कोशी प्रदेश सरकारले आज अध्यादेशबाट बजेट ल्याउने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज आर्थिक अध्यादेश र विनियोजन अध्यादेश जारी गरेका छन्।
आजै बजेट सार्वजनिक गर्ने तयारी छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारको नीति तथा कार्यक्रम भने हिजो बुधबार प्रदेशसभामा पेश भएको थियो। हिजै साँझ अधिवेशन अन्त्य गरेर आज अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो।
संसद्को बर्खे अधिवेशनलाई बजेट अधिवेशनका रूपमा हेरिन्छ भने हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन मानिन्छ। तर कोशी प्रदेशसभाको दोस्रो कार्यकालका यी दुवै अधिवेशन यी कुनै काम नगरी अन्त्य भएका छन्।
यसअघि हिउँदे अधिवेशनलाई पनि कुनै विधेयक नदिएको मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले बर्खे अधिवेशन बजेट नै नल्याई अन्त्य गरेको हो।
प्रदेशसभाका सभामुख बाबुराम गौतमले बुधबारको दोस्रो बैठकपछि बिहीबार ११ बजेका लागि अर्को बैठक डाकेका थिए। प्रदेशसभामा अल्पमतमा परेर नीति तथा कार्यक्रम र बजेट पारित नहुने निश्चित भएपछि प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गर्ने र अध्यादेशबाट बजेट ल्याउने बाटो खोज्न लागेको थियो।
संसद्को बर्खे अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने बाटो खोल्नकै लागि सरकारले बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम पेस गर्ने औपचारिकता पूरा गरेको थियो।