिलाई रक्षा गर्ने मोर्चाको उद्देश्य हो,' उनले भने, 'ती उपलब्धिहरूलाई हासिल गर्न जनसंघर्ष, संसद्को माध्यमबाट प्राप्त गर्न हामी सहमत भएका छौं।'
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रतिगामी र पश्चगामीहरूलाई रोक्नका लागि चार दलले समाजवादी मोर्चाको घोषणा गरेको बताए। उनले नेपालको राजनीतिक इतिहासमा यो नयाँ मोड र नयाँ राजनीतिक सुरूआत भएको दाबी गरे।
घोषणासभामा उनले भने, ‘हामी चार राजनीतिक दलमा लामो छलफलपछि सबैको शुभेच्छा र चाहनाअनुरूपको समाजवादी मोर्चा घोषणाको मोडमा आइपुगेका छौँ। मुलुकलाई यो परिस्थितिबाट, यो संकटबाट मुक्त गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य छ। कुनै पनि मूल्यमा प्रतिगामी र पश्चगामीहरूलाई फाइदा उठाउन दिनुहुँदैन। यो संकटबाट मुलुकलाई मुक्त गर्नुपर्छ भनेर हामीले इतिहासमा एउटा नयाँ प्रयोग गरेका छौँ।’
उनले नेपालमा विभिन्न चरणमा भएका आन्दोलन र क्रान्तिहरूका बाँकी सपनाहरू पूरा गर्नका लागि समाजवादी मोर्चा बनेको बताए। ‘हामीले भर्खरै सात बुँदे घोषणापत्र र सहमतिपत्रमा हस्ताक्षर गरेका छौँ। यसले पक्कै पनि नयाँ आशाको सञ्चार गर्नेछ,’ उनले भने, ‘यो देशमा पश्चगामीहरूको, प्रतिगामीहरूको नेतृत्व अब स्वीकार्य छैन। देशको नेतृत्व अग्रगामीहरूले गर्ने हो। स्वाभिमानीहरूले गर्ने हो।’ उनले अझै पनि समाजमा व्याप्त असमानताको अन्त्य र अधिकारको सुनिश्चतता हुन नसकिरहेको बताए।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार, सदन र सडकबाट जनताको आवाज बुलन्द बनाउन समाजवादी मोर्चा गठन गरिएको बताए। अध्यक्ष नेपालले सडक, सदन र सरकारमा समाजवादको नारा गुञ्जायमान बनाइने बताए।
उनले भने, ‘हामी सडक, सरकार र सदनलाई समाजवादको नाराले गुञ्जायमान बनाउन चाहन्छौँ। सरकार र सदनमा मात्रै होइन जनताले अब हामीलाई आफ्नो गाउँमा पाउनेछन्।’ नेपालले समाजवादी मोर्चा कसैलाई घुर्क्याउन र तर्साउन गठन नगरिएको बताए। ‘हामीमा कुनै संकीर्णता र आग्रह पनि छैन। मैले सुनिरहेको छु– केही केही नेताहरूलाई परेको रहेछ कि यो मोर्चा बन्नुमा दुई वटा कुरा छ। यो मोर्चा कसैलाई तर्साउन र कसैको मुकाबिला गर्न, कसैलाई तर्साउन बनाएको होइन,’ उनले भने।
उनले सबै सकारात्मक शक्तिलाई एकताबद्ध गर्न मोर्चा बनाएको भन्दै मोर्चाले समाजवाद निर्माणको वातावरण, सुशासन कायम गर्न र विकृतिको अन्त्य गर्न एकताबद्ध भएर अघि बढ्ने संकल्प गरेको बताए। ‘कुनै पार्टीलाई घुर्क्याउन, तर्साउन होइन। ढुक्क हुनुस्, जो समाज आमूल परिवर्तनको पक्षमा छैनन् उनीहरू तर्सिन्छन्। अरू ढुक्कले सुते हुन्छ’, अध्यक्ष नेपालको भनाइ छ। नेपालले मोर्चा स्वार्थले नबनेको भन्दै सिद्धान्तहीन र बिचारहीन पनि नभएको बताए।
‘यसको प्रस्ट उद्देश्य छ। त्यो उद्देश्य प्रतिगमन र यथास्थितिकाविरुद्ध परिवर्तनका लागि एकताबद्ध हुने, सम्पूर्ण देशभक्तहरू र समाजवादी शक्तिहरुलाई हामी एकताबद्ध बनाएर लान चाहान्छौं’, नेपालले भने, ‘देशभक्त शक्तिलाई हातेमालो र एकताबद्ध गर्न चाहन्छौ। अध्यक्ष नेपालले लामो समयअघि नै मोर्चा निर्माण गर्ने सोच बनाए पनि निर्वाचन लगायतका कारणले ढिलो हुन पुगेको बताए। उनले विप्लवले आयोजना गरेको पार्टी स्थापनाबाट आफू प्रभावित भएको भन्दै त्यसपछि उनीसहितको शक्तिलाई एकै ठाउँमा गोलबन्द गर्ने प्रयास गरेको बताए। शब्द शब्दमा छलफल गरेर मात्रै मोर्चा गठन गर्न सकिएको भन्दै उनले हाल चार पार्टी मात्रै मोर्चामा भए पनि अन्य पार्टीहरूसँग पनि छलफल भइरहेको बताए।