काठमाडौं– मुलुकमा सुशासनका लागि स्थापित भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १० महिने अवधिमै करिब साढे २२ हजार उजुरी परेका छन्। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समिति बैठकमा हाजिर भएका अख्तियारका सचिव रामेश्वर दंगालले आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी परेको तथ्यांक प्रस्तुत गरेका हुन्।
तीमध्ये करिब आधा अर्थात् १२ हजार ५९२ उजुरी मात्रै फस्र्योट भएको उनले बताए। २३० वटा मुद्दामा पुनरावेदन गराएको उनले बताए। २०७९/८० मा जम्मा ३०.७ प्रतिशत कसुर स्थापित भएको उनले समिति सदस्यसमक्ष तथ्यांक प्रस्तुत गरे। सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा ८८.२४ प्रतिशत कसुर स्थापित भएको सचिव दंगालको भनाइ छ।
प्रतिशतका हिसाबले सबैभन्दा बढी उजुरी फस्र्योट २०७८/७९ मा ७०.५६ प्रतिशत र सबैभन्दा कम २०७९/८० मा ५६.३३ प्रतिशत मात्रै भएको छ। २०७४/७५ मा १९४८८, २०७५/७६ मा २४०८५, २०७६/७७ मा २५१५२, २०७७/७८ मा २२६२५ र २०७८्७९ मा २४३३१ उजुरी दर्ता भएको सचिव दंगालले विवरण पेस गरे।
बैठकमा सहभागी अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी नुन खाने जनशक्तिले खुलेयाम अवैध आर्जन गरिरहे पनि केही गर्न नसकिएको बताएका छन्। सरकारी कार्यालयमा कर्मचारीले सेवाग्राहीसँग खुलेआम घुस माग्ने गरेको तर आफूहरुले कारबाही गर्न नसकेको उनले स्वीकारका हुन्।
मालपोत र यातायात कार्यालयमा जाँदा कर्मचारीले घुसको मोलमोलाइ गरिरहेको भेटिए पनि अख्तियारले केही गर्न सक्ने अवस्था नरहेको उनले बताए। ‘हजुरहरु यातायात कार्यालय जानुस्, मालपोत कार्यालय जानुस्। अथवा अन्य सरकारी निकाय जहाँ सरकारी सेवा उपलब्ध गराइराखेको छ, त्यहाँ जानुस्। खुलेआम कर्मचारीले नागरिकसँग पैसा मागिराखेको हुन्छ। मोलमोलाइ गरिराखेको हुन्छ तर हामी केही गर्न सक्दैनौं,’ अख्तियार प्रमुखले भने।
घुस नियन्त्रणमा गर्न नसक्नु कारण उनले सर्वोच्च अदालतलाई औंल्याए। ‘सर्वोच्चले स्टिङ अपरेसन अवैधानिक भनेपछि अख्तियारले सरकारी निकायमा हुने खुलेआम घुसखोरी रोक्न नसकेको हो। मसँग पैसा मागेको छ, पैसा म लगेर दिन्छु, समात्नुस् भनेर दैनिक दुई÷तीन जना आउँछन्। हारगुहार गरिराखेका हुन्छन्। हामीले केही गर्न सक्दैनौं’, उनले भने।
सरकारी सेवा लिने कार्यालयमा अहिले पनि सहज रुपमा काम नभएको राईले बताए। उनले भने, ‘नागरिकता र पासपोर्ट लिन गइराखेको हुन्छ। त्यहाँ कसैको छिटो होला एक्सेस छ भने, कसैको ढिलो होला एक्सेस छैन भने। कसैले मोलाहिजा ग¥यो भने छिटो होला । यो खाले प्रवृत्ति छ। हामीले केही गर्न सकेनौं।’