काठमाडौं– काठमाडौंको चाबहिलमा एक व्यक्तिको कुटाइबाट उनकी पत्नीकोे मृत्यु भएको छ। मकवानपुर हेटौंडा घर भई चाबहिल बस्दै आएका ३९ वर्षीय राम श्रेष्ठको कुटाइबाट उनकी २३ वर्षीया पत्नी रञ्जना तामाङको मृत्यु भएको हो। प्रहरीका अनुसार रञ्जना तामाङ ५ महिनाकी गर्भवती थिइन्।
श्रेष्ठले पत्नीसँग भएको विवादमा घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन्। गौशालाका प्रहरी प्रमुख डीएसपी केशव भट्टराईले भने, ‘पत्नीको मृत्युपछि श्रेष्ठले प्रहरीको हट लाइन नम्बर १०० मा फोन गरी आफूले हत्या गरेको जानकारी गराएका थिए।’
प्रहरी पुग्दा श्रेष्ठ कोठामा चुकुल लगाएर बसिरहेका थिए। भट्टराईका अनुसार रञ्जनाकोे शव ओछ्यानमा भेटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।