NadaNada
शनिबार, भदौ ७, २०८२

यस वर्षको मनसुनः साढे १२ लाख मानिस प्रभावित हुने प्रक्षेपण

प्राधिकरणबाट विभिन्न वैज्ञानिक विश्लेषणका आधारमा गरिएको अध्ययनमा कुल २ लाख ८६ हजार ९९८ घरधुरीका १२ लाख ५० हजार मानिस प्रभावित हुने आकलन गरिएको हो।
 |  सोमबार, जेठ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

vianetvianet

काठमाडौं– गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनबाट साढे १२ लाख  नागरिक प्रभावित हुने प्रक्षेपण गरेको छ।

प्राधिकरणबाट विभिन्न वैज्ञानिक विश्लेषणका आधारमा गरिएको अध्ययनमा कुल २ लाख ८६ हजार ९९८ घरधुरीका १२ लाख ५० हजार मानिस प्रभावित हुने आकलन गरिएको हो।

सबैभन्दा बढी मधेस प्रदेशमा चार लाख र कोसी प्रदेशमा तीन लाख मानिस प्रभावित हुने अनुमान गरिएको जनाइएको छ। प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा दुई लाख, बागमती प्रदेशमा १ लाख, सुदूरपश्चिम प्रदेशमा १ लाख ४७ हजार, गण्डकी प्रदेशमा ६९ हजार र कर्णाली प्रदेशमा ३५ हजार मानिस विपद्बाट प्रभावित हुने आकलन गरिएको हो।

गत वर्ष २० लाखि मानिस प्रभावित हुने आकलन गरिएको थियो। मनसुन भित्रिन केही दिन मात्रै बाँकी रहेकाले पूर्वतयारी तथा प्रतिकार्यका काम तीव्र रुपमा अघि बढिरहेका छन्। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनको काम चुस्तरुपमा अघि बढाउन यसअघि नै निर्देशन दिइसकेका छन्।

सोही आधारमा आवश्यक पूर्वतयारी समन्वययात्मक काम तथा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण भएको पनि प्राधिकरणले जनाएको छ। आइतबार बसेको १८औँ बैठकले उक्त कार्ययोजना स्वीकृतसमेत गरेको छ।

Metro Mart

कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रसलगायत गैरसरकारी संस्थाको जिम्मेवारीका साथै खोज, उद्धार तथा राहत सामग्रीको मौज्दातीको विवरण समेटिएको छ।

त्यसैगरी भण्डारण गरिएका आपत्कालीन उपकरण र सामग्रीको जानकारी उपलब्ध हुने स्रोत व्यवस्थापन प्रणाली’ गोदाम र खोज तथा उद्धारमा संलग्न हुने स्वयंसेवकको विवरण उपलब्ध हुने स्वयंसेवक व्यवस्थापन प्रणालीबारे कार्यविभाजन पनि गरिएको छ।

पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्धार सवारी तथा ’ए क्लास’ एम्बुलेन्स खरिद गरी सात वटै प्रदेश र काठमाडौँ उपत्यकामा एक–एक वटा रहने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ। स्वयंसेवक प्रणालीमा हालसम्म १ लाख ४२२ जना सूचीकृत भइसकेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुनमा देशैभरि कम पानी पर्ने प्रक्षेपण गरिसकेको छ। सरदरभन्दा कम पानी पर्ने भएकाले अधिकतम तापक्रम विगतको भन्दा बढी हुने अनुमान पनि गरिएको छ।

सामान्यतया जेठ अन्तिम साताबाट मनसुन नेपाल प्रवेश गर्दछ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट मनसुन प्रवेश गर्ने सम्भावना रहेको बताए। नेपालमा मनुसन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ।

उनले औषतभन्दा कम पानी पर्ने भन्ने कुरालाई पानी नै पर्दैन, विपद् नै आउँदैन भन्ने अर्थमा नबुझ्न अनुरोध गरे। औसतभन्दा कम पर्ने भएकाले विपद्जन्य घटना भने निम्तिनसक्ने हुँदा तयारीका कामलाई तीव्रताका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ।

नेपालमा बाढी–पहिरो र भारी वर्षा प्रमुख मनसुनजन्य विपद् हुन्। शीतलहर खडेरीले पनि प्रभाव पार्ने गरेकोमा यसपटक भने प्रतिमनसुनका समयमा तातो हावाको लहरले जनजीवन प्रभावित बनाएको छ। यो क्रम अहले पनि तराईका जिल्लामा कायमै छ।

मौसमविद् शान्ति कँडेलले यसपालि इलाम, धरान, नवलपुर, ओखलढुंगालगायतका क्षेत्रमा अधिकतम तापक्रमले रेकर्ड कायम गरेको छ। यसपालि केही दिनमा मनसुसन भित्रिएर केही पानी पर्ने भए पनि पुनः तातो हावाको लहर बढ्ने भएकाले सचेत हुनुपर्ने उनले बताए। गृह मन्त्रालयले तातो हावाको लहरबाट मानिसलााई जोगाउने आवश्यक पर्ने उपायका विषयमा ठोस प्रस्ताव ल्याउन निर्देश गरिसकेको छ।

प्रकाशित: Jun 12, 2023| 11:06 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्