बुधबार, वैशाख १७, २०८२

बाढीपहिरो अपडेट: ५ को मृत्यु, २८ जना बेपत्ता

दर्जनौं घर क्षतिग्रस्त भएका छन् भने सडक, पुललगायतका संरचना बग्दा यातायात सम्पर्क प्रभावित भएको छ।
 |  सोमबार, असार ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

vianetvianet

काठमाडौं- शनिबार रातिको बाढीपहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा पाँच जनाको ज्यान गएको छ भने २८ जना बेपत्ता छन्। दर्जनौं घर क्षतिग्रस्त भएका छन् भने सडक, पुललगायतका संरचना बग्दा यातायात सम्पर्क प्रभावित भएको छ। निर्माणाधीन र निर्माण सकिएका १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ।

triton college

बाढीपहिरोमा परी पाँचथरमा दुई तथा संखुवासभा र ताप्लेजुङमा एक–एक जनाको मृत्यु भएको छ। यस्तै, धनकुटाको छथर जोरपाटी–४ तेलियास्थित तमोर नदी किनारमा आइतबार साँझ एक महिलाको शव फेला परेको छ। उनसको सनाखत हुन सकेको छैन। संखुवासभामा २१, पाँचथरमा ४ र ताप्लेजुङमा ३ जना बेपत्ता छन्।

संखुवासभामा हेवा खोलाको बाढीले पाँचखपन नगरपालिका–९ का सन्तोष राईको ज्यान लिएको छ। चैनपुर नगरपालिका–४ मा निर्माणाधीन ६ मेगावाटको सुपर हेवा हाइड्रोपावरका १८ जना सम्पर्कविहीन छन्। उक्त हाइड्रोपावरको संरचना पूर्ण रूपमा क्षतिग्रस्त छ। हाइड्रोपावरमा कार्यरत राजेश श्रेष्ठ, टीकाराम थारू र दीपकराज थारू घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

चैनपुर–४ र पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढीले जनधनको क्षति गरेको हो। बाढीले पाँचखपन र चैनपुर जोड्ने मोटरेबल पुल पनि बगाएको छ। खोला किनार आसपासका ८ घर बगेका छन्। सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता छन्।

ताप्लेजुङमा पहिरोमा परेका ६३ वर्षीया भगीमाया, ३३ वर्षीया सन्ध्या र ९ वर्षीय प्रज्वल बुढाक्षत्री भेटिएका छैनन्। बाढीपहिरोले जिल्लाभर ५१ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्लाभरमा तीन पक्की पुल र पाँच झोलुंगे पुलमा क्षति पुगेको छ। सात सरकारी कार्यालय र एक विद्यालयमा क्षति पुगेको छ। पहिरोले सिदिङवा–६ स्थित स्वास्थ्य चौकी बगाएको छ। 

National life insurance

छिमेकी जिल्ला पाँचथर, तेह्रथुम र संखुवासभासँग सडक सञ्जालले जोडिएको हिमाली जिल्ला ताप्लेजुङसँगको सडक सम्पर्क आइतबार बिहानदेखि टुटेको छ। तमोर नदीमा आएको बाढीले तेह्रथुम र संखुवासभासँगको सम्बन्ध टुटाएको छ। हेवाखोलामा पुल बग्दा पाँचथर सदरमुकाम फिदिम हुँदै इलाम–झापा झर्ने यातायात अवरुद्ध भएको छ।

बाढीले पाँचथर–तेह्रथुम जोड्ने तमोर करिडोरको बेलिब्रिज पनि बगाएको छ। मेची राजमार्गमा पर्ने हेवाखोलाको पुल बाढीले बगाएपछि मानिस र गाडी पारिका पारि र वारिका वारि नै अड्किएका छन्। झापाको बिर्तामोड र सुनसरीको धरानबाट खाद्यान्नसहित दैनिक उपभोग्य र निर्माणका सामग्री बोकेका गाडी बाटैमा रोकिएका छन्। 

बाढीले पाँचथरका फिदिम, हिलिहाङ, याङवरक र फालेलुङमा ६ पक्की र ७ वटा झोलुंगे पुल बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। याङवरक र फालेलुङमा दर्जन घर बगेका छन्। आइतबार साँझसम्म २४ घरपरिवार विस्थापित भएका छन्।

हेवाखोलाले बगाउँदा फिदिम–५ घर भई हाल फिदिम–४ मा बस्दै आएका ५५ वर्षीय राजकुमार राई, हिलिहाङ–७ का २७ वर्षीय आशिष माझी र उनकी २५ वर्षीय पत्नी एलिसा माझी बेपत्ता भएका छन्।

पहिरोले पुर्दा घाइते भएकी फालेलुङ–३ की ९ वर्षीया जुना सावदेनको मृत्यु भएको छ। मध्यरातमा घर माथिबाट आएको पहिरोमा उनी पुरिएकी थिइन्। झन्डै ७ घण्टापछि स्थानीयले उद्धार गरेर उनलाई सदरमुकाम ल्याएका थिए। जिल्ला अस्पतालमा उनलाई मृत घोषणा गरेएको हो।  

प्रकाशित: Jun 19, 2023| 06:38 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्