NadaNada
शनिबार, भदौ ७, २०८२

ट्रयाक खुलेको १६ वर्षपछि कालोपत्रेको काम सुरु

 |  सोमबार, जेठ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

vianetvianet

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले-भगवती सडकखण्डमा सडकको ट्रयाक खुलेको १६ वर्षपछि कालोपत्रेको काम सुरु भएको छ।

रघुगंगा-३ पिप्ले, वडा नं २ भगवती र वडा नं १ बेगलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने गरी २०६४ सालमा गलेश्वरदेखि पिप्ले हुँदै भगवतीसम्मको सडकको ट्रयाक निर्माण गरिएको थियो।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र-१ नमूना सडक कार्यक्रम’अन्तर्गत २०७६ देखि गलेश्वर-पिप्ले-भगवती-बेगखोला सडक कालोपत्रे योजना अघि बढे पनि प्राकृतिक प्रकोप, कोरोना महामारी, निर्माण व्यवसायीको ढिलासुस्तीलगायतका कारण ढिला गरी कालोपत्रे हुन लागेको हो।

आयोजनाअन्तर्गत रघुगंगाको वडा नं-३ पिप्ले स्कुलचोकदेखि वडा नं-२ को भगवती मैदानसम्मको चार दशमलव चार किलोमिटर सडकमा कालोपत्रेको काम अघि बढेको पूर्वाधार विकास कार्यालयका अधिकृत अर्जुन शर्माले जानकारी दिए।

कार्यक्षेत्रमा परिचालित निर्माण कम्पनी एपेक्स-खड्का कृष्ण जेभीले कालोपत्रे गर्नका लागि बेस र सबवेसको काम सकेर प्राइमकोट विछ्याउन थालेको छ। जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर सवारी साधन आगमनलाई सार्वजनिक सूचनामार्फत रोकेर कालोपत्रेको कामलाई अघि बढाएको निर्माण कम्पनीले जनाएको छ।

Metro Mart

मोटो चिप्स र मसिनो चिप्स राखेर ट्रयाककोर्ट गरेपछि केही दिन सवारीसाधन आवातजावात गरे प्रश्चात डिविएसडी प्रविधिको कालोपत्रे गरिने पूर्वाधार विकास कार्यालयले जनाएको छ।

निर्माण व्यवसायीको लापरबाहीले चार वर्षदेखि थलिएको यस सडकमा निर्माण कम्पनीले ११ करोड १४ लाख ९० हजार भुक्तानी लगिसकेको छ। २०७६ देखि सुरु भएको आयोजनाको एपेक्स-खड्का कृष्ण जेभीले १८ करोड ४९ लाख आठ सय ३८ मा ठेक्का सम्झौता गरेको थियो।

यो सडक स्तरोन्नति भएपछि पिप्ले, भगवती र बेगखोलाका तीन हजारभन्दा बढी घरधुरी लाभान्वित हुने छन। सदरमुकाम बेनीदेखि गलेश्वर, पिप्ले र भगवती हुँदै बेग सडक कालोपत्रे भएमा रघुगंगावासीलाई आवातजावतमा सहज, कृषिउपज निकासी, खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानीका साथै बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सकिने वडा नं-२ का वडाध्यक्ष अमृत भण्डारीले बताए।

प्रकाशित: Jun 12, 2023| 21:32 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्