काठमाडौं- 'कांग्रेससँग प्रश्न होइन, उत्तर हुन्छ। कांग्रेससँग समस्या होइन, समाधान, हुन्छ। जनतालाई रुख चिह्नमा मत हालौं-हालौं लाग्छ र शानदार ढंगले चुनाव जितेर आउँछ,' नेपाली कांग्रेसको महामन्त्रीमा आफू विजयी भएको अवस्थामा बन्ने कांग्रेसबारे २०७८ मंसिर २३ मा उम्मेदवारी घोषणा गर्दै गगन थापाले भनेका थिए।
उनी कांग्रेस महाधिवेशनबाट महामन्त्रीमा विजयी भएको डेढ वर्ष बितिसकेको छ। यो अवधिमा उनले भनेजस्तो कांग्रेस बन्न सकेको छैन र उनले बनाउने प्रयत्न गरेको पनि देखिँदैन। उल्टै महामन्त्री थापाले नै कांग्रेससँग जवाफ माग्दै कैयौं प्रश्नहरु गरिरहेका छन्। उनले भनेजस्तो कांग्रेस उत्तर दिने ठाउँमा पुग्न सकिरहेको छैन। कांग्रेस अझै समस्यामा छ, समाधान दिने कुरा सोच्न पनि सकेको छैन र उनले भनेजस्तो कांग्रेसले शानदार ढंगले चुनावमा जित हात पार्न पनि सकेन, जसको परिणाम कांग्रेस सत्ताधारी हुँदा पनि कमजोर अवस्थामा छ।
कांग्रेससँग प्रश्न गरिरहेका महामन्त्री थापाले पछिल्लो समय सभापति शेरबहादुर देउवामाथि सार्वजनिक मञ्चहरुबाट निरन्तर आक्रमण गरिरहेका छन्। आफूभन्दा माथिकोलाई आक्रमण गरी पद हात पार्ने गगनको शैली भने पुरानै हो। कांग्रेस सभापति देउवा र पार्टी महाधिवेशनमा उनको प्यानलका सभापति उम्मेदवार शेखर कोइरालाबीचको निकटता बढ्दै गएपछि गगन थप चिढिएका देखिन्छन्। उनले महाधिवेशनबाट निर्वाचित सभापतिलाई परिवर्तन गर्न अर्को महाधिवेशन पर्खिन नसकिने भन्दै विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिएका छन्।
महामन्त्री थापाले मंगलबार सार्वजनिक मञ्चबाटै पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा माग गरे। विराटनगर पुगेका थापाले विमानस्थलमा बोल्दै सभापति देउवाले जतिसक्दो छिटो पदीय जिम्मेवारीबाट मुक्त हुनुपर्ने बताए। उनले भने, 'पार्टी नेतृत्व परिवर्तन हुनेबितिक्कै हाल देखिएका सबै चुनौतीलाई पार लगाउन सकिन्छ।' उनले अहिले देखिएका सबै समस्याको मूल कारण सभापति देउवा भएको निष्कर्ष निकालेका छन्।
तर, पार्टी महामन्त्रीको हैसियतमा थापा आफू कहाँ चुकें भन्ने हिसाब भने सायद गरेका छैनन्। पछिल्लो समय आफ्नै टिममा रहेर काम गरेका डा. स्वर्णिम वाग्लेदेखि मनिष झा, शिशिर खनालहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा पलायन भएपछि कमजोर बनेका महामन्त्री थापाले आफूले प्राप्त गरेको अधिकारबाट पार्टीलाई बलियो बनाउन के-कति काम गरे भन्ने प्रश्नको जवाफ दिएका छैनन्। आफूले गर्न नसकेका कामको दोष पनि सभापतिमाथि थोपरेर पानीमाथिको ओभानो बन्ने दाउमा महामन्त्री थापा देखिएका छन्।
यसअघि पार्टी संसदीय दलको निर्वाचनमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेललाई साथमा राखेर अब नयाँ ढंगले पार्टी रुपान्तरणको काममा लाग्ने बताएका महामन्त्री थापा अहिले एक्लिएका छन्। न त अर्का महामन्त्री शर्मासँग सल्लाह गरेर पार्टी रुपान्तरणको काम गरेका छन्, न केन्द्रीय सदस्य पौडेलसँग छलफल गरी युवा पंक्तिलाई एक ठाउँमा उभ्याउन सकेका छन्।
बरु महामन्त्री थापाका अभिव्यक्ति र उनको कार्यशैलीबाट अर्का महामन्त्री शर्मा र नेता पौडेल टाढिँदै गएका देखिन्छन्। अबको १० वर्षमात्र राजनीति गर्ने घोषणा गरेका थापालाई पार्टीको नेतृत्वमा पुग्ने हतारो देखिन्छ, जसका कारण पनि महाधिवेशनबाट निर्वाचित सभापतिको तीन चौथाइ कार्यकाल बाँकी रहँदै सार्वजनिक मञ्चबाटै राजीनामा माग गरिरहेका छन्। यद्यपि सभापति देउवाले भने अब पार्टी युवाहरुले सम्हाल्ने भएकाले गाली गरेर नभई मिलेर अघि बढ्न आग्रह गरिरहेका छन्। उनले भनेका छन्, 'पार्टीमा योग्य, जुझारु र गतिशील नेता-कार्यकर्तालाई उचित जिम्मेवारी दिन प्रतिबद्ध छु। गाली गरेर पार्टी बन्दैन, पार्टी बनाउनका लागि मिलेर संगठनलाई बलियो बनाउनेतिर काम गर्नुस्।'
सभापति देउवाले आफूले नेतृत्व छाड्ने बताइरहँदा गगनमा अर्को महाधिवेशन कुर्ने धैर्यता भने देखिँदैन। लोकतन्त्रको पर्याय मान्ने कांग्रेसको महामन्त्री थापाले निर्वाचित सभापतिको सार्वजनिक मञ्चबाट राजीनामा माग गर्दै निर्वाचन प्रणालीमाथि नै प्रश्न गर्न थालेका छन्। जुन प्रणालीबाट थापा महामन्त्रीमा निर्वाचित भए, सोही प्रणालीबाट निर्वाचित सभापति देउवाको सार्वजनिक मञ्चबाट राजीनामा माग गरेर उनले पार्टीको विधि र विधानलाई पनि नजरअन्दाज गरेका छन्।
देशभरका लोकतन्त्रमा आस्थावान् लाखौं युवाले आशा गरेका कांग्रेस महामन्त्री थापाका अभिव्यक्तिबाट पछिल्लो समय युवा पंक्ति नै निराश हुने गरेका छन्। सरकारमा सहभागी हुँदा भाग नपाएको आक्रोश सामाजिक सञ्जालमा पोखे उनले। भागबण्डामा आफू कमजोर भएको देखेपछि कांग्रेसका भ्रातृ संस्थाहरुलाई सक्रिय बनाउन चासो दिएका छैनन्। नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका भ्रातृ संस्थाहरु कोमामा छन्। यसबारे महामन्त्री थापा कहीँ-कतै बोलेका छैनन् र यसलाई सक्रिय बनाउन तदारुकता पनि देखाएका छैनन्।
कांग्रेसको विधानको परिच्छेद ७ को धारा २७ मा महामन्त्रीको काम, कर्तव्य र अधिकार उल्लेख गरिएको छ। यस धारामा महामन्त्रीले कांग्रेस केन्द्रीय कार्यालयको रेखदेख गर्ने र सञ्चालन गर्नेसहितका १२ बुँदा उल्लेख छन्। जसमा कांग्रेसको केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहने, केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र अन्य केन्द्रीय समितिहरूको निर्णय कार्यान्वयन गर्ने, गराउने जिम्मेवारी महामन्त्रीको हुने उल्लेख छ।
पार्टीको संगठन संरचना, क्रियाशील र प्रभावकारी बनाउने र पार्टीका निकायहरूमा पार्टीसम्बन्धी गतिविधिबारे आवश्यकतानुसार सूचना प्रवाहित गर्ने, पार्टीका निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन तथा सुपरीवेक्षण गर्ने, गराउने अधिकार पनि महामन्त्रीलाई दिइएको छ। तर, पार्टीले यसअघि भ्रा तृसंस्थाहरुलाई पूर्णता दिनेसम्बन्धी गरेका निर्णय महामन्त्री थापा दोहोर्याउन पनि इच्छुक देखिँदैनन्। उनले केवल सभापति पद देखिरहेका छन् र त्यहाँ पुग्न उनलाई हतारो देखिन्छ।
यसअघि वैशाख १० गते उपनिर्वाचनमा चितवनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिले कांग्रेस भनेर भोट हाल्ने बेला तलमाथि गरे 'हरि'ले हेर्ने र हिसाबकिताब गर्ने बताए। उनको यो अभिव्यक्तिले थापा वैचारिक रुपमा पनि स्खलनको स्थितिमा पुगेको भन्दै आलोचना भएको थियो। थापाले भनेका थिए, 'मेरो भगवान्माथि विश्वास छ। तपाईंहरू पनि धार्मिक मान्छे हुनुहुन्छ। तपाईंहरू कोही खुलेर लाग्नुभएको छ, म कांग्रेसलाई भोट गर्दै गर्दिनँ भन्नुभएको छ भने तपाईंहरूको निर्णय हो, तर बाहिर बाहिर गर्छु, भित्र भित्र गर्दिनँ नभन्नुस्। मनमा जसको हरि (भगवान्) छ, त्यसले के ठान्नुपर्छ भने कसैले नदेखे नि हरिले देखेको हुन्छ। त्यसैले बाहिर बाहिर रूख रूख भन्ने, भित्र गएर तलमाथि गर्ने! कसैले नदेखेको भए पनि हरिले देखेको हुन्छ, हरिले हिसाबकिताब गर्छ।'
पार्टीको उम्मेदवार जिताउन महामन्त्रीको हैसियतमा आफूले गरेका रुपान्तरणका कामहरुबारे बोल्नुपर्ने, कांग्रेस आगामी दिनमा गर्ने कामबारे मार्गचित्र देखाउनुपर्ने र पार्टीमा आफूलगायत युवाहरुको बाहुल्यता बढ्दै गइरहेको समयमा कसरी आकर्षित गर्न सकिन्छ र सरकारमा जाँदा कांग्रेसले के काम गर्छ भन्नेजस्ता वैचारिक, सैद्धान्तिक र व्यवहारिक विषयहरुलाई स्पष्टताका साथ राख्नुपर्ने हो। तर, महामन्त्री थापाले भने यस्ता सबै कुरालाई बिर्सिएर हरिले हेर्ने भन्दै भगवानको डर देखाउनेजस्तो कमजोर रुपमा प्रस्तुत भए।
अहिले आफू जुन प्रणालीबाट निर्वाचित भएको हो र जुन पदमा निर्वाचित भएको हो, त्यसका लागि आफूले गरेका कामहरुबारे प्रचार गर्दै कांग्रेसलाई बलियो बनाउन गर्ने कामहरुको फेहरिस्त सुनाउँदै संगठन बलियो बनाउनुको साटो सभापतिलाई धारे हात लगाउँदै आफू पानीमाथिको ओभानो बन्न खोज्दा उनले भनेका हरिले हेर्छन् कि हेर्दैनन्? ती हरिले महामन्त्री थापाको हिसाबकिताब गर्छन् कि गर्दैनन्?
पार्टीको विधानले सभापतिलाई हटाउनका लागि व्यवस्था नै गरिदिएको छ। तर, उनलाई आफैंले बनाएको विधानप्रति पनि सायद विश्वास छैन। उनले नै बनाएको विधानको परिच्छेद १२ मा सभापतिविरुद्ध २५ प्रतिशत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने प्रावधानसमेत रहेको छ। विधानको धारा ४४ को उपधारा १ मा भनिएको छ, 'पार्टीका सबै तहका सभापतिका विरूद्ध सम्बन्धित निर्वाचकहरूको पच्चीस प्रतिशत सदस्यले अविश्वासको प्रस्ताव सम्बन्धित कार्यसमितिमा दर्ता गर्न सक्नेछ।'
यसरी दर्ता हुन आएको प्रस्तावबारे ६० दिनभित्र अधिवेशन बोलाई निर्णय गर्न सकिने उल्लेख गरिएको छ। धारा ४४ को उपधारा २ मा भनिएको छ, 'यसरी दर्ता हुन आएको प्रस्तावउपर आवश्यक छानविन गरी साठी दिनभित्र सम्बन्धित निर्वाचकको बैठक वा अधिवेशन बोलाई निर्णय गर्नुपर्नेछ। यस्तो निर्णय गर्दा उपसभापति र नभएमा महामन्त्री वा प्रदेश महामन्त्री, सचिवले बैठकको अध्यक्षता गर्नेछ। यी दुबै प्रक्रियाबाट आएको अविश्वासको प्रस्ताव सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट पारित हुनेपर्ने उल्लेख गरिएको छ।
तर, थापा भने यो प्रक्रियाबाट जान पनि तयार देखिँदैनन्। उनलाई त सार्वजनिक मञ्चबाटै राजीनामा माग गर्दैमा राजीनामा दिनुपर्ने र नदिएको अवस्थामा 'अनैतिक करार' गर्ने अधिकार भएको जस्तै गरी प्रस्तुत भइरहेका छन्। यसले कांग्रेसको महामन्त्री ओज र उनको व्यक्तिगत छविमा असर गरिरहेको कुरालाई बिर्सिरहेका छन्। महामन्त्री थापाका यस्त अभिव्यक्तिले उनको छविलाई मात्र नभएर पार्टीलाई समेत कमजोर बनाउँछ भन्ने कुरा पनि सायद उनी बिर्सिरहेका छन्। यसरी उनले बिर्सिएका कुरा सम्झाउनका लागि उनले भनेका हरि आउँछन् कि आउँदैनन्? यी प्रश्नको जवाफ महामन्त्री थापाले आफैँभित्र खोज्नुपर्ने देखिन्छ।