सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पैतृक सम्पत्तिजसरी बजेट आएको भन्दै सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न ओलीको निर्देशन

पैतृक सम्पत्तिजसरी बजेट आएको भन्दै सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न ओलीको निर्देशन

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशीबाहेक अन्य ६ वटा प्रदेश सरकारहरूले आर्थिक वर्ष २०८०/०८१ को बजेट पैतृक सम्पत्तिजसरी विनियोजन गरेको आरोप लगाएका छन्। उनले प्रदेशसभामा यस्तो बजेटको प्रतिवाद गर्न प्रदेश सांसदहरुलाई निर्देशन दिएका छन्।

National life

सातवटै प्रद‍ेशका सांसदहरूलाई आइतबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेटले सही बाटो नसमाएको उल्लेख गरेका छन्। बैठकलाई निर्देशनात्मक सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भने‚ 'देशको बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्छ तर त्यसरी नबनाई सरकारमा रहेका मानिसहरूको स्वार्थमा प्रेरित भएर बनाइएको छ, बजेट विनियोजन पैतृक सम्पत्तिजस्तो गरी मुख्यमन्त्री, अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर दुरुपयोग गरेका छन्।'

अध्यक्ष ओलीले बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न निर्देशन दिएको प्रचार विभाग सचिव गगन विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन ओलीले निर्देशन दिए। पार्टी प्रतिपक्षमा रहेको अवस्थामा पनि सही बजेट ल्याउनका लागि सहयोग गर्न भन्दै अध्यक्ष ओलीले सातै प्रदेशको प्रस्तुतिपछि कोशी प्रदेशबाहेक बजेट यथास्थितिमा पास गर्न लायक नरहेको उल्लेख गरे।

अध्यक्ष ओलीले कोशी प्रदेश नामकरण र त्यसपछि उत्पन्न परिस्थितिका सन्दर्भमा पनि पार्टीका धारणा राखेका थिए। प्रदेशसभाको दुईतिहाईले विधिवत् ढङ्गले निर्णय गरेको कोशी नामाकरणलाई लिएर झमेला निकाल्न खोजिएको बताउँदै कोशी सभ्यतासँग जोडिएको र यसले त्यस प्रदेशलाई सम्पूर्णरूपमा समेट्ने उल्लेख गरे।

अध्यक्ष ओलीले संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर अनुचित ढङ्गले नाम परिवर्तन नहुने र साम्प्रदायिक, हिंसात्मक र अराजक गतिविधि एमालेलाई स्वीकार्य नहुने बताए। कोशी प्रदेश सरकारमा देखिएको समस्या समाधान गरिने र नेकपा (एमाले) नेतृत्वको सरकार कायम रहने दाबी गरे।

बैठकमा प्रदेशसभा नेकपा (एमाले) संसदीय दलका नेताहरूले आ–आफ्ना प्रदेशमा सरकारद्वारा प्रस्तुत नीति, कार्यक्रम र बजेटका सम्बन्धमा जानकारी गराएका थिए।

प्रकाशित: Jun 18, 2023| 20:10 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्