काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि नेकपा बनाउने कोसिस भइरहेको बताएका छन्।
जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बुधबार प्रचण्डले भने, 'फेरि एकताका लागि पहल भइरहेको छ। समाजवादी मोर्चाको दस्तावेज टुंग्याएका छौं। हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ। फेरि नेकपा बनाउने कोसिस भइरहेको छ। जनताको ठूलो हिस्सालाई संगठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न सकिँदैन। यसलाई सबैले गम्भीर रूपमा सोच्न जरूरी छ। देशका सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउँछौं।'
नेकपा एमालेमा पनि नेकपा बनाउनुपर्ने मानिसहरु भएको तर मूल नेतृत्व नै सकारात्मक नभएका कारण त्यो सम्भव हुन नसकेको उनको निष्कर्ष छ। यसअघि पुस १० गते आश्चर्यजनक रुपमा नकेपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई हाल सत्तामा टिकाइराख्नका लागि नेपाली कांग्रेसले समर्थन गरिरहेको छ। राष्ट्रपतिको निर्वाचनमा नेकपा माओवादीले कांग्रेसलाई समर्थन गरेपछि नेकपा एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। त्यसपछि नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री टिकाइराख्नका लागि समर्थन गरेको थियो।
नेपाली कांग्रेसको समर्थनमा सरकारमा रहेका प्रधानमन्त्री प्रचण्डले सार्वजनिक मञ्चबाटै नेकपा बनाउने आफूहरुको लक्ष्य भएको र कम्युनिस्टबीचको एकताबाट नै मुलुकको विकास र समृद्धि हासिल गर्न सकिने निष्कर्ष सुनाइरहेका छन्। यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि नेकपा ब्युँताउन आह्वान गरेका थिए। उनले यसअघि भक्तपुरमा आयोजित पार्टीको प्रथम जिल्ला अधिवेशनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आफू तयार रहेको बताएका हुन्।
'नेकपा विप्लव समूहका नेता कमरेड विप्लव आफैं, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो। हामीले बसेर छलफल गर्यौं। समाजवादको पक्षमा हामी ४ पार्टी एक ठाउँमा छौं भने हामी एउटा मोर्चा बनाऔं,' नेपालको प्रस्ताव छ, 'मोर्चा बनाएपछि शक्ति बन्छ, शक्तिको परिचालन गरौं। सडकमा, संसद्मा जनताको आवाज उठाऔं, सरकारमा बसेर पनि राम्रो काम गरौं।'
माधव नेपालले सार्वजनिक मञ्चबाट राखेको प्रस्तावलाई प्रधानमन्त्री प्रचण्डले सार्वजनिक मञ्चबाट नै आफू नेकपा ब्युँताउन तयार रहेको जवाफ मात्र दिएनन्। उनले थप अघि बढ्दै समाजवादी मोर्चाका लागि दस्तावेज नै तयार भइरहेको जानकारीसमेत दिएका छन्। यता माधव नेपालले भने कुनै पार्टी विलय हुने भन्दा पनि मिलेर अघि बढ्नुपर्ने बताएका छन्। नेपालले भने, 'नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔं। तर मान्छे आफ्नो के हुन्छ भन्ने सोच्न थाल्यो भने मैले कुर्सी छोड्नुपर्ला भनेर ७० वर्षको उमेर हद नै हटाइदिए। के हुन्थ्यो, सल्लाहकार भएर बसे हुँदैन, केटाहरुले राम्रो काम नगरे फेरि आएर जिम्मा लिए भइहाल्छ नि। ७० वर्ष नाघेकालाई बोलाउने, हामी त भयो अब आराम गर्नुहोस्, सल्लाहकार भएर बस्नुस् भन्छौं, मेरो उमेर भए म पनि बस्छु।'
नेकपा एमालेमा पनि नेकपा बनाउनुपर्ने मानिसहरु भएको तर मूल नेतृत्व नै सकारात्मक नभएका कारण त्यो सम्भव हुन नसकेको उनको निष्कर्ष छ। यसअघि पुस १० गते आश्चर्यजनक रुपमा नकेपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई हाल सत्तामा टिकाइराख्नका लागि नेपाली कांग्रेसले समर्थन गरिरहेको छ।
सत्ता साझेदार मुख्य दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले नेकपा ब्युँताउने विषयमा खुलेरै बोलिरहँदा नेपाली कांग्रेस भने आन्तरिक किचलोमा फसिरहेको छ। उपचारका लागि भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर उडेका छन् भने यता महामन्त्री गगन थापाले सभापति विरुद्ध सार्वजनिक मञ्चबाटै आक्रमण थालेका छन्। त्यसैगरी सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुले पनि जनताले देख्ने गरी काम गर्न सकेका छैनन्।
यस्तो अवस्थामा सरकार कति दिन टिक्छ भन्ने प्रश्नहरु पनि उठिरहेका छन्। कांग्रेसको समर्थनमा सत्तामा रहने र कांग्रेसलाई नै पाखा लगाउने गरी रणनीति बनाउँदै जाने प्रधानमन्त्री प्रचण्डको दोहोरो रणनीतिबारे कांग्रेस बेखबर नभए पनि कस्तो कदम चाल्छ भन्नेबारे पनि कुनै संकेत गरिएको छैन। विगत १० महिनाभन्दा लामो समयदेखि कांग्रेसको केन्द्रीय समिति बैठक बस्न सकेको छैन। बजेट पारित भएपछि कांग्रेसले केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको कांग्रेस नेताहरुले नै बताइरहेका छन्।
कांग्रेसकै समर्थनमा सत्तामा बसेर कांग्रेसलाई नै क्षति पुग्ने गरी गतिविधिहरु प्रधानमन्त्री प्रचण्डले गर्दा पनि कांग्रेस नेताहरु भने आपसमा दोषारोपण गर्न व्यस्त देखिन्छन्। प्रधानमन्त्री प्रचण्डले यही साउन मध्यतिर चीन भ्रमण गर्न सक्ने माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी गराएका छन्। त्यसअघि माओवादीले 'समाजवादी मोर्चा' बनाएर कम्युनिस्टहरु एक ठाउँमा उभिएको र बलियो कम्युनिस्ट मोर्चा बनेको सन्देश चीनलाई दिने गरी आन्तरिक तयारी गरिरहेको छ। चीनले पनि नेपालमा वामपन्थी शक्तिहरु मिलेर अघि बढेमा मात्रै आर्थिक विकास हुने बारम्बार दोहोर्याइरहँदा प्रधानमन्त्री प्रचण्डले आफू बलियो पार्टीको नेता रहेको सन्देश चीनलाई दिन चाहेका छन्।
यसअघि चीनको निम्तो बेवास्ता गर्दै भारत भ्रमणमा पुगेर गेरुवस्त्र धारण गरेको कुरालाई चीनले 'नोटिस' मा राखेको विषयमा जानकार प्रचण्डले चीनलाई विश्वस्त पार्नका लागि कम्युनिस्ट मोर्चाबन्दीको तयारी गरेका हुन्। यसका लागि नेताहरुले आन्तरिक छलफल भइरहेको प्रचण्डले सार्वजनिक रुपमा बुधबार खुलाएका हुन्। प्रचण्ड नेतृत्वको माओवादीले १० वर्ष लामो हिंसात्मक द्वन्द्व गरेर 'माओवाद' विचारधारालाई नै दुषित बनाएको आरोप खेपिरहेका प्रचण्डले यसपटक आफू समाजवादी वामपन्थी नेताको छवि बनाएर चीन यात्रा गर्न चाहेको पनि माओवादी नेताहरुले बताइरहेका छन्। यसकै तयारीको सिलसिलामा कांग्रेसको समर्थनमा सत्ता सम्हालिरहेका प्रधानमन्त्री प्रचण्डले बुधबार नेकपा ब्युँताउने बाटोमा अघि बढिरहेको बताएका हुन्।
स्वार्थका लागि नेकपा
कम्युनिस्ट नेताहरुले आपसमा स्वार्थ नमिलेको अवस्थामा एक ठाउँमा उभिने अस्त्रका रुपमा पनि नेकपालाई प्रयोग गर्न थालेका छन्। यसअघि राष्ट्रपति निर्वाचनमा नेकपा एमाले एक्लिएपछि अध्यक्ष केपी शर्मा ओलीले नेकपा ब्युँताउने पहल थालेका थिए। एमाले अध्यक्ष ओलीले नेकपा एसका अध्यक्ष नेपालको नाम राष्ट्रपतिका लागि सिफारिस गर्ने बताएसँगै नेकपा ब्युँताउने विषय चर्चामा आएको थियो।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा नेपालको नाम बाहिर ल्याएसँगै नेपालले भेटघाट र छलफललाई बढाएका थिए। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर आफूलाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह पनि गरेका थिए। यसै मौकामा प्रचण्डले नेकपा ब्युँताउने प्रस्ताव गरेका हुन्। राष्ट्रपति नेपाल हुँदा आफू संकटमा पर्ने भयले प्रचण्डले पनि नेकपाको सन्दर्भ उठाएका थिए। नेपाल राष्ट्रपति हुँदा कांग्रेसको साथ नहुने र एमालेको अविश्वास हुने भएपछि यतिबेला प्रचण्ड संशकित बनेको समयमा नेकपाको बहसलाई जोडतोडका साथ उठाइएको थियो।
प्रचण्डको भावनाअनुसार नै नेपालले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको भेटवार्तामा नेकपा ब्युँताउने भए आफू राष्ट्रपति बन्न तयार रहेको बताएका थिए। सत्ता गठबन्धन टुट्ने र एमालेको राष्ट्रपति अस्वीकार गर्ने स्थिति आएपछि नेकपा एमालेका अध्यक्ष ओलीले नै नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव प्रचण्डसँग राखेका थिए। यसरी कम्युनिस्ट नेताहरुले आफू एक्लिने भय भइरहेको सयमा स्वार्थ पूर्तिका लागि नेकपा ब्युँताउने कुरा उठाउने गरेका छन्।
जसरी बन्यो, त्यसरी भत्कियो नेकपा
२०७४ सालमा नेपाली कांग्रेससँग सत्ता साझेदारी गरिरहेको नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर आम निर्वाचनमा वाम गठबन्धन गर्ने र चुनावपछि नेकपा बनाएर पार्टी एकता गर्ने घोषणाले मुलुकको राजनीति नै तरंगित बनेको थियो। अब मुलुकमा ५० वर्षसम्म पनि लोकतान्त्रिक दलहरुले टाउको उठाउन नसक्ने दाबी र तर्कहरु गरिए। २०७४ मा वाम गठबन्धनले करिब दुई तिहाइ बहुमत ल्याएपछि २०७४ फागुन ३ मा ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार बनेको थियो। ओली र दाहालबीच सहमतिपछि नै २०७५ साल जेठ ३ मा दुवै पार्टी मिलेर नेकपा बनेको थियो। दुई नेताबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको विषय एकता अलग्गै प्रचण्डले बाहिर ल्याए।
ओली र प्रचण्डको सहमतिमा नै सरकार चल्दै थियो। यो विषय बाहिर आएपछि नेकपामा समस्या देखिन थाल्यो। नेताको महत्वाकांक्षाका कारण विवाद झाँगिन थाल्यो। ओली सरकारको कार्यकाल २ वर्ष भएसँगै पार्टीभित्रैबाट सरकार ढाल्ने चलखेल हुन थाले। ओलीले त्यति बेला संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याए। यसैलाई लिएर विवाद उत्कर्षमा पुग्यो। त्यही आसपासमा २०७७ जेठ ७ मा ओली सरकारले लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि भारतले पनि नेकपामा चलखेल गर्न मौका पायो। प्रचण्डले नै प्रधानमन्त्री ओलीको राजीनामा मागे।
यहीबीच ओलीलाई पाँचै वर्ष सरकार चलाउन दिने र कार्यकारी अध्यक्ष प्रचण्ड बन्ने सहमति भयो। तर, त्यो सहमति कार्यान्वयन भएन। त्यसैबीचमा भारतीय गुप्तचर प्रमुख समान्त गोयलले मध्यरात ओलीलाई भेटेको विषयले आगोमा घ्यु थप्ने काम भयो। प्रचण्ड र नेपालले ओलीविरुद्ध १९ बुँदे आरोपपत्र प्रस्तुत गरे। नेकपामा विवाद चरम रूपमा पुग्यो। प्रचण्ड र नेपालसहितका बहुमत सचिवालय सदस्य ओली सरकारविरुद्ध अविश्वासको मत ल्याउने राणनीतिमा लागे।
यो चाल पाएर ओलीले प्रधानमन्त्रीको विषेशाधिकार भन्दै २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गरे। ०७८ वैशाख १७ र वैशाख २७ मा निर्वाचनको आह्वान भयो। प्रतिनिधिसभा विघटन गरेपछि नेपाल र प्रचण्डले सडकबाटै ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि पदच्यूत गरेका थिए। २०७७ फागुन ११ का दिन ओलीले आफ्नो जन्मदिन मनाइरहेका थिए, यता सर्वोच्चले उनको विघटनको निर्णय बदर गरिदियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै सदनलाई पुनर्बहाली गर्न र संसद्को बैठक १३ दिनभित्र गर्न आह्वान गरेको थियो। ओलीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै २०७७ फागुन २३ मा, संसद्को बैठक आह्वान गरे।
प्रचण्ड र नेपाल त्यो खुसी मनाइरहेका बेला फागुन २३ मा सर्वोच्चले अर्को फैसला गरिदियो। त्यो फैसलाले सबैलाई अचम्मित पनि बनायो। फैसला थियो, ‘नेपाल कम्युनिस्ट पार्टी ऋषिराम कट्टेलको हो।’
२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई सर्वोच्चको यो फैसलाले भंग गरिदियो, पुरानै एमाले र माओवादी केन्द्र ब्युँतियो। जसरी एकाएक वाम गठबन्धन हुँदै नेकपा बनेको थियो, त्यसरी नै नेकपा भत्किएर कम्युनिस्ट पार्टीहरु तीन टुक्रा बने। अहिले पनि समाजवादको नाम जप्दै नेकपाको यात्रा तय गर्ने रणनीतिमा प्रचण्ड र नेपाल रहेका देखिन्छन्। यसमा बाबुराम, वामदेव र विप्लवहरुको पनि समर्थन छ। यसले कालान्तरमा कस्तो परिणाम ल्याउँछ र नेपालको राजनीति कति अस्थिर हुन्छ भन्ने कुरा आगामी दिनमा देखिने नै छन्।