काठमाडौं– कांग्रेस नेता, सांसद एवं बीपीपुत्र डा. शेखर कोइराला राजतन्त्रको पक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ठोकुवा गरेका छन्।
मिश्रले ‘विचारभन्दा माथि देश’ पुस्तक नेता कोइरालालाई हस्तान्तर गर्दै गरेको तस्बिरसहित शेखरको को भनाइ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। विचारभन्दा माथि देश पुस्तकका लेखक मिश्र हुन्। पुस्तकमा मिश्रले मुलुकमा राजतन्त्र आवश्यक भएको उल्लेख गरेका छन्।
मिश्रले कोइरालाको भनाइ अनुमति लिएरै सार्वजनिक गरेको बताएका छन्। कोइरालाको भनाइलाई आफ्नो विचारसँग मेल खाएको मिश्रले जिकिर गरेका छन्। मिश्रले यसलाई माहोल परिवर्तन हुँदै छ भनेर बुझ्न आग्रहसमेत गरेका छन्।
‘कांग्रेस नेता डा. शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो– म ‘राजा’लाई कहिल्यै ‘पूर्वराजा’ भन्दिनँ नि! मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दुराष्ट्रजस्ता अनेकौं डिब्बामा चढेर यात्रा गरिरहेका छौं। गन्तव्यमा चाहिँ एक जना मान्छे मुस्कुराएर पर्खिरहेछन्– ती हुन्, ‘राजा’, मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले सोधें– ‘तपाईंको यो भनाइ म उद्धरण गर्न सक्छु?’ उहाँले भन्नुभयो– किन नसक्नू? मैले सार्वजनिक रूपमै भनेको कुरा हो, यो।’