NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • समाजवादी मोर्चा निर्माणमा बाबुराम–प्रचण्ड एकमत, माधव नेपाल पनि जोडिए

समाजवादी मोर्चा निर्माणमा बाबुराम–प्रचण्ड एकमत, माधव नेपाल पनि जोडिए

समाजवादी मोर्चाका योजनाकार बाबुराम भट्टराई र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भएको छलफलमा समाजवादी मोर्चा बनाएर टुटेफुटेका कम्युनिस्टलाई एकै ठाउँ ल्याइछाड्ने प्रण।
 |  शुक्रबार, असार १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

vianetvianet

काठमाडौं– एमालेबाहेकका टुटेफुटेका कम्युनिस्टलाई एकै ठाउँ ल्याएर कांग्रेससँग सत्ता बार्गेनिङ ‘पावर’ बढाउने योजनासहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई समाजवादी मोर्चा निर्माणमा जुटेका छन्। प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् भने बाबुराम नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन्।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई नेताबीचको भेटमा बृहत् समाजवादी मोर्चा निर्माणको तयारी अघि बढाउन बाबुराम–प्रचण्ड सहमत भएका हुन्।

हिजो मात्रै गोरखा उक्लिएका बाबुरामले आफूहरुलाई उपेक्षा गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डको खोइरो खनेका थिए। तर आज बिहान प्रचण्डसँग भेटेपछि नयाँ समझदारी बनेको हो।

‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजान बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको छ’, बाबुरामले भने। उनले बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह गरेका छन्।

समाजवादी मोर्चाका योजनाकार भट्टराई पछिल्ला दिन संख्या हिसाब गरेर माओवादी केन्द्रका नेताहरूले आफ्नो पार्टीलाई अवमूल्यन गरेको तुष पोखेर संगठन विस्तारमा लागेका थिए। बिहीबार मात्रै उनले गोरखाबाट ६ महिने संगठन सुदृढीकरण र विस्तारको घोषणा गरेका थिए।

Metro Mart

नेकपा एकीकृत समाजवादीले चाँडै घोषणा हुन लागेको समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको सो पार्टीको सचिवालय बैठकले मोर्चामा सहभागी हुने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले मोर्चा आजै घोषणा हुने भनिए पनि दलहरूका आ–आफ्ना तयारी बाँकी रहेकाले अझै केही दिन लाग्न सक्ने ब्रिफिङ गरेका थिए। 

‘आज हाम्रो पार्टीको सचिवालय बैठकमा समाजवादी मोर्चाका विभिन्न पक्षबारे छलफल भयो। हामीले मोर्चाका लागि लामो समयदेखि तयारी गरेका थियौं’, प्रवक्ता खतिवडाले भने, ‘त्यसैले समाजवादी मोर्चामा सहभागी हुन निर्णय भयो।’ मोर्चाको संरचना जिल्ला र प्रदेशमा समेत बनाउन सकिने सैद्धान्तिक सहमति दलहरुबीच भएको उनको भनाइ छ। 

प्रचण्ड, बाबुरामहरुले निर्माण गर्ने समाजवादी मोर्चामा उपेन्द्र यादवको जसपा, नेकपा एस, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई समेत मोर्चामा सहभागी गराउने तयारी थालिएको छ।

प्रकाशित: Jun 16, 2023| 11:57 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्