NadaNada
शुक्रबार, भदौ ६, २०८२

मधेशमा एमालेले थापेको 'ढोक्सा'मा पर्ला त कोशी सरकार? 

 |  बुधबार, जेठ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

vianetvianet

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेश प्रदेश सरकारलाई विश्‍वासको मत दिएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रोपटक विश्वासको मत लिँदा विश्वासको मत लिने प्रस्तावको पक्षमा १०३ र विपक्षमा शून्य मत परेको हो। 

यादव गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। सोही अनुसार उनले माघ ४ गते विश्वासको मत लिएका थिए। त्यतिबेला मतदानमा सहभागी १०२ मध्ये सबैले उनलाई विश्वासको मत दिएका थिए। तर, राष्ट्रपति निर्वाचनको सन्दर्भमा संघीय गठबन्धन भत्किएपछि त्यसको असर मधेस प्रदेशमा पनि परेको थियो। सोही अनुसार नेकपा एमालेका मन्त्रीहरु गत चैत २१ गते सरकारबाट बाहिरिएका थिए।  

एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लियो। एमालेकै कारण मधेश प्रदेशका मुख्यमन्त्रीले फेरि विश्‍वासको मत लिनु परेको हो। तर, फेरि अहिले तर्कसंगत कारण बिना नै एमालेले विश्‍वासको मत दिएको।  यसअघि केन्द्र सरकार गठनका लागि नेपाली कांग्रेसले अनपाएको रणनीति यसपटक मधेशमा अपनाएको हो। एमालेले यस्तो प्रवृत्तिलाई 'ढोक्सा प्रवृत्ति'को व्याख्या गरेको छ। एमालेले भनेको सोही ढोक्सा मधेशमा थापेको हो। 

एमालेले मधेशमा ढोक्सा थापेको विषयलाई भने अस्थिरता रोक्‍ने प्रयास भएको बताएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न आफ्नो पार्टीले विश्वासको मत दिएको उल्लेख गरेका छन्। साथै अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखिएको उनले लेखेका छन्।

यसअघि आफैं अस्थिरताको कारक बनेको एमाले महासचिवले फेरि स्थिरताको लेप लगाउँदै मुख छोप्‍ने प्रयास गरेका हुन्। महासचिव पोखरेलले लेखेका छन्, 'राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा(एमाले)ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ। यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको छ।'

Metro Mart

तर, एमालेको रणनीति भने बेग्लै रहेको छ। एमालेका महासचिव पोखरेलले बाँकी प्रदेशमा अरू दलले पनि रचनात्मक भूमिका खेल्नुपर्ने बताउ‍नुको अर्थ भनेको उनले कोशी प्रदेशमा समर्थन खोजेको स्पष्ट हुन्। एमालेले मधेसका मुख्यमन्त्री यादवलाई विश्वासको मत दिँदै जसपा फकाउने प्रयास गरेको स्पष्ट देखिन्छ। 

एमालेका केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई पनि मधेसमा राजनीतिक अस्थिरता रोक्ने उद्देश्यले विश्वासको मत दिइएको बताउँछन्। उनले भने, 'हामीले मधेसमा धेरै राजनीतिक अस्थिरता नहोस् भन्ने खोजेका हौँ। त्यहाँ पहिलो दल हामी हौँ। अरू दलहरू १–२ सिटले मात्रै फरक छन्। त्यसले छिनछिनमा सरकार बदलिने कुरा भयो। यसले मधेसमा अस्थिरता हुन्छ भन्ने कुरा हेर्दै मत दिएका हौँ।'

एमालेको विश्वासलाई कुन ढंगबाट हेर्ने भन्ने कुरा मुख्यमन्त्री र जसपाका अध्यक्ष उपेन्द्र यादवमा भर पर्ने उनले बताए। उनको भाषामा एमालेले जसपाको समर्थन खोजिरहेको छ। 

०७९ पुस १० गते माओवादी केन्द्रलाई प्रधानमन्त्री बनाउँदा एमालेले चार प्रदेशको नेतृत्व पाएको थियो। केन्द्रको गठबन्धन फेरबदल हुँदा सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशको नेतृत्व गुमाए पनि कोसी प्रदेश अझै एमालेकै नेतृत्वमा नै छ। तर, मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा छ। 

गत जेठ २३ गते माओवादी केन्द्रले सरकारका मन्त्री फिर्ता बोलाएर समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो। त्यसअघि एक सिट रहेको जसपा प्रदेश सरकारबाट बाहिरिएको थियो। गत पुस २५ गते स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएकी जसपाकी निमर्ला लिम्बु जेठ १७ गते  समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकी थिइन्।

९३ सदस्यीय प्रदेश सभामा सरकारलाई एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ गरी ४६ सांसदको साथ छ। अर्कोतर्फ गठन्धनमा कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सांसद छन्। जसपाका एक सांसदले साथ दिए एमालेले सत्ता जोगाउन सक्ने छ। उसको पक्षमा बहुमत अर्थात् ४७ सांसद पुग्ने छन्। 

कोशी प्रदेशको सरकार जोगाउनका लागि नै एमालेले मधेश प्रदेशमा ढोक्सा थापेको देखिन्छ। सचिव भट्टराईले मधेसमा आफूहरुले मत दिएपछि कोशीमा सजपाले सहयोग गर्ने बताए। उनले भने, 'हामीले मधेसमा मत नदिएको भए अरू दलले पनि नदिन सक्थे। हामीले दिएको भएर अरू दल पनि दिएका हुन्। त्यो कुरालाई उहाँहरूले कसरी बुझ्नुहुन्छ। कोसीमा प्रयोग गर्न सक्नुहुन्छ कि सक्नुहुन्न त्यो उहाँहरूको कुरा हो। कोसीमा साथ सहयोग मागिरहेका छौँ।'

प्रदेश नामकरणमा असन्तुष्टि जनाउँदै आएको जसपा नाम फेर्नुपर्ने पक्षमा छ। एमालेले सद्भाव देखाए पनि केन्द्रीय सत्ता समीकरण पनि फेरबदल हुने भएकाले जसपा एमालेलाई समर्थन गर्ने पक्षमा देखिँदैन।
 

प्रकाशित: Jun 14, 2023| 20:00 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्