काठमाडौं- सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ। आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भए पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको हो।
परराष्ट्रमन्त्री एनपी साउदले गेटामा प्रतिष्ठान नभएर सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने जानकारी दिए। गृहजिल्ला कञ्चनपुर क्षेत्र नम्बर २ नेपाली कांग्रेसका नेताहरुसँग सोमबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने बताएका हुन्।
‘प्रतिष्ठान कि विश्वविद्यालय भन्ने दुविधा जनतामा देखिएको भन्दै कञ्चनपुर–२ का नेताहरु मन्त्रीज्यूलाई भेट्न आउनुभएको थियो,’ साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले भने, ‘मन्त्रीज्यूले प्रतिष्ठान नभएर मेडिकल युनिभर्सिटी नै बन्छ, यसमा सरकार प्रतिबद्ध छ भन्नुभयो।’
क्षेत्रीय सभापति लालबहादुर सिंहको नेतृत्वमा गएको टोलीसँगको भेटवार्तामा मन्त्री साउदले मन्त्रिपरिषद् बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय नै भइसकेको पनि स्मरण गराए। ‘क्याबिनेटबाट निर्णय गरेर सुदूरपश्चिममा विश्वविद्यालय खोल्ने र यसका लागि विधेयक संसद्मा पठाउने निर्णय भइसकेको छ,’ जोशीले मन्त्री साउदको भनाइ उद्धृत गर्दै भने, ‘प्रधानमन्त्री निवासमा स्वास्थ्य सचिव बोलाएर विश्वविद्यालय बनाउने विषयमा छलफल गरेरै क्याबिनेटले विश्वविद्यालय बनाउने निर्णय गरेको हो।’
भेटमा सहभागी पूर्व क्षेत्रीय सभापति दलबहादुर बोहराले पनि मन्त्री साउदले गेटामा प्रतिष्ठान नभई विश्वविद्यालय नै बनाउन सरकार प्रतिवद्ध रहेको जवाफ दिएको बताए। ‘गेटामा विश्वविद्यालय स्थापना गर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको समाचार पढेका थियौं। पछि प्रतिष्ठान बनाउने भन्ने कुरा आयो,’ उनले भने, ‘यसबारे मन्त्रीज्यूसँग छलफल भयो। उहाँले प्रतिष्ठान होइन, विश्वविद्यालय नै बन्ने कुरा गर्नुभयो। यसमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो।’
गत माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट गेटामै आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबारे स्थानीयलाई जानकारी दिएका थिए।
गेटामा देशकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक निर्णय गरिसकेको उनको भनाइ थियो। मन्त्रीहरु, मुख्यसचिवसहित सहभागी रहेको प्रधानमन्त्रीको टोलीले फागुन १ गते गेटा मेडिकल कलेजका लागि निर्माण भएका भौतिक पूर्वाधारहरुको अवलोकन तथा निरीक्षण गरेको थियो।
‘हिजोकै क्याबिनेट बैठकबाट शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सैद्धान्तिक निर्णय भएको छ,’ प्रधानमन्त्रीले भनेका थिए, ‘अब मेडिकल कलेज चलाउने काम पनि तीब्र गतिमा अगाडि जान्छ र विश्वविद्यालय स्थापना प्रक्रिया पनि अघि बढिसकेको छ। अब मेडिकल कलेज मात्रै होइन, देशकै निम्ति गौरबको राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय यहाँ गेटामै बन्दैछ।’
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विश्वविद्यालय बनाउने उल्लेख गरिए पनि अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यका क्रममा एक सय शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन बजेट विनियोजन गरिएको बताएपछि सुदूरपश्चिमका बासिन्दा आन्दोलनमा उत्रिएका छन्। उनीहरुले आइतबार सुदूरपश्चिम बन्दको आयोजना गरिसकेका छन्।
यसैबीच अर्थमन्त्री महतले बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा सोमबार प्रतिनिधिसभा बैठकमा सुदूरपश्चिमका बासिन्दामा देखिएको अन्योलबारे सरकारी धारणा प्रष्ट्याउने तयारी गरेका छन्।
‘क्याविनेटले निर्णय गरिसकेको र नीति तथा कार्यक्रममा विश्वविद्यालय बनाउने भनेर आएको विषय बजेटमा प्रतिष्ठान गठन गर्ने ढंगले आयो,’ नेपाली कांग्रेसका तर्फबाट सुदूरपश्चिमबाट विजयी एक प्रतिनिधिसभा सदस्यले भने, ‘गेटामा प्रतिष्ठान नभई विश्वविद्यालय हो भनेर आज (सोमबार) अर्थमनत्रीज्यूले सम्बोधन गर्नुहुन्छ।’
आजको बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. महतले दिने कार्यसूची रहेको छ।