NadaNada
शनिबार, भदौ ७, २०८२

भारतीय चाहनामा प्रचण्ड क्याबिनेटको धार्मिक प्र(दर्शन) 

प्रधानमन्त्री प्रचण्डले ‍नै भारतीय चाहनामा आफू महाकालेश्‍वर दर्शन गर्न पुगेको र त्यहाँ गेरुवस्त्र धारणा गर्दिनँ भन्‍नुको अर्थ नभएको बताएका छन्।
 |  आइतबार, जेठ २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २८, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पशुपतिनाथ मन्दिरमा 'पूजा अर्चना' गरेपछि फेरि राजनीतिक वृत्त तरंगित भएको छ भने सामाजिक सञ्‍जालहरुमा विभिन्‍न टिप्पणीहरु भइरहेका छन्। कुनै राजनीतिक दलको नेता मन्दिर जाने तथा पूजा गर्ने विषय सामान्य भए पनि क्याबिनेटका आधा दर्जन मन्त्री नै बोकेर योजनाबद्धरुपमा पूजा गर्न गएको देखिएपछि भने विभिन्‍न कोणबाट टिकाटिप्पणीहरु भइरहेका छन्।

महाकालेश्‍वरदेखि पशुपतिसम्मको धार्मिक प्र(दर्शन)का केवल प्रधानमन्त्री प्रचण्ड मात्र नभएर अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत सहभागी थिए। उनीहरलाई महाकालेश्‍वरमा जाँदा मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गरेका थिए भने पशुपतिमा उनकै क्याबिनेटमा संस्कृति मन्त्री सुदन किराँतीले स्वागत गरेका हुन्।

'धर्मलाई अफिन भन्‍ने' कम्युनिस्टहरुका सिद्धान्त घोक्दै नेपालमा पनि द्वन्द्वकालमा धर्म-संस्कृतिमाथि प्रहार गरी राजनीतिको भर्‍याङ उक्लिए प्रधानमन्त्री प्रचण्डको पछिल्ला मन्दिर धाउने गतिविधि भगवानको 'दर्शन भन्दा पनि 'प्रदर्शन' जस्तो देखिन थालेका छन्। मुलुको तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलो पटक पशुपति पुगेर पूजा‍आजामा सरिक भएका हुने भने उनले बेलुकाको आरती पनि अवलोकन गरेका छन्। 

यसअघि आफ्नो चार दिने भारत भ्रमणका क्रममा मध्यप्रदेशको उज्जैनमा रहेको महाकालेश्‍वर मन्दिर पुगेर 'विशेष पूजा' गरेका थिए। उनले त्यहाँको पोर्टकल भएको भन्दै गेरुवस्त्र धारण गरी विशेष पूजा गरेका हुन्। उक्त पूजा पनि प्रचण्ड क्याबिनेटका आधा दर्जन मन्त्रीहरु सहभागी भएका थिए। नेपाल फर्किएलगत्तै सुदूरपश्चिमको खप्तडमा आयोजित पहिलो खप्तड आध्यात्मिक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न पुगेका थिए। त्यहाँ बाबा रामदेव पनि सहभागी भएका थिए। 

रामदेवलाई क्रान्तिकारी घोषणा गरेका प्रचण्ड आफू पनि आध्यात्मिक बन्दै गएका छन्। यसलाई कयौंले प्रचण्डको वैचारिक विचलन भएको टिप्पणी गरेका छन्। वाम विश्लेषक आहुतीले प्रचण्ड 'वैचारिक प्रतिगमनतिर लागेको' टिप्पणी गरेका छन्। 

Metro Mart

Prachanda-in-pashupatinath-2311686487927.jpg

 

त्यसैगरी द्वन्द्वकालमा प्रचण्डकै सहकर्मी रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि प्रचण्डको धार्मिक दर्शनभन्दा पनि प्रदर्शन भएको संकेत गरेका छन्। उनले प्रचण्डको धर्मको राजनीति सुरु गर्न खोजेको हुनसक्ने आशंका गर्दै प्रश्‍न उठेको बताएका छन्। उनले भनेका छन्, 'कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन; त्यो उसको निजी आस्थाको कुरा हो, तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृङ्खलामा धार्मिक स्थल जान्छ, त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ।'

यसरी आलोचना हुँदा पनि प्रधानमन्त्री प्रचण्डले भने यसबारे कुनै स्पष्टिकरण दिन आवश्यक ठानेका छैनन्। उल्टै उनले भारतीय चाहनामा आफू महाकालेश्‍वर दर्शन गर्न पुगेको र त्यहाँ गेरुवस्त्र धारणा गर्दिनँ भन्‍नुको अर्थ नभएको भन्दै बचाउ गरेका छन्। यसअघि आफ्नो भारत भ्रमणबारे संसद्‌मा जानकारी गराउने क्रममा भनेका थिए, 'उज्जैन जस्तो धार्मिक स्थलमा गइदिए हुन्थ्यो भन्ने भारतको चाहना पनि थियो। मलाई पनि महाकालेश्वर जाउँ जाउँ भन्‍ने लागेको थियो। महाकालेश्वर साँच्चिकै ठुलो धार्मिक स्थल रहेछ। एकै दिनमा एक डेढ लाख पर्यटक जाने ठाउँ रहेछ।'

उनले आफ्ना निजी सुरक्षाकर्मी एडीसीले दौरा सुरुवालमै मन्दिर भित्र जाने की भनेर प्रस्ताव गरेको भए पनि सन् २०२२ देखि गेरु वस्त्रलाई प्रोटोकल लागु गरिएको उल्लेख गर्दै भने, 'त्यसैले म गेरु वस्त्र लाउँदिन भन्न पनि मिलेन। लगाएको हो।'

भारतीय चाहनामा मन्दिर गएको स्वीकार गरेका प्रचण्ड शनिबार साँझ पशुपति दर्शन गरेपछि भने हिन्दुवादी एजेण्डालाई बोक्‍न खोजेको र हिन्दु मतहरु तान्‍ने प्रयास गरेको पनि विश्लेषणहरु भइरहेका छन्। चरम भौतिकवादीका रूपमा चिनिएका प्रचण्डको धार्मिक प्रदर्शन गरेर निर्वाचनमा आफ्नो जनमत कायम राख्‍ने खोजेको विश्लेषण पनि भइरहेको छ। राजनीतिक विश्लेषक हरि रोकाले लेखेका छन्, 'उज्जैनको महाकालेश्वरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिमण्डलका सदस्यसहित ‘आफ्नै पशुपतिनाथ’ पुगेछन्। गजब भएछ, विचरा ज्ञानेन्द्र, कमल थापा, ओली, लिङदेन-मिश्रको मिसन हिन्दूत्व हाइज्याक, ठोरीका राम ठण्डा, नवअगन्तुक धार्मिक कमरेडहरूको तुरुप विचरा पुरातन शासकले के बुझुन्?'

प्रधानमन्त्री प्रचण्डको यो धार्मिक प्र(दर्शन) भारतीय चाहनामा भएको नागरिक उडड्यन, संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीले पनि स्वीकार गरेका छन्। प्राइम टाइम्स टेलिभिनको जनता जान्‍न चाहन्छन् कार्यक्रमका प्रस्तोता ऋषि धमलासँगको कुराकानीमा मन्त्री किराँतीले भारतीय चाहनामा भएको स्वीकार गरेका हुन्। उनले भनेका छन्, 'अस्ती भारत भ्रमणका क्रममा महाकालेश्‍वरमा दर्शन भयो। त्यो सरकारको आग्रह भएपछि त्यो गर्नुपर्ने पर्थ्यो।'

prachanda651685710495.jpg

उनले महाकालेश्‍वरबाट ल्याएको जल पशुपतिमा चढाउन प्रधानमन्त्री पशुपति गएको र सबै धर्मप्रतिको सम्मान भाव प्रकट गरेको भन्दै उनले बचाउ पनि गरेका छन्। तर, महाकालेश्‍वर दर्शनपछि कम्युनिस्ट नेता गोकुल बाँस्कोटाले भनै 'प्रभुको इच्छा' मा प्रधानमन्त्री प्रचण्ड गेरुवस्त्र धारण गर्न बाध्य भएको टिप्पणी गरेका छन्। उनले लेखेका छन्,'वाह! क्या चेन्ज आएछ। हिजो रातै रातो, आज गेरू रंग। सिद्धान्तको रंग खैरो जीवनको रंग हरियो भन्थे मदनले। प्रभुको इच्छा वा पूर्वीय जीवनदर्शन र सांस्कृतिक मान्यताको बोध? समयले थप बताउला।'

विगतमा धर्मविरुद्ध आक्रमण नै गरेका प्रचण्डको यु-टर्न देखेर हिन्दुवादी एजेण्डा बोक्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरु भने सशंकित भएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दु राष्ट्रको मुद्दालाई अन्तर हृदयबाट नै स्वीकार गरेको भए स्वागतयोग्य भए पनि तर, नक्कली बनेर देखाउनका लागि मात्रै हो भने दुर्भाग्य भएको बताएका छन्। 

उनले भनेका छन्, 'हामी अत्यन्त खुसी हुन्छौँ, देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दु राष्ट्रको मुद्दालाई स्वीकार गर्नुभयो। त्यो भन्दा खुसी के हुन्छ र? तर नक्कली बनेर यो देखाउनका लागि मात्रै गरिएको हो भने कसैलाई चित्त बुझाउनका लागि भयो भने दुर्भाग्यको कुरा हो। यो अन्तर हृदयबाट जागृत हुन्छ, कसैको दबाब, प्रभावबाट हुने होइन।'

लिङ्देनले प्रधानमन्त्री दाहालले पशुपतिनाथको दर्शन गर्नुको रहस्य राप्रपाले हिन्दु राष्ट्र बनाउनका लागि ल्याएको प्रस्तावबाट पत्ता लाग्ने पनि बताएका छन्। लिङ्देनले भने, 'अब उपयुक्त समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको प्रस्ताव ल्याउँछ, त्यसबेला प्रधानमन्त्रीको अग्निपरीक्षा हुन्छ।' अध्यक्ष लिङदेनले आफूले धर्मको राजनीति नगरेको पनि स्पष्ट पार्दै हिन्दु राष्ट्र देशको लागि आवश्यक कुरा भएको बताएका छन्। 

 

प्रकाशित: Jun 11, 2023| 18:30 आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्