NadaNada
बिहीबार, भदौ ५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपाको दस्तावेजमै चरम असन्तुष्टि, बोलाइयो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

रास्वपाको दस्तावेजमै चरम असन्तुष्टि, बोलाइयो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

 |  आइतबार, असार ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

vianetvianet

काठमाडौं- संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो वार्षिकोत्सवको अवसरमा सार्वजनिक गर्ने भन्दै मस्यौदा गरिएको नयाँ दस्तावेजमा चरम असन्तुष्टि देखिएपछि पार्टीको बैठक बोलाइएको छ। 

पार्टीका नीति तथा विचार विभाग प्रमुख तथा महामन्त्री मुकुल ढकाल नेतृत्वको समितिले ‘नयाँ युगको संकल्प’ भन्दै नयाँ दस्तावेजको मस्यौदा अघि सारेको थियो। दस्तावेज लेखन समितिमा केन्द्रीय सदस्य रमेश प्रसाईं र कमल सुवेदी छन्। त्यसलाई पार्टीकै सदस्यले 'काम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर' भन्ने उखान सुहाउँदो भएको भन्दै आलोचना गरेका थिए। 

'पार्टीका नीति तथा विचार विभाग प्रमुखका हिसाबले राजनीतिक कार्यदिशा, कार्ययोजना र मार्गदर्शक तय गर्नु अनौठो कुरा होइन। तर दस्तावेज ल्याउने बेला यो हो कि होइन भनेर व्यापक छलफल भएको छ,' एक केन्द्रीय सदस्यले भने, 'केही वैचारिक अस्पष्टता छन् भने त्यसलाई प्रष्ट्याउनु राम्रै हो। तर विचारै यही हो भनेर ल्याउनु ठीक भएन भन्ने नै धेरैको धारणा छ।'

'इतिहासप्रति उहाँको बुझाइ सतही देखिन्छ। उहाँको दस्तावेजमा हाम्रो इतिहास गर्विलो छ भन्ने उल्लेख छ। कसरी के आधारमा गर्विलो छ भनेर व्याख्या-विवेचना गरिएको छैन। दस्तावेजमा कतै पनि नागरिक, नागरिकले गरेका संघर्ष भेटिँदैन। प्रजातन्त्र, बहुदलीय व्यवस्था हुँदै गणतन्त्र प्राप्तिसम्म भएका संघर्ष आँखा चिम्लिएर कसरी दस्तावेज पूर्ण हुन सक्छ,' सदस्यहरूले राखेका धारणा उद्धृत गर्दै एक नेताले भने, 'यस्ता कुरा राखेर पार्टीमा नयाँ विचार दिएँ भनेर आत्मरति त गर्न सकिएला तर अहिले मदन भण्डारी बन्ने बेला होइन, सेवा प्रवाह चुस्त र व्यवस्थित बनाउने र यतापट्टि ध्यान दिने समय हो।'

महामन्त्री ढकालले छलफलका लागि प्रस्ताव गरेको दस्तावेजमा शासकीय स्वरूप परिवर्तनको कुरा छ। संसदबाट निर्वाचित हुने प्रधानमन्त्रीको सट्टा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विचार अघि सारिएको छ। पार्टीका कतिपय सांसदहरूले यसमा चाहिँ धेरैको विमति नरहेको बताए। पार्टीको घोषणापत्रमै उल्लेख गरेको कुरा दस्तावेजमा व्याख्या गर्न खोजिएको उनीहरूले तर्क गरे।

Metro Mart

दस्तावेजको पुनर्लेखन गर्नुपर्ने भएको भन्दै चर्को आलोचना हुन थालेपछि केन्द्रीय कमिटीमा नै छलफल गर्ने उद्देश्यले पार्टीको बैठक बोलाइएको छ। केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक असार ४ गते सोमबार बिहान ७ बजेदेखि बैठक बस्‍ने बताइएको छ। 

७ असारमा रास्पवा स्थापना भएको एक वर्ष पुग्दैछ। ७ असारमा गठन भएको रास्वपा १७ असारमा निर्वाचन आयोगमा दर्ता भएको थियो। पार्टी स्थापना भएको अवसरमा ७ असारमा चियापानको आयोजना गरिएको छ। साथै, सोही दिन केन्द्रीय कार्यालय बालाजुमा सार्न लागिएको छ।

प्रकाशित: Jun 18, 2023| 19:26 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्