NadaNada
बिहीबार, भदौ ५, २०८२

मनसुनलगत्तै पूर्वमा बाढीपहिरोको वितण्डा

कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ र संखुवासभामा बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको छ।
 |  आइतबार, असार ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

vianetvianet

काठमाडौं- मनसुन भित्रिएको साता दिन पनि नपुग्दै पूर्वी पहाडी जिल्लाहरु बाढीपहिरोको चपेटामा परेका छन्। कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ र संखुवासभामा बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको छ।

पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी पाँच जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन्। उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ।

यस्तै, फिदिम –४ र हिलिहाङ–७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन्। स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। बाढीले फिदिम–४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ।

बाढीले याङवरक गाउँपालिका–२ फलैंचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ। यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ। फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलीब्रिज) बाढीले बगाएको छ।

Metro Mart

यस्तै फालेलुङ गाउँपालिका वडा नं ३ र ७ को सीमामा रहेको एउटा तथा सोही गाउँपालिका वडा नं ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ। सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा ‘स्काभेटर’ पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन्। वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ भने फिदिम–३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ।

वर्षाका कारण सडक बगाएपछि फिदिम–यासोक सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा सडक अवरुद्ध भएको छ। यस्तै फाल्गुनन्द–७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ। बाढीले याङवरक–२ मा दुईवटा र फालेलुङ–३ र ५ को सीमाको एक झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा क्षति गरेको छ। क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

सडक सम्पर्क विच्छेद
भीषण वर्षापछि आएको बाढीले हेवाखोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ।

गए राति भीषण वर्षा भएपछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गको फिदिम –४ र हिलिहाङ–७ जोड्ने हेवाखोला पुल बगाएको छ। बाढीले ५४.५२ मिटरको उक्त पुल बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

badhi1687053849.jpg
२०४२ सालमा बनेको यो पुल बाढीका कारण हालसम्म कहिल्यै जोखिममा समेत परेको थिएन । तर गए रातिको बाढीले तीन स्पान रहेको पुलका सबै संरचना बगाएको हो। यस्तै तमोर करिडोर सडकअन्तर्गत तीन वर्षअघि हेवाखोलामै निर्माण भएको माझीटारस्थित बेलीब्रिज (फलामको पुल) पनि बाढीले बगाएको छ।

फिदिम–४ र हिलिहाङ –७ लाई जोड्ने बेलीब्रिजका सबै संरचना बाढीमा बगेका छन्। दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर करिडोर सडकबाट ताप्लेजुङ जिल्ला तथा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकासँगको सडक सम्पर्क विच्छेद भएको छ। सडक सम्पर्क विच्छेद भएपछि आकस्मिक बिरामीलाई अस्पतालसम्म पुर्याउने कार्य चुनौतीपूर्ण भएको छ । यस्तै यस क्षेत्रमा उत्पादन हुने दुग्धजन्य उत्पादन र सागसब्जी खेर जाने अवस्था आएको  ।

बेपत्ताको खोजी तीव्र
ताप्लेजुङमा शनिबार राति गएको पहिराले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ। प्रहरीका अनुसार आज बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी तीव्र पारिएको हो।

निरन्तरको वर्षासँगै गए राति गएको पहिराले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेले भालुखोपका एकै परिवारका तीनसमेत चार जना बेपत्ता भएका छन्। मेहेलेका स्थानीय यादव बुढाथोकीकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्जवल बेपत्ता भएका हुन्।

यस्तै सोही स्थानका गणेश तामाङलाई पनि पहिराले बगाएर बेपत्ता भएको छ।  बेपत्ता हुनेको अहिले खोजी सुरु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। उनका अनुसार बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटेको छ।

यता वर्षाको क्रम निरन्तर रहेकाले पहिराले पुरिएर बेपत्ता हुनेको खोजी तथा अन्य जोखिममा परेकाको उद्धारको कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्। मौसम प्रतिकूल भए पनि बेपत्ता हुनेको खोजी र जोखिममा परेका परिवारको उद्धारमा सम्बन्धित स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरेर सुरक्षाकर्मी खटिसकेको उनले जानकारी दिइन्।

यसैगरी चार दिनदेखिको निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी पहिराले मानव बस्तीलाई जोखिम बनाएको छ भने ठाउँ–ठाउँमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ। स्थानीयका अनुसार सिदिङ्वा गाउँपालिका–३ आङ्खोपका प्रेमकुमार सेलिङसहितको तीन घर पहिराले बगाएको छ । त्यस्तै अन्य तीन घर उच्च जोखिममा परेको शिक्षकसमेत रहेका स्थानीय चैतन्यप्रसाद बुडाक्षेत्रीले जानकारी दिए।

यस्तै सिरिजंघा गाउँपालिका–८ याम्फुदिनमा स्थानीय जगतबहादुर राईको होटल (कटेज) काबेली खोलामा आएको बाढीले पुरेको छ। स्थानीय मनकुमार राईका अनुसार हाल याम्फुदिनका करिब १५ परिवार बाढीपहिराको उच्च जोखिमका कारण विस्थापित भई सुरक्षित स्थानमा रहँदै आएका छन्।

त्यस्तै तमोर नदी र मैवाखोलामा आएको बाढीले मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजार पनि जोखिममा परेको स्थानीयले बताएका छन्। दोभान बजारका स्थानीय टंकप्रसाद खतिवडाका अनुसार तीनवटा घर उच्च जोखिममा परेको छ।

मैवाखोला गाउँपालिका–६ फाकुम्बामा पनि केही घर पहिराको जोखिममा परेका स्थानीयले बताएका छन्। ताप्लेजुङको सदरमुकामसहित धरै क्षेत्रमा विद्युत अवरुद्ध भएको छ।
 
जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्यचौकी भवन, विद्यालय, सडक, मोटरेबल पुल, झोलुंगे पुललगायतका भौतिक संरचनामा समेत बाढीपहिराले क्षति गरेको प्रहरीले जानकारी दिएको छ । वर्षाका कारण शुक्रबारदेखि जिल्लामा बाढीपहिरो बग्न थालेको र बाढीपहिराले जनधनको क्षति पुर्याउन थालेको छ।

अहिले वर्षा निरन्तर भइरहेकाले जिल्लाको सबैतिरको क्षतिको यकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताइन्। उनले स्थानीय तहसमेतको समन्वयमा प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको पनि जानकारी दिइन्। प्रजिअ चेम्जोङले वर्षाको क्रम निरन्तर रहेकाले बाढीपहिरोबाट हुने क्षति तथा सम्भावित जोखिमप्रति सचेत रहनसमेत जिल्लावासीलाई आग्रह गरेकी छन्।

मेची राजमार्ग अवरुद्ध
मेची राजमार्गको ताप्लेजुङ–फिदिम खण्ड अवरुद्ध भएको छ। पाँचथरको हेवाखोलाको पुल बाढीले बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीले पुल बगाएको  हो। तमोर करिडोरका विभिन्न स्थानमा समेत बाढी र पहिराको प्रभाव रहेकाले समन्वय गरेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। हेवाखोलाको पुल बगाएपछि मेची राजमार्गको ताप्लेजुङबाट फिदिम–इलाम हुँदै झापा निस्कने सम्पर्क टुटेको छ।
 
प्रहरीका अनुसार इखोलामा रहेको बिबिएसल पुलसमेत पहिराले बगाएको छ। उता तमोरनदी र मैवाखोलामा बढेको पानीको बहावले नदी तटीय क्षेत्र दोभान बजार जोखिममा परेको छ। दोभान वारि–पारि हुने मोटरेबल पुल नजिक गएको पहिराले सडक अवरुद्ध गरेपछि आठराई–क्रिवेणी र मैवाखोला गाउँपालिकातर्फ जाने सडकको सम्पर्क विच्छेद भएको छ।

यस्तै सिरिजंघा गाउँपालिका–४ तेल्लोकस्थित बाघथलाका धनबहादुर थेवेको घरलाई बीचमा पारि गएको पहिराले बाँधथलाबाट गाउँपालिकाको कार्यालयतर्फको क्षेत्रमा समेत सडक अवरुद्ध भएको छ।

विभिन्न क्षेत्रका जलविद्युत आयोजनामा समेत बाढीपहिराले क्षति पुगेपछि गाउँघर अन्धकार बनेका छन्। रातभर ठूलो वर्षा भएको ताप्लेजुङमा बिहानदेखि केही सामान्य भएको छ । गए रातिको वर्षा, बाढी र पहिराले पुगेको क्षतिको थप विवरण प्रहरीले संकलन गरिरहेकाले यकिन विवरण आउन बाँकी छ।

संखुवासभामा एक जनाको मृत्यु, १६ सम्पर्कविहीन
संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाढीमा परेर बेपत्ता १८ जना बेपत्ता भएका थिए। त्यसमध्ये २ जना प्रहरीको सम्पर्कमा आएका छन्। १६ जना अझै सम्पर्कविहीन छन्। भेटिएको शवको पहिचान हुन बाँकी छ। चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढी आएको हो।

बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोपावरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हेवा हाइड्रोपावर काम गर्ने १६ मजदुर सम्पर्कविहीन छन्। खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको यकिन हुन बाँकी छ।

बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ। खोला किनार क्षेत्रमा–४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ।

प्रधानमन्त्रीको  ध्यानाकर्षण र निर्देशन
संखुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ। संखुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर जिल्लामा भएको क्षतिका बारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो।

भेटमा सांसद खड्काले संखुवासभामा आएको बाढीले दर्जनौं जलविद्युत गृहमा क्षति पुग्दा राज्यलाई अर्बौंको क्षति हुनुका साथै त्यहाँ कार्यरत मजदुरसमेत बेपत्ता भएको प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए। साथै उनले क्षतिको निरीक्षण गरी उद्धार र राहतका लागि सरकारबाट पहल गर्न आग्रह गरेका थिए।

भेटमा प्रधानमन्त्री दाहालले बाढी पहिराबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले बेपत्ता भएकाको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीलाई निर्देशनसमेत दिइसकेको बताए। बाढीले पुर्याएको क्षतिबारे अवलोकनमा जाने प्रधानमन्त्रीले जानकारी दिएको सांसद खड्काले जानकारी दिए। संखुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ भने सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७  मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ।

यसैबीच प्रधानमन्त्री दाहालले पूर्वी देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन्।

उनले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अंग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै सो अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल गरेका हुन्। प्रधानमन्त्री दाहालले बाढी पहिराका कारण भएको धनजनको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गरेका  छन्।

मनसुनको प्रभाव पूर्वी र मध्य भागमा
हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जेठ ३१ गते बुधबार नेपालको पूर्वी भेग भएर मनसुन प्रणाली भित्रिएको थियो। देशको कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन आगमन भएको महाशाखाले मनसुन आगमनसम्बन्धी विशेष बुलेटिन निकालेर जानकारी दिएको थियो।
     
मनसुन क्रमिक रुपमा फैलिरहेको र यो देशभर विस्तार हुन अझै एक साता लाग्ने महाशाखाले जनाएको छ। नेपालमा सरदर जुन १३ मा मनसुन भित्रन्छ। यसपालि एकदिन ढिला गरी मनसुन प्रवेश गरेको हो। पूर्वबाट झापा हुँदै नेपाल प्रवेश गर्ने मनसुन नेपालभर फैलिन केही दिन लाग्छ।

गए राति पूर्वी नेपालमा आएको भारी वर्षाका कारण बाढी र पहिरो आउँदा सङ्खुवासभामा १७ र पाँचथरमा पाँच जना बेपत्ता भएका छन्। बाढीले मेची राजमार्ग अवरुद्ध भएको जनाइएको छ।

प्रकाशित: Jun 18, 2023| 11:09 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्