NadaNada
शुक्रबार, भदौ ६, २०८२

नक्कली शरणार्थी प्रकरणः बालकृष्णबारे अझै बोलेन कांग्रेस

नक्कली शरणार्थी प्रकरणमा दोषी पाइएपछि टोपबहादुर रायमाझी सांसद, एमाले पार्टी सचिवबाट निलम्बनमा परे पनि कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणबारे पार्टी नेतृत्वले अझै खोलेन मुख।
 |  शनिबार, असार २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

vianetvianet

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा डामिएका १८ मध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंले काराबास पठाएको छ।

यो प्रकरणमा पक्राउ परेका हाइप्रोपाइलमध्ये एमाले नेता, सांसद एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका सबै पद खुस्किए पनि पूर्वगृहमन्त्री एवं केन्द्रीय सदस्य बालकृष्ण खाणबारे कांग्रेस नेतृत्व अहिलेसम्म चुप छ। रायमाझीलाई पुर्पक्षका लागि थुना पठाइएपछि सांसद पद स्वतः निलम्बनमा परेको छ भने एमालेले सचिवबाट निलम्बित गरिसकेको छ।

सांसद नभए पनि कांग्रेस केन्द्रीय सदस्य  खाणको पदीय हैसियतमाथि भने नैतिक प्रश्न उठेको छ। खाणमाथि नक्कली शरणार्थी प्रकरणको आक्षेप लागेकै बेला उनलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने आवाज पार्टीभित्र उठे पनि सभापति शेरबहादुर देउवाले टेरपुच्छर लगाएनन्। खाण देउवाका दाहिना हात मानिन्छन्।

नक्कली शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले शुक्रबार पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ। एमाले सचिव रायमाझी वैशाखमै पदबाट निलम्बन परेका थिए।

बालकृष्ण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेलगत्तै २७ र २८ वैशाखमा बसेको कांग्रेस पदाधिकारी बैठकमा सहभागी धनराज गुरुङ, गगन थापा र विश्वप्रकाश शर्माहरुले अनुसन्धानलाई सहयोगी बनाइदिन र पार्टीको छवि जोगाउन खाणलाई निलम्बन गर्नुपर्ने धारणा राखे पनि सभापति देउवाले इन्कार गरेका थिए।

Metro Mart

यतिबेला देउवा सिंगापुरमा उपचारमा गएका छन्। खाण पक्राउ परेलगत्तै देउवाले नक्कली शरणार्थी प्रकरणमा सहभागी भएर खाणले पैसा कमाउन त्यसो गरेको आफूलाई नलाग्ने बताएका थिए। उनले आफू निकटसँग खाण निर्दोष रहेकाले धरौटीमा रिहा हुने बताइरहेका थिए ।

पार्टी पदाधिकारी वा केन्द्रीय सदस्य नैतिक पतन देखिने फौजदारी अभियोगमा पक्राउ वा जेल परे  पद के हुने भन्नेमा कांग्रेस विधान बोलेको छैन।यद्यपि विधानको धारा १३ ‘ङ’मा भने पार्टी सदस्यता नरहने अवस्थाबारे उल्लेख छ। ‘नैतिक पतन देखिने फौजदारी अभियोगमा अन्तिम अदालतबाट दोषी ठहर भए पार्टी सदस्य नरहने’ भनिएको छ।

कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार २७ वैशाखमा खाण पक्राउ परेपछि सभापति देउवाले निलम्बनको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका थिए। खाण पक्राउ परेपछि कांग्रेसभित्र उनलाई निलम्बन गर्नुपर्ने र गर्न नहुने दबाब पार्टी सभापति देउवालाई दिइएको थियो। देउवाले आफू पक्षधर खाणलाई निलम्बन गरेनन्।

कांग्रेसमा विभिन्न काण्डमा डामिएर जेल सजाय भोगेर पनि पार्टी राजनीतिमा सक्रिय भएका थुप्रै नमुना अनुहार छन्। विजयकुमार गच्छदार यसका ज्वलन्त उदाहारण हुन्। पछिल्लोपटक २०७५ माघ १९ गते संशोधन भएको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले भने फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएको व्यक्ति पार्टीको सदस्य रहन नसक्ने व्यवस्था गरेको छ। 

राष्ट्रिय कानुनले नै अदालतबाट फौजदारी कसुर प्रमाणित भएको व्यक्ति पार्टीको सदस्य हुन नसक्ने भनेकाले खाणको हकमा पनि निलम्बन वा अन्य कारबाहीका लागि अदालतको अन्तिम फैसला पर्खिनुपर्ने कांग्रेस अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगाना बताउँछन्। यो भनेको अब खाणले उच्च अदालतमा जिल्ला अदालतको निर्णयविरुद्ध रिट दायर गर्नेछन्।

प्रकाशित: Jun 17, 2023| 11:08 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्