काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दैनिक दुई लाख जनालाई कोभिड खोप लगाउने योजनाका साथ काम भइरहेको बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले सबै नेपाली नागरिकलाई खोप उपलब्ध गराउन साढे पाँच करोड डोज खोप आवश्यक पर्ने जानकारी दिए। ‘हामीलाई पाँच करोड ५० लाख खोप आवश्यक पर्ने देखिएको छ। पूर्ववर्ती सरकारले ९७ लाख सुनिश्चित गरेको थियो। त्यसमध्ये असार मसान्तसम्ममा ४२ लाख खोप लगाइएको थियो।’ उनले हिजो बुधबारसम्म देशभर ७५ लाखलाई खोप लगाइएको जानकारी दिए।
उनले पछिल्लो एक हप्ताको तथ्यांक हेर्दा कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै सबैले सचेत हुनुपर्ने बताए। अस्पतालको स्तर वृद्धि गरेर अघि बढ्ने सरकारले योजना बनाएको भन्दै उनले आगामी दिनमा निजी क्षेत्रसँगको साझेदारीमा खोप कार्यक्रम अघि बढाइने जानकारी दिए। खोपलाई नाफामूलक भन्दा सेवामूलक बनाउनेतर्फ ध्यान दिने उनको भनाइ थियो।
कोरोनाको सम्भावित तेस्रो लहरबाट बच्न सरकार गम्भीर रहेको उनले बताए। ‘सरकार गम्भीर छ र त्यसैअनुसार योजना योजना बनाइरहेको छ। तेस्रो लहरमा बालबालिका धेरै प्रभावित हुने देखिएकाले हामीले विभिन्न अस्पतालमा आवश्यक बेडको व्यवस्था गर्न निर्देशन दिइएको छ,’ उनले भने।
सांसदहरुले कोभिड खोप होटल, किराना पसलमा भेटिएको कुरा उठाएपछि त्यसको जवाफमा राज्यमन्त्री श्रेष्ठले भने, ‘मैले नै अनुगमन, निरीक्षण गरेको छु। कुनै होटलमा खोप भेटिएको छैन। खोप कति आयो, कति लगाइयो, अनुदानमा कति आयो, कति खरिद गरिएको हो, सबै कुरा प्रष्ट भनिसकेको छु।’ भारतसँग सीमा जोडिएको क्षेत्र, ठूला सहर, भिडभाड हुने क्षेत्र आदि खोपको प्राथमिकतामा रहेको उनले बताए। ‘ठाउँठाउँमा संक्रमण बढेको छ। संक्रमण बढेको ठाउँमा खोप पनि बढाउँछौं। परीक्षण पनि हामी बढाउँछौं। सरकारी अस्पतालमा निःशुल्क परीक्षण गर्नका लागि पनि हामीले योजना बनाइरहेका छौं,’ राज्यमन्त्री श्रेष्ठले भने।
१२ देखि १८ वर्षसम्म उमेर समूहका लागि पनि खोप व्यवस्थापनको प्रक्रिया सरकारले अघि बढाइसकेको उनले बताए।
प्रकाशित: Aug 12, 2021| 14:22 बिहीबार, साउन २८, २०७८