NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणका तर्फबाट आज पनि बहस जारी

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणका तर्फबाट आज पनि बहस जारी

 |  बुधबार, जेठ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

vianetvianet

काठमाडौं- नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस आज पनि जारी रहेको छ। खाणको पक्षका कानून व्यवसायीले मङ्गलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो।

पहिलो दिन उनका तर्फबाट १० जना कानून व्यवसायीले बहस गरेकामा आज दोस्रो दिन वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित खम्म खाती, गोपीकृष्ण घिमिरे र सुरेन्द्र महतोले बहस गर्ने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

उनका अनुसार मङ्गलबार पूर्वगृहमन्त्री खाणका तर्फबाट कानून व्यवसायी शेरबहादुर केसी, हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, पङ्कज कर्ण, लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल, अजय झा, नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले बहस गरेका थिए। आज सुरुमा वरिष्ठ अधिवक्ता श्रेष्ठले बहस थालेका हुन्। खाणका तर्फबाट बहस गर्ने कानून व्यवसायी धेरै भएकाले दुई दिन समय लागेको बताइएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी कानून व्यवसायीको बहसपछि प्रतिवादीका तर्फबाट कानून व्यवसायीले निरन्तर बहस गर्दै आएका छन्। जिल्ला न्यायाधीश न्यौपानेले आज बहस सकेर आदेश दिनेगरी योजना बनाएको भए पनि अझै बहस नसकिएकाले थुनछेकको आदेश आउन ढिलाइ हुने सूचना अधिकारी दाहालले बताए।

उनले भने, 'सबै प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस थाल्ने छन्, जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ।'

Metro Mart

भूटानी शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदनसहितको फाइल जिल्ला सरकारी वकिललाई बुझाएपछि सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा यही जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो। त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस सुरु भएको हो।

तीन दिन सरकारी वकिल र उजुरीकर्ताका तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकिलहरुको बहस भइरहेको छ। उक्त घटनामा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ। उनीहरुविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो।

उक्त प्रकरणमा रु २८ करोड ८१ लाख बिगो समेतको माग गरिएको छ। उक्त घटनाका आरोपीमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझैँ फरार रहेका प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 14, 2023| 14:55 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्