काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगलाई थप प्रभावकारी र छिटोछरितो हुन सुझाएका छन्। आज लोकसेवा आयोगको ७३औं वार्षिक समारोहलाई सम्बोधन गर्दै उनले निजामती सेवाका पदको नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट प्रक्रिया त्रुटिरहित गर्ने आयोगको भूमिकाको प्रशंसा गरेका हुन्।
त्यसबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदपूर्तिका लागि लिखित परीक्षा सञ्चालन गर्ने आयोगको जिम्मेवारी सन्तोजनक रहेकाले सेवालाई थप प्रभावकारी बनाउन उनले आग्रह गरे।
उनले जनतालाई सहज र सुलभ सेवा दिने निजामतीलगायत क्षेत्रका कर्मचारीको भर्ना र छनोट कार्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रहेको र यसलाई निरन्तरता दिन पनि अनुरोध गरे।
कार्यक्रममा आयोग अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारी भर्ना र छनोट कार्यलाई थप वस्तुनिष्ठ, समसामयिक र विश्वसनीय बनाउन तथा आयोगको संस्थागत क्षमता सुदृढीकरण गर्न दोस्रो रणनीति योजना (२०७९/८०– २०८३/८४) तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए।
उनले पाठ्यक्रम, परीक्षा पद्धतिमा सुधारका साथै उत्तरपुस्तिका प्रणालीलाई थप विश्वसनीय बनाउन कार्यदलको सुझावका आधारमा प्रणालीगत विकास गरिएको बताए। आयोगले अनलाइन प्रणालीको टेक्नोलोजी तथा आर्किटेक्चर अपग्रेड गरी विकास गरिएको नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएकाले तथ्यांक व्यवस्थापन कार्य आगामी दिन थप व्यवस्थित हुने पनि उनले स्पष्ट पारे।
नेपालमा १८ भदौ २००८ मा पहिलो पटक ६ पदका लागि विज्ञापन गरेर आयोगले कार्यारम्भ गरेको थियो। कार्यक्रममा संवैधानिक निकायका प्रमुख, आयोगका पूर्वअध्यक्षहरु, महान्यायाधिवक्ता, सरकारका मुख्यसचिवलगायत उच्चपदस्थ अधिकारी उपस्थित थिए।