NadaNada
शनिबार, भदौ ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्री प्रचण्ड र पूर्वमाओवादी नेता बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता

प्रधानमन्त्री प्रचण्ड र पूर्वमाओवादी नेता बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता

 |  आइतबार, जेठ २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २८, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वमाओवादी नेता बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। माओवादीका पूर्व बालसेनाले रिट दर्ता गराएका हुन्।

दशक लामो माओवादी सशस्त्र द्वन्द्वकालका बालसेनाको योगदानको अवमूल्यन गरेको भन्दै पूर्व बालसेनाहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। पूर्व बालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाल, परमेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागरकुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राईले रिटमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री तथ पूर्व माओवादी नेता बाबुराम भट्टराईसहित गृह मन्त्रालय, रक्षा मन्त्रालय लगायतलाई विपक्षी बनाएका छन्।

यसअघि सर्वोच्च अदालत प्रशासनले यो रिट दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसविरुद्ध पूर्व बालसेनाहरूले इजलासमा निवेदन दिएका थिए। सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले रिट दरपीठ गर्ने निर्णय खारेज गरेपछि रिट दर्ता भएको हो। रिटको पेशी ३० जेठलाई तोकिएको छ।

माओवादीले सञ्चालन गरेको जनयुद्धमा बालसेनाको प्रयोग भएको र उनीहरुलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने नत्र माओवादी र उक्त दलका अध्यक्ष प्रचण्डले जिम्मेवारी लिनुपर्ने दाबी रिटमा गरिएको छ।

रिट दायरकर्ताले प्रचण्डलाई प्रधानमन्त्रीबाट निलम्बन गर्न समेत माग गरेका छन्। 'अबोध बालकलाई बन्दुक बोकाउनु, जासुसी गर्न लगाउनु, फ्रन्टलाइनमा पठाउनु, युद्धको सरसामान ढुवानी गर्न लगाउनु र हरहिसाबले जीउज्यानको खतराको सामु राख्नु अन्तर्राष्ट्रिय कानुन अनुसारको युद्ध अपराध हो,' निवेदनमा भनिएको छ। संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले नै आफूहरूलाई उमेर नपुगेका कारण माओवादी लडाकुमा प्रमाणित नगरेको दृष्टान्त दिँदै उनीहरूले माओवादीले बाल योद्धा प्रयोग गरेको कुरा संयुक्त राष्ट्रसंघले प्रमाणित गरेको दाबी गरेका छन्।

Metro Mart

माओवादी सशस्त्र द्वन्द्वकलाको विषयलाई लिएर प्रचण्डविरुद्ध अरू मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छन्। यसअघि गत फागुनमा प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिएका दुईवटा छुट्टाछुट्टै रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएका थिए।

प्रकाशित: Jun 11, 2023| 14:06 आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्